अझै किन हटेनन् ईयूको कालोसूचीबाट नेपालका वायुसेवा कम्पनी ?


आर्थिकन्यूज

काठमाडौं, मंसिर १७ । सरकारले हवाई सुरक्षाका मापदण्ड अपनाउन र कार्यान्वनयन गर्न करोडौं रकम खर्चिए पनि युरोपियन युनियन (ईयू)ले यस वर्ष पनि नेपालका वायुसेवा कम्पनीमाथि लगाएको कालोसूची कायमै राखेको छ ।

ईयूले नेपालका वायु सेवा कम्पनीलाई लगाएको कालोसूचीको ट्याग नहटाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध हटाउन गरेको प्रयास खेर गएको छ । प्राधिकरणले यस वर्ष जसरी पनि ईयूको कालोसूचीबाट हट्ने दाबी गरेको थियो ।

शुक्रबार ईयूले निकालेको कालोसूचीमा नेपाल वायुसेवा निगमसहित नेपालका सबै वायुसेवा प्रदायक कम्पनी परेका छन् । जसका कारण अझै नेपाली वायुसेवाले युरोपियन युनियनमा आबद्ध २८ मुलुकका आकाशमा प्रवेश पाउँदैनन् । नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति पत्र (एओसी) जारी गरेका सबै नेपाली विमान कम्पनीलाई ईयूले कालोसूचीमा राखेको हो ।

नेपालमा हवाई सुरक्षाको अवस्था अझै पाँच वर्षअघिकै अवस्थामा रहेको निष्कर्ष सहित ईयूले नेपाललाई कालोसूचीबाट नहटाएको हो । यसमा कुनै सुधार नभएको ईयूले जानकारी गराएको छ । नेपालमा एओसी वितरण सही तरिकाले नहुने ईयूको बुझाइ छ ।

हवाई क्षेत्रमा भएको कमजोर भौतिक संरचना र फितलो कानुनका कारण यस वर्ष पनि ईयूको कालोसूचीमा परेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए ।

ईयूले प्रतिबद्धताअनुसार नेपालमै आएर हवाई सुरक्षा अवस्थाको मूल्यांकन नगर्दा यो अवस्था दोहोरिएको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)बाट भने नेपाल २०७४ सालको ६ साउनमा कालोसूचीबाट हटेकाले त्यसको प्रमाणपत्र पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बुझिसकेका छन् ।

आईकाओको एसएससीकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । आईकाओले कालोसूचीबाट हटाए पनि ईयूले भने नेपालका वायुसेवा कम्पनीलाई कालोसूचीबाट हटाएको छैन ।

कालोसूचीबाट हट्ने दाबीविपरीत नतिजा आएपछि प्राधिकरणले ईयूलाई आफू सन्तुष्ट नभएको भन्दै केही दिनमै डकुमेन्ट पठाउने भएको छ । यसपछि आगामी मार्चमा आउने अर्को सूचीमा नेपाल कालोसूचीबाट हट्न सक्ने दाबी प्राधिकरणको छ । अहिले प्राधिकरण आफैंले सेवा दिने र नियमन पनि गर्दै आएको छ ।

यसैगरी विभिन्न विमानस्थलको निर्माण प्रक्रिया अघि बढाए पनि अझै प्रभावकारी ढंगले अघि बढ्न नसकेको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया