जलविद्युत् आयोजनामा नेपालीको चार खर्ब लगानी, तीन हजार मेगावाट नेपालीकै लगानीमा निर्माण गर्ने तयारी


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ३ हजार मेगावाट विद्युत् नेपालीकै लगानीमा बनाउने योजनामा अघि बढाइरहेका छन् । स्वदेशी लगानीबाट अबको केही वर्षभित्रै तीन हजार मेगावाट विद्युत उत्पादन हुने उनको दाबी छ ।

हाल मुलुकमा नेपालीको एक खर्ब लगानीमा पाँचवटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । अबको केही वर्षमै हुने नेपालीको लगानीलाई समेत मान्दा नेपालीको लगानीमा चार खर्ब रुपैयाँ लगानीका जलविद्युत् आयोजना बन्दैछन् ।

मुलुकभर सात सय २६ मेगावाटका पाँच जलविद्युत् आयोजनामा नेपालीको एक खर्ब रुपैयाँ लगानी भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीमा नेपाल विद्युत् प्राधिकरण, सञ्चय कोषका कर्मचारी र सञ्चयकर्ता, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान, दोलखाली जनता, सर्वसाधारण नागरिकलगायतको लगानी रहेको छ ।

एक सय दुई मेगावाटको मध्यभोटेकोशी, रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजनामा पनि नेपालीको लगानी रहेको छ । ‘२२ मेगावाटको चिलिमेले अघि बढी सकेको छ । प्राधिकरणले तामाकोसी–५, अपर अरुण, दूधकोशीलगायत अन्य तीन खर्ब लगानीका आयोजना अघि बढाइरहेको छ ।

यी आयोजनाहरू नेपाल विद्युत् प्राधिकरण सहित सञ्चय कोषका कर्मचारी र सञ्चयकर्ता, तत्कालीन गाउँ र जिल्ला विकास समितिहरू, स्थानीय कम्पनीहरू, स्थानीय बासिन्दा, सर्वसाधारणलगायतको लगानी रहेको निर्माण भइरहेका हुन् । उक्त पाँच आयोजनामा कुल एक खर्बभन्दा बढी लगानी हुन्छ,’ घिसिङले भने –‘स्वदेशी लगानीबाटै ठूलो आयोजना निर्माण गर्न सम्भव छ ।’

थप जलविद्युत् विकासका लागि पनि देशभित्रबाटै लगानी जुटाउन सकिने उनको भनाइ छ । स्थानीय रूपमै लगानी जुटाउन सकिन्छ भन्ने प्रमाण भएको उनले बताए । यसैगरी क्रमशः जलविद्युत् आयोजना निर्माण गर्दै जाने हो भने हजारौं मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया