पप्पुलाई राष्ट्र बैंक बनाउने दिने निर्णय गर्न नसकेपछि ४५ दिनको समय थपियो, ठेक्काको टुङ्गो मन्त्रिपरिषदबाटै लगाउन आग्रह


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने वा नदिने भन्नेबारे निर्णय गर्न अझै सकेको छैन ।

पप्पुले राष्ट्रबैंक बनाउने जिम्मा प्राविधिक रुपमा पाइसकेको भएपनि कम्पनी विवादमा परेको र अख्तियारले समेत मुद्दा दायर गरेको कम्पनीका कारण पुननिर्माण प्राधिकारणले निर्णय लिनै सकेको छैन ।

एक महिनाअगाडि नै ठेक्काको छिटोफानो लागिसकेको र २ अर्ब ६ करोडमा राष्ट्रबैंक बनाउने जिम्मा पप्पुलाई दिने तयारी भएको भएपनि मिडियाको विरोध र पप्पुको गुणस्तरहिन काम तथा ढिलासुस्तीका कारण उसले यो जिम्मेवारी पाउन सकेको छैन । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पनि ४५ दिनको समय थप गरेको सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले बोलपत्र मान्य हुने अवधि थप गरेको छ । यो इकाइबाट ठेक्का लगाएको राष्ट्रबैंकको बालुवाटारको भवन मूल्यांकनकै चरणमा रहेको इकाइको दाबी छ । इकाइले बोलपत्र मान्य हुने अवव िसार्वजनिक खरिद ऐन, २०६३ को दफा २० बमोजिम ४५ दिन बोलपत्र जमानतको म्याद थप गर्ने निर्णय गरेको हो ।

यस अघि प्राधिकरणले आफूले निर्णय गर्न नसकेका कारण यो आयोजनाको अन्तिम निर्णय गर्ने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको थियो । मन्त्रिपरिषद्ले पनि निर्णय तत्काल नगरेको र निर्णय गर्न समय लागेको कारण प्राधिकरणले सेफसाइडमा रहन समय थपको सूचना निकालेको हो ।

नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख सहसचिव राजुमान मानन्धरले दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएका थिए । ‘कागजअनुसार उसैले पाउँने भएपनि यस्तो बदनाम भएकालाई कसरी दिने ? भनेर प्राधिकरण अल्झिरहेको भनाइ पनि उनको छ । प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन।

यस अघि भएको धरहराको ठेक्काको विवाद पनि मन्त्रिपरिषद्सम्म पुगेको थियो । उतिबेला मन्त्रिपरिषद्ले नियमअनुसार गर्नू भनेपछि त्यसैअनुसार ठेक्काको निर्णय भएको थियो । यसमा पनि त्यस्तै निर्देशन आयो भने ठेक्का पप्पुले नै पाउँछ अन्यथा मन्त्रिपरिषद्ले नै विवादित कम्पनीका कारण अर्कोलाई दिने निर्देशन दिन सक्ने पनि उल्लेख छ ।

सर्वत्र जगतमा पप्पु कन्ट्रक्सनले निर्माण गरेको सडक र पुलहरु गुणस्तरहिन र मापदण्ड विपरित भएका विवाद उठिरहेका बेला बालुवाटारस्थित राष्ट्र बैंकको मूल भवन बनाउने जिम्मा चिनियाँ कम्पनी एसआरबीसीसँग मिलेर पप्पु कन्ट्रक्सनले नै पाउने गरी कागजात भने मिलेको छ ।

पप्पु कन्ट्रक्सनले दुई अर्ब ६ करोड रुपैयामा हालेको हो । पप्पुले भवन निर्माणका लागि सबैभन्दा कम मूल्यको बोलपत्र प्रस्ताव गरेका कारण ठेक्का उसैले पाउने देखिएको हो । पप्पु कन्ट्रक्सनसँग पुल र सडक निर्माणका अनुभव भएपनि भवन त्यो पनि परम्परागत शैलीको भवन निर्माण गरेको अनुभव भने छैन । उसको भवन निर्माणमा यो नै पहिलो ठेक्का हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया