नेपाल–बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक बस्दै


आर्थिकन्यूज

काठमाडौँ, मंसिर १७ । नेपाल–बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आजदेखि काठमाडौंमा शुरु हुँदै छ ।

बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक बस्न लागेको हो । मंगलबारसम्म चल्ने बैठकमा सहभागी हुन बंगलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइपुगेका छन् ।

नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्ने छन् । सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक तय भएको छ । उक्त बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बंगलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्नेछन् ।

बैठकमा अन्तरदेशीय प्रसारण लाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारका बारेमा दुवैपक्षबीच छलफल हुनेछ । नवीकरणीय ऊर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युत्मा बंगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरबाट ५०० मेगावाट बिजुली बंगलादेशले खरीद गर्नेबारे बैैठकमा छलफल हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया