दुर्गम बस्तीको घरदैलोमै जग्गाधनी पुर्जा र नेपाली नागरिकता प्रमाण पत्र वितरण सेवा


आर्थिकन्यूज

बेनी, कात्तिक १८ ।  म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा एकीकृत घुम्ती शिविरमार्फत स्थानीयलाई घरदैलोमै जग्गाधनी पुर्जा (लालपुर्जा) र नेपाली नागरिकता प्रमाण पत्रसहित सार्वजनिक सेवा प्रदान गरिएको छ ।

जिल्लाको सबैभन्दा दुर्गम र विकट गाउँ गुर्जामा जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा सञ्चालित सो शिविरबाट ८६ जनालाई नागरिकता, नौ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्यालले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य शिविरबाट १३१ जना लाभान्वित भएका छन् भने ६६ जनाले फोटोसहितका मतदाता नामावली दर्ता गराएका छन् ।

शिविरमा अन्य सेवाको काम सकिए पनि जग्गासम्बन्धी सेवाग्राहीको काम नसकिएकाले जग्गाधनी पुर्जा, जग्गा नामसारी, राजीनामालगायतका सेवा भने आइतबारसम्म जारी रहने गुर्जाका वडाध्यक्ष झबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

आज साँझसम्म ३३ जनालाई जग्गाधनी लालपुर्जा, ३५ वटा नामसारी, ३८ वटा जग्गा राजीनामाको सेवा प्रवाह गरिएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

कूल २६० घरधुरी बसोबास रहेको गुर्जामा ५० देखि ६० घरधुरीबाहेक अन्यको आफ्नो घर, पुस्तौँदेखि उपभोग गर्दै आएको जग्गा, जमीनको लालपुर्जा नभएको अवस्थामा घुम्ती शिविरबाट अधिकांशले लालपुर्जा पाएका छन् ।

भौगोलिक विकटता, जग्गाको अवमूल्यन हुनु र लालपुर्जा बनाउन सदरमुकाम जाँदा आउँदा नै ठूलो खर्च हुने भएकाले गुर्जावासी अहिलेसम्म लालपुर्जाविहीन बनेका थिए ।

भौगोलिकरुपमा दुर्गम गुर्जावासीलाई जिल्ला सदरमुकाम बेनीमा उपलब्ध हुने सरकारी सेवा उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीसहित, प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, जिसस प्रमुख देवेन्द्रबहादुर केसी, धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मासहित सुरक्षा निकायका अधिकारीसहितको टोली दुई दिनको यात्रापछि गुर्जा पुग्नुभएको थियो ।

सडक सञ्जालले नजोडिएको र नजीकको बस्तीबाट एकदिन जङ्गलको यात्रा तय गरेपछि पुगिने गुर्जा जिल्लाको सबैभन्दा दुर्गम बस्ती हो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया