चौधरीलाई सबक सिकाएरै छाड्ने भनेपछि मध्यमोदी जलविद्युत् आयोजनाको काम ठप्प


आर्थिकन्यूज
नेपालका खर्बपति बिनोद चौधरी

काठमाडौं, मंसिर १५ । विनोद चौधरीलाई नेपालमा नचिन्ने मान्छे कमै होलान् । उनको लगानी रहेको हिमाल हाइड्रोले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको साञ्जेनमा समेत गतिलो काम गरेको छैन ।

आयोजनाको काम रोकिएको छ । लागत बढेको छ , समय पनि बढेको छ । जसका कारण रसुवामा निर्माणमा रहेको माथिल्लो साञ्जेन र साञ्जेन जलविद्युत् आयोजनामा समस्या देखिएको छ ।

आयोजनामा काम नगर्ने र केवल भुक्तानीमात्रै लिन खोज्ने प्रवृत्ति चौधरी समूहको हिमाल हाइड्रोले गरेको छ । ठेकेदारको रुपमा रहेको हिमाल हाइड्रोको ज्यादतीलाई रोक्नेतर्फ नेपाल विद्युत् प्राधिकरणले समेत कुनै कदम चालेको छैन ।

अरुलाई दुःख दिँदा आफूले पनि दुःख पाइन्छ भन्ने कुराको राम्रै ज्ञान चौधरी समूहलाई भएको हुनुपर्छ । किनकी पर्वतमा निर्माणाधीन आयोजनामा चौधरी समूहलाई स्थानीयबासीले राम्रै हैरानी दिएका छन् । चौधरी समूहले पर्वतमा निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम ठप्प भएको छ ।

आयोजनामा कार्यरत मजदूरले आन्दोलन गरेपछि बुधबारदेखि निर्माण रोकिएको हो । मजदूर आन्दोलनका कारण सुरुङ, जलविद्युत् गृह, इन्टेकलगायत संरचना निर्माण प्रभावित भएको बताइएको छ ।

आयोजनाको सुरुङमा विष्फोटनका लागि माटाको लोला भर्ने काममा संलग्न मजदूरलाई निष्कासन गरिएपछि विरोधले चर्को रुप लिएको हो । जसका कारण आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदूरले चौधरीलाई सबक सिकाएरै छाड्ने दृढता लिएका छन् ।

मजदूर निष्कासन गरिएपछि उनीहरुलाई पुर्नबहाली गर्नुपर्ने माग मजदूर युनियनको छ । आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निष्काशन गरिएको तर्क गरेको आन्दोलनकारीले बताएका छन् ।

आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम नभएका कारण असारदेखि नै तलब निकासा नभएकाले दशैँपछि निष्कासन गरिएको कुतर्क गरेका छन् । मजदूर निकालेर ज्यादती गरेको आन्दोलनकारीको भनाइ छ ।

काम नभएका कारण मजदूर निष्कासन गरिएको हो, आयोजना प्रमुख राउतले भनेका छन् । पर्वतको मोदी गाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ४०० मिटर सुरुङ निर्माण सकिएको छ । बाँकी भागमा विष्फोटन नगरी निर्माण अघि बढाइएको छ ।

आयोजनाको निर्माण विसं २०७१ मंसिरदेखि शुरु भएको थियो । तर, काम नगरी आयोजनाको लागत बढाइदै लगिएको छ ।

कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर–२ बेतेनीसम्म दुई हजार ६९३ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना रहेको बताइन्छ । ।

यहाँ उत्पादित विद्युत् चार किमी लामो प्रसारण लाइनमार्फत देउपुर–पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ । उक्त प्रसारण लाइन र सबस्टेशन निर्माणको प्रक्रिया भने केही समय पहिलेदेखि मात्रै शुरु गरिएको छ । आयोजनामा प्राइम बैंकको नेतृत्वमा सात बैंकले लगानी गर्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया