वायुसेवा निगमको २० दिनपछि एउटा जहाज उड्यो फेरि अर्को थन्कियो, कुटनीतिक पहल नहुँदा आधा क्षमतामै उड्छ वाइडबडी


आर्थिकन्यूज

काठमाडौं, मंसिर १५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एउटा ए३३० वाइडबडी ९ एनएकेवाई कलाईनको अन्नपूर्ण नामक जहाज २० दिन थन्किएर नियमित उडान सुरु गर्न थालेकै दिनदेखि फेरि अर्को जहाज थन्किएको छ ।

निगमले बल्लबल्ल बाइडबडीलाई उडान सुरु गरेकै दिन बिहीबार बेलुका अर्को ए३२० न्यारेवडी ९ एन एकेडब्लु सगरमाथा नामक जहाजमा चरा ठोक्किएर ग्राउन्डेड भएको छ ।

नेपाल वायुसेवा निगमका अनुसार बिहीबार बेलुका बैंग्लोरबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा चरा ठोक्किएको हो । चरा ठोक्किएर निगमको उक्त जहाजको इन्जिनको बाहिरी भागमा भएको क्षतीले जहाजको पखेटोमुनिको फ्यापमा असर परेको छ ।

अब यो जहाज मर्मत गर्न जहाज निर्माता कम्पनी एयरवसलाई नै गुहार्नुपर्छ । एयरबसले दिने अनुमति र आवश्यक पाटपूर्जा ल्याएपछि मात्रै जहाजले उडान गर्न सक्छ । यो जहाज मर्मत गर्न एक साता लाग्ने भएकोेले पनि निगमको जहाज एउटा उड्ने र अर्को थन्किने हुन थालेको हो ।

निगमको एउटा वाइडबडी गत कात्तिक २२ गतेदेखि ल्याण्डिङ गियरमा समस्या आएका कारण ग्राउन्डेड भएको थियो । उक्त जहाजले २० दिनपछि उडान गर्न थालेको छ । यो जहाजले शुक्रबार बुलेकाबाट नियमति उडान गर्न थालेको पनि निगमले जानकारी दिएको छ ।

निगमको एउटा वाइडवडी जहाज थन्किदा २० दिनसम्म निगमको उडान तालिका अस्तव्यस्त भएको थियो । फेरि अर्को जहाज थन्किदा नियमलाइ उडान तालिका मिलाउन र नियमित उडानको सूची तयार गर्न समस्या हुने गरेको छ ।

निगमका अनुसार एउटा भएकै जहाज पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने लामो दूरीको उडानमा जान नापाएको कारण नौवटा साना (आन्तरिक उडानका) र पाँचवटा ठूला (अन्तर्राष्ट्रिय उडानका) जहाज हुँदा पनि निगम मागिक ३१ करोड ७७ लाख रुपैयाँ घाटामा छ ।

निगमले लिएको ऋण मात्रै ३७ अर्ब ५८ करोड पुगेको र यसको चर्को व्याज छ । तर जहाज उडाएर नाफा कमाउन नसकेको र निगमलाई तरलता अभाव भएकोले पनि निगम समस्यामा परिरहेको छ । निगमले लिएको ३७ अर्ब रुपैयाँको व्याज मात्रै वार्षिक ब्याज ३ अर्ब ६६ करोड तिर्नुपर्छ । यस्तो व्याज मासिक ब्याज ३० करोड रुपैयाँ हुन्छ ।

मासिक नगद प्रवाहअन्तर्गत निगमको आम्दानी १ अर्ब २२ करोड हाराहारी रहेको छ भने खर्च १ अर्ब ५४ करोड पुगेको छ । यस हिसाबले निगम मासिक ३१ करोड ७७ लाख रुपैयाँ घाटामा चलिरहेको उल्लेख छ ।

दुइटा वाइड बडी विमान खरिद गर्नुअघि निगमको दीर्घकालीन कर्जा १३ अर्ब ५८ करोड थियो । वाइडबडी ल्याइसकेपछि कर्जा ३७ अर्ब ५८ करोड पुगेको छ । निगमले वाइड बडी जहाजलाई व्यावसायिक योजनाअनुसार लामो दूरीमा उड्न नसक्दा औसत दैनिक उपयोग निकै न्यून रहेको छ ।

निगमले जहाज उडाएरै कमाउन सक्ने भएपनि यसले वाइडबीका लागि लामो क्षेत्रको उडान गर्न नपाएको निगमको भनाइ छ । निगमले जापान, कोरिया, चीन, अष्टे«लिया, साउदीअरवसहितका गन्तव्यमा उडान अनुमति मागेको छ । तर, निगमको अनुमतिलाई सम्बन्धित देशले टेरेका छैनन् ।

सरकारले आवश्यक कुटनीतिक प्रयास नगर्दा र सरकारी निकायको गैरजिम्मेवारीका कारण पनि निगमले चाहेर पनि लामो दूरीमा उडान गर्ने र नाफा कमाउन सकेको छैन् ।

निगमले व्यापारिक योजना अनुसार लामो दूरीका क्षेत्र (लङ हव डेस्टिनेशन) कोरिया, जापान, चीन, अस्टेलियासहितका देशका गन्तव्यमा उडान गर्न नपाएका कारण जहाज उडेपनि पूर्ण क्षमतामा यात्रु बोक्न नपाएकोले घाटा भएको उल्लेख छ ।

निगमले सञ्चालनमा ल्याएको ए३३० जहाज आएपछि अगस्टदेखि सेप्टेम्बरसम्ममा साढे २६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो जहाजले यस अवधिमा गरको खर्च ७५ करोड ६६ लाख मात्रै छ । यो अवधिमा निगमको यो जहाजले गरेको घाटा मात्रै ४९ करोड १८ लाख छ ।

निगमसँग भएको जम्मा २७४ सिट क्षमताका २ वटा जहाज भरेर उडान सकिरहेको छैन । निगमले यस अघि बोइङ तथा न्यारोबडीबाट उडान गरिरहेकै दिल्ली, मम्बाइ, बैंङ्लोर, थाइल्यान्ड, हङकङ, क्वालालम्पुर, दुवाई र दोहामा पाँचैवटा जहाज पालैपाले उडाइरहेको छ । यी गन्तवयबाट निगमले। आशातित उपलब्धी पाउन नसकेको छैन भने निगमले खर्च व्यस्थापनसमेत गर्न सकेको छैन् ।

निगमसँग भएका अन्तर्राष्ट्रिय बाहेक आन्तरिक उडानका ९ जहाजमध्ये ६ वटा वर्षोसम्म ग्राउन्डेन हुने, सञ्चलनमा आएका पनि महिना महिनामै थन्किने गरेका कारण पनि आन्तरिक उडानका गन्तव्यमा भने जहाज नउडाउँदा निगम घाटामा गएको छ ।

निगमको अवधारणा अन्तर्राष्ट्रिय उडानबाट कमाउने र आन्तरिकमा सहुलियत उडान गर्ने भएपनि अन्तर्राष्ट्रिय उडान घाटामा जानु र आन्तरिकका विभिन्न २२ वटा गन्तव्य भएपनि उडान ग गर्ने जहाज नै नहुनु नै प्रमुख समस्या रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया