झन अन्यौलग्रस्त बन्दै सार्क संगठन


एकराज पाठक 

काठमाडौ,  मङ्सिर १५ । तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक बृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर पुष्टि हुने देखिएको छ ।

त्यसताकाको चर्चा हो, भारतले पाकिस्तानलाई उपेक्षा गरेर विमस्टेक संगठन बलियो बनाउन सक्छ, यसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व नै खतरामा पर्न सक्छ । आखिर भारत र पाकिस्तानको यो पछिल्लो सन्देशले त्यो सम्भावनालाई सत्यतर्फ धकेल्ने देखिएको छ । पाकिस्तानको पछिल्लो अनुरोधलाई भारतले पुनःअस्वीकार गरेपछि यस्तो अवस्था देखिन थालेको हो ।

यसरी दुई वर्षयतादेखि अन्यौल रही आएको सार्कको १९औँ शखिर सम्मेलन झनै अनिश्चित बन्दै गएको छ । सन् २०१६ को नोभेम्बर १५–१६ मा आयोजना गर्ने गरी सार्कको १९औँ शिखर सम्मेलनको मिति तय भएको थियो । तर लगभग सबै तयारी पूरा भएको जानकारी आयोजक राष्ट्र पाकिस्तानले गराएको केही दिनमै भारतले आफू नजाने बतायो र सम्मेलन स्थगनको अर्काे सूचना आयो । त्यसपछि भने सम्मेलनको वातावरण अभैm बन्न सकेको छैन ।

यसका लागि पहल गरिदिन आयोजक राष्ट्र पाकिस्तानले अध्यक्ष देश नेपाललगायत अन्य सदस्य मुलुकसँग आग्रह गर्दै आएको छ । तर यसको निकासकोे बाटो कतैबाट निस्किएको छैन । आपसी अविश्वास हुँदाहुँदै पनि एकै मञ्चमा जम्मा हुनुपर्ने बाध्यतामा रहेका दक्षिण एसियाका दुई ठूला राष्ट्र भारत र पाकिस्तानका कारण नै सार्कमा बढी समस्या उत्पन्न हुने गरेको छ ।

सन् २०१४ को नोभेम्बर महिनामा नेपालमा सम्पन्न अठारौँ शिखर सम्मेलनले सार्कको बडापत्रमा संशोधन गरी यसको शिखर सम्मेलन प्रत्येक दुई वर्ष र आवश्यकता परेमा त्यो भन्दा चाँडो आयोजना गर्न सकिने प्रावधान राखेको छ । तर सदस्य राष्ट्रहरूकै विवादका कारण शिखर बैठक नै समयमा सम्पन्न हुनसकेको छैन । अठारौँ सम्मेलने संशोधन गर्नु अघि त सार्क सम्मेलन अझ हरेक वर्ष गर्ने प्रावधान थियो । यसरी हेर्दा यो संगठनको शिखर बैठक कम्तीमा पनि ३० ओटासम्म हुनुपर्ने हो । अठारौँपछि अन्योलमा छ ।

गत बुधबार भारतीय राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानले आयोजना गर्ने सम्मेलनमा भारत सहभागी नहुने औपचारिक जानकारी गराउनुभएको छ । उहाँले पाकिस्तानको विदेश मन्त्रालयले आगामी १९औँ शिखर सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पठाएको जानकारी दिँदै तर सो सम्मेलनमा भारत नजाने निर्णय गरिसकेको बताउनुभयो । कुनै एक सदस्य राष्ट्र«मात्र सहभागी नहुँदा सार्कको सम्मेलन हुदैन । सार्कको १९औँ शिखर सम्मेलनको आयोजक राष्ट्र« पाकिस्तान हो । त्यसैले भारत अनुपस्थित हुने अडानमा छ ।

सार्कलाई छोडेर भारतले विमस्टेकको सम्मेलन हतार हतार आयोजना गर्न लगाउनुसँग के सम्बन्ध छ भन्ने अनुमान कूटनीतिक बृत्तले सहजै गरेको थियो । अहिले सार्क सम्मेलनको आमन्त्रण पुनः भारतले अस्वीकार गरेबाट सार्क पछि धकेलिएको त छँदै नै छ र यसका कारण आगामी दिनमा पाकिस्तान सदस्य नरहेको विमस्टेकलाई सार्कको वैकल्पिक संगठनका रुपमा विकास गर्न सकिने सम्भावना बारे पनि त्यति नै चर्चा गर्ने गरिएको छ । अहिले २०औँ सम्मेलन पनि सकिइसक्ने बेलामा चार वर्ष अघि नै तय भएर दुई वर्षअघि सम्पन्न भइसक्नुपर्ने १९औँ सम्मेलन अनिश्चित बन्दै गएपछि यसले सार्कको सम्मेलन मात्र होइन कि संगठनकै अस्तित्वमाथि नै प्रश्न उठाइदिएको छ ।

सार्क यतिखेर आफ्नो स्थापनाको ३४औँ वार्षिकोत्सवको तयारीमा छ । आगामी हप्ता यसको वार्षिकोत्सव मनाइँदै छ । यसरी हेर्दा त बडापत्रअनुसार सरासर भइदिएको भए सार्कका ३० भन्दा बढी शिखर बैठक भइसक्नुपर्दथ्यो । तर अहिलेसम्म १८ मात्र भए । चार वर्षअघि नेपालमा सम्पन्न पछिल्लो अर्थात १८औँ शिखर सम्मेलनपछि यसको भविष्यसमेत अन्योलमा परेको छ । यसको काम र अरू प्रभावकारिताको त कुरै भएन ।

दक्षिण एसियाली क्षेत्रबाट अभाव, अशिक्षा एवम् गरिबी हटाई यस क्षेत्रका नागरिकमा सामूहिक आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले सन् १९८५ को डिसेम्बर ८ मा सार्कको स्थापना भएको हो । यस क्षेत्रका सात राष्ट्र नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र मालदिभ्स संस्थापक रहेको यस संगठनमा पछि यसै क्षेत्रको अर्को देश अफगानिस्तान पनि सदस्य बनेको छ ।

दक्षिण एसियाली नागरिकको आशाको केन्द्रका रूपमा स्थापित यस संगठनले लिएको उद्देश्य र अपेक्षा तीन दशकको उमेर पुगिसक्दा कति पूरा गर्न सक्यो भन्ने विषय महत्वपूर्ण हो । तर पनि यसले लिएको कार्यदिशा र नेतृत्वको कार्यकुशलताको अभावका कारण आज यसको उपलब्धिको चर्चा गर्नुको सट्टा यसले बैठक नै गर्न नसकेको बारेमा चर्चा गर्नुपर्ने अवस्था छ । यस्तै अविश्वासकै बीच यसले तीन दशकको फन्को भने लगाइसकेको छ ।

क्षेत्रीय तथा सहयोग संगठनको विश्वव्यापी संस्कार र उपलब्धिका तुलनामा यसको प्रभावकारिता खासै छैन । त्यसैले सार्कलाई पहिले एउटा कान्छो र आर्थिक, सामाजिक एवम् धेरै कुरामा पछि परेको दक्षिण एसियाली क्षेत्रको संगठनका रूपमा लिने गरिन्थ्यो । तीस वर्षको अवधिमा यसले एकाध सामाजिक आर्थिक क्षेत्रका काम भने गरेको छ । सार्कले यस क्षेत्रमा शिक्षा, गरिबी निवारण, स्वास्थ्य, वातावरण, सञ्चार, महिला सशक्तिकरण बाल विकासलगायतका धेरै क्षेत्रमा काम गरेको छ । तर यसको अधिकांश उमेर यस्तै विवादबाटै गुज्रिन पुगेकोले पनि आफ्नो साथसाथै समग्र दक्षिण एसियाली क्षेत्रकै प्रगति गर्न नसकेको हो ।

सार्क दक्षिण एसियाली क्षेत्रको सामूहिक संगठनका साथै यस क्षेत्रका देशलाई विश्वमञ्चमा उपस्थित गराउनका लागि एक साझा मञ्च हुनसक्छ । यस संगठनमार्फत दक्षिण एसियाका राष्ट्रहरूले सहकार्य र पारस्परिक सहयोगको एउटा राम्रो अभ्यास गर्न सक्दछन् । दक्षिण एसियाका नागरिकका बीचमा जनसम्पर्क स्थापित गर्नका लागि यो भन्दा प्रभावकारी अर्काे मञ्च अहिलेसम्म छैन । त्यस्तै जनता जनताबीचको सम्पर्कको दृष्टिकोणले हेर्ने हो भने त यसलाई विमस्टेकसँग तुलना गर्न पनि मिल्दैन ।

यस संगठनका दुई ठूला देश भारत पाकिस्तानबीचको तिक्तताकै कारण १९औं अन्यौलमा परेको हो । भारतको एक सैनिक शिविरमा भएको आतंककारी हमलामा भारतले पाकिस्तानको संलग्नताको आरोप लगाउँदै सम्मेलनमा नजाने भन्यो । भारतको यो निर्णयलाई बंगलादेश, श्रीलंका र अफगानिस्तानले पनि पछ्याए । यसरी पाकिस्तानलाई आफूहरु सम्मेलनमा उपस्थित हुन नसक्ने जानकारी दिएपछि सम्मेलन स्थागित भएको थियो ।

यस क्षेत्रको साझा समस्या गरिबी, अशिक्षा र सामाजिक पछौटेपन हुन् । यिनै समस्यालाई सामूहिकरूपमा मिलेर हटाउने उद्देश्य राखेर सार्क जन्मिएको हो । अहिले पनि दक्षिण एसियाली भूगोल अफ्रिकापछि धेरै गरिब बस्ने क्षेत्रमा पर्छ । यसको आफ्नै स्रोत छैन । सार्कले आफ्नै सांगठनिक खर्च धान्नलाई पनि वैदेशिक सहयोगको मुख ताक्नुपर्ने स्थिति छ ।

उता संगठनका सदस्य राष्ट्र«बीचका आन्तरिक विवाद शिखर बैठकमै उपस्थित नहुनेसम्मका छन् । यस्तो अवस्थामा सामुहिकता र सहकार्यको मान्यता राखेर चल्नुपर्ने संस्था कसरी अघि बढ्न सक्ला ? यही कारणले सार्कको अस्तित्व झनभन्दा झन अनिश्चित बन्दै गएको हो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया