‘समग्र ईन्जिनियरको हकहितमा सधै प्रतिवद्ध छु’ –बराल


आर्थिकन्यूज
ई. सुवासचन्द्र बराल
नेपाल ईन्जिनियर एशोसिएसन, प्रदेश नं ३ का सभापतिका उमेदवार

करिब दुई दशकदेखि सिभिल ईन्जिनियरिङ पेशामा आवद्ध सुवासचन्द्र बराल अहिले हाइड्रोपावर क्षेत्रमा कन्सल्ट्यान्टको रूपमा कार्यरत छन् । प्रदेश नम्बर ३ अन्तर्गत चितवन जिल्लामा नै हुर्के बढेका बरालले सन् २००० मा पुल्चोक ईन्जितियरिङ क्याम्पसबाट सिभिल ईन्जिनियरिङमा स्नातक गरेका हुन ।  उनले सोही क्याम्पसबाट सन् २००८ मा वाटर रिसोर्समा स्नातकोत्तर उतीर्ण गरेपछि आफ्नो ज्ञानलाई हाइड्रोपावरर क्षेत्रमा लगाएका हुन । नेपाल ईन्जिनियरिङ एशोसिएसनको यही मंसिर २८ गते हुन गइरहेको ३२ औं केन्द्रीय समिति तथा प्रादेशीक समितिको निर्वाचनमा प्रदेश नम्बर ३ बाट सभापति पदका उमेद्वार भएका छन् । एशोसिएसनको आसन्न निर्वाचन, बरालको ईन्जिनियरिङ क्षेत्रमा भएको योगदान तथा समग्र ईन्जिनियरिङ क्षेत्रको अवस्थासहितका विषयमा बरालसँग गरिएको कुराकानीको सारः

पछिल्लो समय यो क्षेत्रको संम्भावना चाहिँ कस्तो छ ?
विकासशील देशमा तथा नेपालमै पनि अहिले सरकारले समृद्धिको कुरा गरिरहदाँ ईन्जिनियर विनाको समृद्धि परिकल्पना गर्न सकिदैन् । हाम्रो देश विकासको चरणमै रहेकोले हरेक प्रकारका ईन्जिनियरको सम्भावना छ । समृद्धिको कुरा नारामा मात्रै रह्यो भनेचाहिँ यसले ईन्जिनियरलाई केही समस्यामा पार्ला । समृद्धितर्फ नै अगाडि बढ्ने हो भने नेपालमा ईन्जिनियरको भविष्य राम्रो छ ।

चुनौती पनि होलान नि ?
ईन्जिनियर पेशा दक्षताको पेशा हो । सबै क्षेत्रबाट निष्कने ईन्जिनियर सबै ठाउँमा सबै दक्ष भन्ने हुँदैन् । क्षमता अभिवृद्धि नेपाल सरकार र नेपाल ईन्जिनियर एशोसिएसनले दिनै पर्छ । दक्ष ईन्जिनियर विना देशको समृद्धि सम्भव छैन । दक्ष जनशक्ति उत्पादन गर्न नै यसमा ईन्जिनियरको पहल अझै बढी जरूरी छ । ईन्जिनियरको क्षमता विकासमा दक्षता दिने, आवश्यक तालिम दिने तथा देश विकास निर्माणमा आवश्यक पर्ने जनशक्तिको दक्षता बढाउनु नै अहिलको मुख्य चुनौती हो । नेपाल ईन्जिनियर एशोसिएसनले आफ्नो क्षमताले भ्याएसम्मको काम गरिरहेको छ । यसमा राज्यको ठूलो सहयोग र लविङ आवश्यक पर्छ । आगामी दिनमा हामीले पक्कै पनि ईन्जिनियरको क्षमता विस्तारमा राज्यको सहयोगमा हामीले काम गर्न सक्छौं ।

एशोसिएसनको  चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ,  एजेन्डा कसरी तय भएका छन त ?
मुलतः करिब ४८ हजार ईन्जिनियरको प्रतिनिधित्व गर्ने यो संस्थाले ईन्जिनियरकै हकहितको लागि लड्ने गर्छ । हाल यसमा २८ हजार सदस्य छन् । यसलको मूल उद्देश्य नै सबै ईन्जिनियरहरुको हितको निम्ति काम गर्ने नै हो । ईन्जिनियरको क्षमता अभिवृद्धिको निम्ति काम गर्ने र नेपाल सरकारलाई प्राविधिक रूपमा सल्लाह तथा सुझाव दिने तथा सम्बन्धित विषयमा खबरदारी गर्ने पनि यसको मुलभूत उद्देश्य हो । यसै उद्देश्य पूर्तिका लागि मैले मेरो तर्फबाट जिम्मेवारपूर्ण र गम्भिर ढंगले लाग्ने वचनबद्धतासहित साथीहरूकै सरसल्लाह र साथमा उमेदवारी दिने निधो गरेको हुँ ।

यो संस्थाले पनि केन्द्रसँगै संघीयतासम्म नै यसको संरचना बलियो बनाउँदै जान चुनावी प्रतिस्पर्धा हुने हो ?
यस अघि यो एशोसिएसन र यसको चुनावीे गतिविधिसमेत केन्द्रमा मात्रै ज्यादा हुन्थ्योे । अहिले नेपाल संघीयतामा गएपछि नेपाल ईन्जिनियर्स एशोसिएसनले आफ्नो संरचनालाई पनि संघीयता अनुसार परिमार्जन गर्दै जान थालेको हो । अहिले हाम्रो संस्थाको केन्द्रीय कार्यसमितिको चुनाव केन्द्रसहित सातवटै प्रदेशमा हुँदै छ । केन्द्रले केन्द्रीय सरकारलाई सल्लाह सुझाव र खबरदारी गर्छ भने प्रदेशले प्रदेश स्तरका सरकारलाई त्यहाँको विकास निर्माणको कुरामा त्यहाँ भएको गतिविधिको तथा ईन्जिनियरिङ पेशासँग जोडिएका समस्यालाई प्राथमिकताका साथ उठान गर्ने छ ।

यो सँगै अन्य प्राथमिकताका एजेन्डा पनि होला नि ?
इन्जिनियर पेशासँग जोडिएका बिषयहरूमा सामाज र सरोकारवाला निकायहरूलाई सहयोग गर्नुपनि हाम्रो मूल एजेन्डा नै हो । सोसाईटीमा आफ्नो पेशासँग जोडिएका विषयमा आप्mनो ज्ञान र सीप मार्फत सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो । यसर्थ, ईन्जियिनरको हकहित, क्षमता अभिवृद्धि, विकास निर्माण र ईन्जिनियरिङ पेशासँँग जोडिएका विषयमा सरकारलाई सहयोग र खवरदारी गर्ने हाम्रो अभियान हो । हामी हाल संघीयता कार्यान्वयनका सन्दर्भमा कतिपय अवस्थामा ईन्जिनयरिङ समुदाय माथि भईरहेको अन्याय त कतिपय अन्योलतालाई चिर्न सरकारसँगै हातेमालो गर्दै अघि बढ्ने प्रण गरेका पनि छौ ।

ईन्जिनियरको हकहितमा संस्थाले कसरी समन्वय गरिरहेको छ ?
पूर्वाधार निर्माण कार्यमा संलग्न कतिपय ईन्जिनियर साथिहरूले फिल्डमा समस्या, अवरोध र आक्रमणसम्म भोग्नु परेको अवस्था छ । यस्ता घटनामा पीडितको पक्षमा संस्थागत रूपमा लाग्नु र त्यस्ता घटना न्यूनिकरणका लागि दबाव सिर्जना गर्ने काम, संस्थागत रूपमा बढि प्रभावकारी हुन्छ ।

एशोसिएसनले गरको प्रभावकारी कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पछिल्लो उदाहरण यही पुनर्निमाण प्राधिकरणसँग जोडिएर आएको ईन्जिनियरको सेवा सुविधा सम्बन्धि ठूलो विवाद हो । यसमा आएको समस्यालाई नेपाल इन्जिनियर एशोसिएसनको पहलमा समस्याका समाधान गर्ने काम भएको थियो । ईन्जिनियरको हकहित र सेवामा संस्थाको निकै ठूलो भूमिका रहेको छ । ईन्जिनियरले आफूले काम गरे अनुसारको सेवा सुविधा नपाउने समस्या समाधानका लागि एशोसिएसनको नै काम गरेको थियो ।

सामूहिक हितमा गरेको पहलकदमी भूमिका नि ?
सूचना प्रविधि सम्बन्धि आवश्यकताको प्रस्ताव माग्दा कुनै ईन्जिनियरिङ कलेजप्रति पूर्वाग्रह राख्ने काम पनि भएको थियो । ईन्जिनियरहरूलाई त्यसरी पूर्वाग्रह राख्न पाइदैन् । नेपाल ईन्जिनियरिङ परिषद्बाट स्वीकृति तथा अनुमतिपत्र लिइसकेपछि सबैलाई समान रूपमा व्यावहार हुनुपर्छ भनेर नै हामीले त्यसमा पनि आवाज उठाएको थियौ । त्यो पछि सबै ईन्जिनियरहरूमा लागू भयो । यदि कसैले नेपाल ईन्जिनियरिङ एशोसिएसनमा, अन्याय परेको छ वा कुनै समस्या छ भनेर आयो भने हामी सधै उनिहरूको हक हितको पक्षमा लडिरहेका छौ र लड्ने पनि छौं ।

भूकम्पको समयमा ईन्जिनियरको महत्व र आवश्यकता तल्लो तहसम्म नै महसुश हुने गरी देखियो । त्यतिबेला भएको र्यापिड एसिसमेन्टमा तपाईको भूमिका ?
२०७२ बैशाखको भूकम्पले जुन मुभमेन्ट भयो, यो नेपाल ईन्जिनियरिङ एशोसिएसनमा एउटा कोशेढुङ्गाकै रूपमा स्थापित भएर बसेको छ । त्यसअघि समाजसँग ठ्याक्कै नेपाल ईन्जिनियरिङ एशोसिएसन जोडिने मौका पाएको थिएन् । त्यो बेला हामीले करिब ३५ सय ईन्जिनियरलाई परिचालन गरेका थियौ ।  काठमाडौं उपत्यकाभित्र करिब ६५ हजार घर र १४ वटै अति प्रभावित जिल्लाका ८० हजार घरको निःशुल्क रूपमा निरीक्षण गरी उनिहरूलाई प्राविधिक सल्लाह सुझाव दिने काम भएको थियो ।

भूकम्पले पारेको क्षतिपछि हामीलाई नयाँ अनुभव पनि भयो । त्यसपछिको निर्माणमा नेपालमा दक्ष ईन्जिनियरिङको अभाव हुन्छ भनेर नै एशोशिएशनकै नेतृत्वमा ईन्जिनियरलाई तालिम दिने काम भएको थियो । त्यसमा करिब १२ सय ईन्जिनियरले तालिम पाएका थिए । त्यो बेला र्यापिड भिजल एसिसमेन्ट र तालिम दुबै अभियानमा मलाई नेतृत्व गर्ने अवसर दिएको थियो । त्यतिबेला लिइएको नेतृत्वले समाजमा हामीे केही न केही योगदान गर्न सक्छौ भन्ने मान्यतलाई स्थापित चाहिँ गरेको छ ।

यो संस्थाबाहिर रहेका ईन्जिनियरलाई चाहिँ नयाँ नेतृत्व आएपछि कसरी भित्र ल्याउने काम गर्छ ?
नेपाल ईन्जिनियरिङ एशोसिएसनकै निम्ति यो एउटा चुनौती थियो र अहिले पनि छ । आँकडा हेर्ने हो भने नेपालमा करिब ४८ हजार ईन्जिनियर रहेका छन् भन्ने छ । यसमध्ये २८ हजार मात्रै सदस्य छन् । संस्थामा नवीकरण गराएका सदस्यको संख्या भने जम्मा १७ हजार २ सय मात्रै छ । यसले नै देखाउँछ एशोशिएशनले सम्पूर्ण ईन्जिनियरलाई समेट्न सकेको छैन् ।

यसमा पनि केही विदेशीएका र संस्थामा नै नआएको अवस्था पनि देखिन्छ । अब यसलाई सबै इन्जिनियरसँग पुग्न सक्ने बनाउनुपर्छ भनेर लोकतान्त्रिक नेतृत्व नै भइरहेको बेलामा यही समूहबाट विजय भएका हरेराम श्रेष्ठको एक कमिटीले अहिले प्रदेश स्तरमै कमिटी लैजाने काम गरेको छ । यसमा पनि सबै प्रदेश र प्रदेशबाट स्थानीयसम्म लैजान सक्छौ । अहिले हामीले केन्द्र, प्रदेश र स्थानीय स्तरको संरचना अख्तियार गरेको छ । अहिले चुनाव हुन लागेको चाहिँ केन्द्रीय र प्रदेश स्तरीय हो ।

संस्थालाई चुनावपछि बलियो बनाउन सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
पहिले केन्द्रमा मात्रै यसको बहस र चुनाव हुने गरेको थियो । अहिले सबै प्रदेशसम्म पुग्न सकिएको छ । सबै ईन्जिनियहरूमा यसको माहोल आएको छ । सबै अहिले सचेत भएर अगाडि बढेका छन् । अब हरेक प्रदेश र स्थानीय स्तरमा ईन्जिनियरहरू जोडिने छन् । जसले गर्दा संस्था बलियो र अझै प्रभावकारी काम गर्न सक्ने हुन्छ । यसले गर्दा यो संस्था अझै बलियो भएर आउँछ ।

संघीयता अभ्यासपछि यो एशोसिएसनकोे पहिलो निर्वाचन हुँदै हो ?
संघीयता अभ्यासपछि पहिलो नै हो । यस अघि पेशागत संस्थाहरूको साझा सञ्जाल (पापड) थियो । हाम्रो यही संस्था नै हो संघीयता अभ्यासमा चुनाव गरेर अगाडि बढेको र सबै तहमा पुग्ने गरी योजना र भिजनका साथ अगाडि बढिसकेको छ । अरु संस्था पनि आफ्नो आवश्यकता अनुसार आउलान तर हाम्रो संस्थाको काम र संस्थागति हितको संरचना फरक छ ।

यो संस्थाको सबैभन्दा बढी सदस्य ३ नम्बर प्रदेशमै देखिएको छ । चुनावी प्रतिस्पर्धा पनि यही प्रदेशमा नै हुने देखिएको छ नि ?
नेपाल ईन्जिनियर एशोशिएशनमा २०५७ सालदेखि मेरो आवद्धता छ । त्यतिबेला देखि नै कुनै न कुनै रूपमा एशोसिएसनमा जोडिएर मैले काम चाहिँ गरि नै रहेको छु । मेरो सक्रियता देखेरै यस भन्दा निकै पहिलेदेखि नै मेरा साथिहरूले अवको नेतृत्व तपाईको जिम्मेवारीमा हुने हो भनेर भन्ने त गर्नुहुन्थ्यो । तर, मैलै नै आफूसँग भएको समयको सदूपयोग गर्न नै एशोसिएसनमा जाने र काम गर्ने गर्थे । अब मैलै यो क्षेत्रमा १८ वर्षको समय बिताइसकेको र अब म पूर्ण समय दिएर संस्थालाई दिन सक्छु भनेर नै म अगाडि बढेको हुँ ।

फरक प्रशगंमा, तपाई हाइड्रो ईन्जिनियर पनि भएकोले नेपालमा जलविद्युत्को सम्भावना कस्तो देख्नुहुन्छ ?
जसरी बाहिर सुनिन्छ त्यो भन्दा पनि राम्रो सम्भावना यो हाइड्रोपावरको क्षेत्रमा रहेको छ । हामीले संभावनालाई बाहिर ल्याउन सकिरहेका छैनौ । अहिले लोडशेडिङ हटेर राहतसम्मको महशुस भएको छ । अझैपनि हामीले उत्पादन बढाएनौ भने सुख्खा याममा समस्या पर्न सक्छ । हामीले खपत गर्ने आधाभन्दा बढी विद्युत् बाहिरबाट आयत गरेर ल्याइएको छ । यसलाई हामीले नै क्षमता बढाउन निजी र सरकारी क्षेत्रको ठूलो सहभागिता हुनु अवाश्यकता छ । बजारको ग्यारेन्टी र यस क्षेत्रबाट आउने राम्रो रिटर्नलाई लिन सक्नुपर्छ । अझै हामीसँग सम्भावना अनुसारको दक्ष जनशक्तिको आवश्यकता छ । हाम्रो पनि यसमा त्यत्तिकै ठूलो र प्रभावकारी भूमिका रहेको छ । हामीले समयमा नै र गुणस्तरीय काम गर्न भने जरूरी छ ।

अन्तमा केहि भन्नु छ कि ?
अँ, खासमा हामी पहिलो पटक संघीय संरचनाको निर्वाचनमा जाँदैछौ । देशकै पनि भर्खरै कार्यन्वयनमा आएको संघीयतासँगै थुप्रै अन्योलताहरू पनि देखिएका छन् । तसर्थ हामीसँग सम्बन्धित बिषयमा राज्यलाई आवश्यक सहायोग गर्ने प्रतिबद्धता सहित हामी चुनावी मैदानमा छौ । पहिलो पटक बन्न लागेको प्रदेश समिति भएकले हाम्रो सामु चुनौतीहरू पनि छन् र संभावना पनि । म व्यत्तिगत रुपमा चुनौतीहरू प्रति जानकार रहँदै, संभावनाहरू प्रयोग गरेर प्रतिफल निकाल्न सकिन्छ भन्नेमा आत्म विश्वासी छु ।

अझ हामीसँग अग्रजदेखि नयाँ पुस्ताका ईन्जिनियर साथिहरूको साथ छ । मेरो त जन्मभूमी पनि र कर्मभूमि पनि प्रदेश नं ३ नै हो ।  तसर्थ, हिजोका अनुभवहरूलाई प्रयोग गर्दे नयाँ टिमले नयाँ स्पिरिटका साथ काम गर्ने छौ भन्दै, हिरेन्द्रमान प्रधान नेतृत्वको केन्द्रीय समिति तथा मेरो नेतृत्वको प्रदेश ३ लगायत सम्र्पूण प्रदेश समितिमा, लोकतान्त्रिक समूहका उमेद्वारलाई भोट गरि सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया