अझै आधा दर्जन देशमा राजदूत छैनन्


आर्थिकन्यूज

काठमाडौं, २६ । आइतबार राती सम्पन्न मन्त्रिपरिषद्को बैठकले भारत, मलेसिया र यूएईमा राजदूत सिफारिस गरेको छ । सरकारले भारतका लागि संविधानविद् एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्य, मलेसियाका लागि पार्टी नेता उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई)मा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई राजदूतका लागि नियुक्तिको सिफारिस गरेको हो ।

नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) का सदस्यसमेत रहेका संविधानविद् आचार्यलाई प्रतिनिधिसभाको चुनावका बेला तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजिनामा रिक्त स्थानमा सिफारिस गरिएको हो । यसअघि आचार्य श्रीलंकाका राजदूत बनिसकेका छन् । आचार्य पहिलो संविधानसभाअन्तर्गत संवैधानिक समितिका सभापति पनि हुन् ।

सरकारले तीन महिना अघि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय विवादमा परेपछि भारतमा आचार्यलाई पठाउने निर्णय गरिएको हो ।

नेपाली कामदार अत्यधिक रहेको मुलुक मलेसियाका लागि राजदूत नियुक्तिको सिफारिसमा परेका पाण्डे यसअघि साउदी अरबका लागि राजदूत थिए । पाण्डेको सिफारिस यसअघि पनि मलेसियाकै लागि भएको थियो । मलेसियामा करिब डेढ वर्षदेखि राजदूत खाली थियो । परराष्ट्रका सहसचिव डा. निरन्जनमान सिंह बस्न्यात फर्केपछि राजदूत नियुक्ति हुन सकेको थिएन ।

साउदी अरबमा ब्लड मनी खाएको आरोपमा सरकारले हमिद अन्सारीलाई फिर्ता बोलाएपछि सुधारको लागि भन्दै पाण्डेलाई त्यहाँ पठाइएको थियो । उनी पार्टी युवक संगठनका पूर्वअध्यक्ष पनि हुन् ।

आइतबार बसेको बैठकले युएईमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई नियुक्तिको सिफारिस गरेको छ । त्यहाँ पनि करिब ३ वर्षदेखि राजदूत खाली थियो । यूएईबाट परराष्ट्रका सहसचिव धनन्जय झा फर्केपछि राजदूत अभावमा लामो समय अधिकृत तहका कर्मचारीले त्यो दूतवाास कार्यबाहक भएर काम काम गर्दै आएका छन् ।

त्यसैगरी सरकारले जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग प्रमुख दीपक धितालको समयावधि अर्को व्यवस्था नभएसम्मका लागि थप गरेको छ । त्यहाँ पनि राजदूत नियुक्त गर्ने भनिए पनि मन्त्रालयभित्र वरिष्ठताको विषय नमिलेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

सरकारले तत्कालका लागि तीन मुलुकमा राजदूत नियुक्त गरेपनि राष्ट्रसंघमा भने अझै राजदूत खाली छ । हाल दक्षिण अफ्रिका, थाइल्यान्ड, फ्रान्स, कुवेत, र क्यानडालगायतका मूलुकमा राजदूत खाली छ । सरकारले न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग, जेनेभास्थित नियोगमा राजदूत सिफारिस गर्नसक्ने छ ।

यसबाहेक अन्य केही देशमा पनि राजदूतलाई फिर्ता बोलाएर नयाँ नियुक्ति हुनसक्ने बताइएको छ । नेपालको ३० मुलुकमा दूतावास, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग र ६ स्थानमा महावाणिज्य दूतावास रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया