तिहारको मुखमा १२ औं पुष्प मेला शुरु (फोटो फिचर)


आर्थिकन्यूज

काठमाडौं, कात्तिक १५ । ललितपुरको जावलाखेलमा पुष्पमेला सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा १२ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट सुरु भएको हो।

जावलाखेलको खेल मैदानमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले उद्घाटन गरे। प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’भन्ने रहेको छ।

पुष्प उत्पादक कृषकले आफ्ना उत्पादनको बजार क्षेत्र सीमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढ्ने विश्वास फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले व्यक्त गरे।

गोदावरी फूलका विविध प्रजातिमध्ये प्रतिस्पर्धात्मक प्रदर्शनीमा स्पाईडरतर्फ सम्झना नर्सरी, मिनियचरतर्फ मिलन नर्सरी, इन्क्रर्भतर्फ अजिमा नर्सरी, रिफ्लेक्समा सम्झना नर्सरी र कट फ्लावरमा ए एस कट फ्लावर नर्सरी विजेता बनेका छन्।

त्यसै गरी प्रदर्शनीमा सहभागी मध्ये सम्झना नर्सरी उत्कृष्ट प्रदर्शक बनेको छ भने टीटीआर बंगलामुखी नर्सरी दोस्रो र अजिमा नर्सरी तेस्रो बनेका छन्। पुरस्कृत नर्सरीलाई मन्त्री लामाले शिल्ड, नगद तथा प्रमाण पत्र प्रदान गरेका छन्।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्ष रहेका छन्। ३६ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया