अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतको निमन्त्रणा अस्वीकार


एजेन्सी

वासिंटन, कार्तिक ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको निमन्त्रणा अस्वीकार गरेका छन् । भारतले गणतन्त्र दिवसका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको थियो ।

तर ट्रम्पले आफू भारत नआउने जानकारी दिएको भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै भारतको अखबार ‘टाइम्स अफ इन्डिया’ ले जनाएको छ ।

अमेरिकी अधिकारीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई यसबारे सूचना दिएको बताइन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प घरेलु कार्यक्रममा व्यस्त रहने भएको भन्दै भारत भ्रमणका लागि असमर्थ रहने जानकारी भारतीय अधिकारीलाई दिइएको जनाइएको छ ।

घरेलु कार्यक्रममा व्यस्ततालाई ट्रम्पले कारणका रुपमा देखाए पनि कुटनीतिक मामलाका विज्ञहरु पछिल्लो समय अमेरिका र भारतबीचको सम्बन्धमा देखिएको दुरीका कारण नै ट्रम्प भारत भ्रमणका लागि अनिच्छुक रहेको बताउँछन् । भारतले हालै रुससँग ‘एयर डिफेन्स सिस्टम एस–४००’ खरिद गर्ने सम्झौता गरेका कारण अमेरिकाले भारतसँग दुरी बनाएको हो ।

अमेरिकाले यसअघि नै भारतलाई रुससँग उक्त सम्झौता नगर्न सुझाव दिएको थियो । तर अमेरिकी सुझावलाई बेवास्ता गर्दै भारतले रुससँग सम्झौता गरेका कारण पछिल्लो समय भारतसँग अमेरिका असन्तुष्ट रहँदै आएको छ ।

उल्लेखनीय छ, भारतले आफ्नो गणतन्त्र दिवसका अवसरमा विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई मुख्य अतिथि बनाउँदै आएको छ । सन् २०१५ मा गणतन्त्र दिवसका अवसरमा भारतले तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई मुख्य अतिथि बनाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया