नेपालमा शैक्षिक परामर्श क्षेत्र अपरिहार्य अावश्यकता वा कमाइखाने भाँडो ?


आर्थिकन्यूज

पछिल्लो सयममा नेपालमा शैक्षिक परामर्श क्षेत्र कमाइ र जागिरको आकर्षणको केन्द्र बन्दै गएको छ । करिब २६ सयको हाराहारीमा देशैभरी शैक्षिक परामर्श संस्था सञ्चालनमा रहेका छन् ।

विदेशमा रहेका उच्च शिक्षा हासिल गर्ने भरपर्दो शैक्षिक संस्थाको बारेमा जानकारी दिनु यी संस्थाको पहिलो काम हो । वर्षेनी हजारौंको संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेशिने भएकाले शैक्षिक परामर्श संस्थामा स्वदेशी मात्र नभएर विदेशी लगानीसमेत आइरहेको छ ।

यिनै शैक्षिक परामर्श संस्थामा भइरहेको लगानी र संस्थाले गरिरहेको कामका विषयमा आर्थिकन्युज डटकमका लागि पवित्रा रिजालले परामर्शसँग सम्बन्धित संस्थाका पदाधिकारीसँग शैक्षिक परामर्श क्षेत्रको स्थितिका विषयमा गरेको कुराकानीको सम्पादित अंशः

‘शुरुमा म पढ्छु नै भन्ने सोच राखेर विदेश जानुपर्छ’

पछिल्लो समय नेपालको शिक्षा प्रणाली व्यवस्थित हुँदैछ । त्यसमा पनि प्राविधिक शिक्षा प्रणालीमा बढी व्यवस्थित भइरहेको देखिन्छ । पहिले यो क्षेत्रमा धेरै कम व्यवसायी थिए । तर, दिन प्रतिदिन बढ्दै गएका छन् । शुरुमा थोरै परार्मशदाता थिए, विदेशी विश्वविद्यालयले नेपाललाई आफ्नो बजारका रुपमा लिइराखेका थिएनन् ।

शिक्षा मन्त्रालयबाट कडा कानुन नआउनाले अहिले शैक्षिक परामर्शदाता कम्पनी च्याउजस्तै खुलेका छन् । सरकारले नियमन गर्ने प्रष्ट नीति ल्याइदियो भने यो क्षेत्र व्यवस्थित हुन सक्छ ।

एजुकेसन कन्सल्टेन्सीहरुलाई यदाकदा म्यानपावर कम्पनीको काम गरेको आरोप पनि लाग्ने गरेको छ । तर, आइरिनको सदस्यहरुले आजसम्म कुनै पनि यस्तो काम गरेको उजुरी आएको छैन । हाम्रा सदस्यहरु सबैले आ–आफ्ना ब्रान्ड इमेज बनाइसकेका छन् । म्यानपावर आफैंमा नराम्रो भने होइन ।

परामर्शदाताले विद्यार्थीलाई सही परामर्श दिन सकेन भने त्यो कन्सल्टेन्सीले बजारमा आफ्नो इमेज बनाउन सक्दैन । त्यसैले आफ्नो भविष्यका निम्ति पनि उ जिम्मेवार बन्नै पर्छ ।

अधिकांश विद्यार्थीले पहिले विषय हेर्दैनन्, पहिला देश हेरेर मात्रै विषय छनोट गर्ने गरेको पाइन्छ । अष्ट्रेलियामा विद्यार्थी व्यवसायी छ भने आईटी, एकाउन्टिङ, सोसल वर्क, नर्सिङ, होटल म्यानेजमेन्ट र इन्जिनियरिङ जस्ता विषय पढ्न जान्छन् ।

नेपालमा पनि यी विषय पढ्न पाइन्छ । तर, विद्यार्थीले बाहिरी देशलाई प्राथामिकता दिइ रहेका छन् । किनकी यहाँका विश्वविद्यालयले भन्दा बाहिरका विश्वविद्यालयले नयाँ कुराको अनुसन्धान, काम गर्ने सजिलो तरिका र अवसर प्रदान गर्छन् भनेर जान्छन् ।

कतिपय विद्यार्थी नेपालमा पढेर राम्रो भविष्य छैन विदेश जान सक्यो भने त्यहाँ सेटल हुन सक्दा राम्रो भविष्यसँगै पैसा पनि कमाउन सक्छ भन्ने धारणामा विदेश जाने गरेका छन् । त्यस्ता विद्यार्थी यहाँभन्दा पनि नराम्रो विश्वविद्यालयमा अष्ट्रेलियामा पढ्न गएका छन् ।

अहिले अष्ट्रेलिया जाने विद्यार्थी धेरै छन् । त्यतिमात्र नभएर अष्ट्रेलियामा विद्यार्थी जानेमध्ये नेपाल तेस्रो स्थानमा छ । पछिल्लो वर्ष १५ हजार जति विद्यार्थी अष्ट्रेलिया गएको अनुमान छ । तर, अरु देश सबै जोड्दा ४० हजारको हाराहारीेमा हुन सक्छ ।

विदेश जानु भनेको जानको लागि मात्र होइन, विदेशमा छु भन्नको लागि मात्र होइन, जबसम्म हामीले पढेर एउटा राम्रो डिग्री लिन सक्दैनौ, क्षमता र ज्ञान प्राप्त गर्न सकदैनौ, विदेश गएर मात्र मान्छेको भविष्य बन्न सक्दैन । त्यसैले विदेश जाने हो भने पहिलो प्राथामिकता चाहिँ पढाइमा नै हुनुपर्छ ।

त्यहाँ गएर पैसा कमाउँछु भन्ने हिसाबले जानु हुँदैन । पढ्दासम्म दुःख गर्छु, सकेसम्म स्कलरसिपमा प्रयास गर्नुपर्छ, पढाई सकेपछि लगानी फिर्ता आउँछ । बाहिर गएर कमाउँछु, बाच्ने तरिका अलग बनाउँछु भनेर गयो भने शुरुमा त रमाइलो होला तर लामो समयसम्म त्यसमा भविष्य बन्दैन । त्यसकारण पढ्ने हो केही नयाँ कुरा सिक्ने हो भने जाउ नभए नेपालमा पनि राम्रो शिक्षा पाउन सकिन्छ ।

विदेश जाने बित्तिकै पैसा कमाई हुन्छ भन्ने छैन । मज्जाले पढ्नुस् पढाइ सकेपछि भविष्य एकदम उज्वल हुन्छ । पढी सक्नु भएपछि नेपालमा नै पनि ठूला–ठूला कम्पनी छन् , त्यहाँ पनि काम गर्न सक्नु हुन्छ तर पढ्नु भएन भने पूरा जीवन सानातिना जागिर खाएर बस्नुपर्छ ।

हरेक विद्यार्थी विदेश जाँदा नेपाल सरकारलाई २ प्रतिशतले कर तिर्नुपर्ने हुन्छ । तर, कतिपय विद्यार्थी घटनामा आवेदनमात्रै गर्ने विद्यार्थीले पनि कर तिर्न परिराखेका हुन्छन् । कन्सल्टेन्सी १० प्रतिशतदेखि १४ प्रतिशतसम्म कर तिर्दै आएका छन् ।

नेपाली विद्यार्थीले विदेश पढ्न जाँदा सबैले पूरै टियुसन फि तिरेका हँुदैनन् । कतिपयको उता गएर पैसा फिर्ता भइराखेको हुन्छ । यदि पूरै रकम नेपालबाट जाँदा ठूलो रकम विदेश जान्थ्यो । तर, रियल डाटा यति नै जान्छ भन्न सकिँदैन । यद्यपि, वर्षेनी १० अर्ब रुपैयाँमाथिको पैसा विदेशी शिक्षा प्रणालीमा विदेशिन्छ भन्ने अनुमान छ ।

कतिय एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीसँंग चर्को शुल्क असुल्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । हाम्रा सदस्यहरुमा त्यस्तो छैन । शुरुमा सेक्युरेटी डिपोजिट भनेर १० हजार रुपैयाँ लिन्छौ । पछि भिसा आवेदन गर्दा त्यो १० हजार पनि फिर्ता गरी दिन्छौ । यसको मतलब हाम्रो सर्भिस चार्ज पनि छैन ।

जसले गलत सल्लाह दिन्छन्, त्यस्ता कन्सल्टेन्सीलाई सरकारले कारबाही गर्नुपर्छ भन्ने पक्षमा म छु । कुनै पनि विद्यार्थी वा अविभावकले विदेश जानुभन्दा अगाडि नै यस्ता कुरामा ध्यान दिनुपर्छ ।

विदेशी विद्यार्थी नेपालमा पढाउन ल्याउनु हाम्रो कर्तव्य हो । यदी विदेशी विद्यार्थी ल्याउनुपर्यो भने कम्तिमा हामीले विदेश पठाएका विद्यार्थीले केही न केही राम्रा काम गरेर सहयोग गर्ने वातावरण बनाएका छौं । विदेशी विद्यार्थी नै नेपालमा पढाउन ल्याउन सम्भव छ । जस्तै एमबीबीएस पढ्न आइसकेका छन् । सरकारका नियम र कानुन राम्रो आउन थालिसकेका छन् । सरकारका नीति नियममा भर पर्छ ।

‘हल्लाको भरमा आँखा चिम्लिएर विदेश पढ्न नजाऔं’

विद्यार्थीको संख्या बढ्ने बित्तिकै पक्कै पनि परामर्शदाताको संख्या बढ्छ भन्ने बुझिन्छ, संख्या बढ्नुको पछाडि बजार बढेको भन्ने बुझिन्छ । कुनै विद्यार्थी अर्को मुलुकमा गएर पढेर सेटल हुन सकिन्छ भन्ने धारणा राख्ने भएकाले यतिबेला विदेशमा पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएको छ ।

एजुकेसन कन्सल्टेन्सीले म्यानपावर कम्पनीको काम गर्छन् भन्ने आरोप सत्य होइन भन्न सकिँदैन । कतिपय अपराधिक घटना मिडियाबाट सुन्ने गरेका छौं । कतिपयलाई कारबाहीका निम्ति म आफैंले पनि सिफारीस गरेको छु । त्यस्ता संस्थाको धानमा लगनशील, शुद्ध शैक्षिक परामर्शदाताकर्मी पनि पर्न सक्छन् ।

अपराध जहाँ पनि हुन सक्छ, अपराधलाई शून्य गर्न सकिँदैन मात्र न्यूनीकरण गर्न सकिन्छ । त्यही सिलसिलामा फेकनको तर्फबाट पनि अपराध न्यूनीकरण गर्न सकिन्छ भन्ने पक्षमा लागेका छौं ।

सरकारले एजुकेसन कन्सल्टेन्सी खोल्न दर्ता रोकेको छैन, खुल्ला छ, जसले पनि व्यवसाय गरेका छन् । सरकारले अनुसन्धान गर्ने क्रममा कसैले गैरकानुनी काम गरेको भेटियो भने कारबाही गरेकै छ । संख्यासँगै विकृति पनि बढेका छन्। अब हामी सचेत हुनुपर्ने बेला आएको छ ।

अहिले २२ सयको हाराहारीमा कन्सल्टेन्सी छन् । यो धेरै ठूलो संख्या हो । यसमा ठ्याककै यति भन्न सकिदैन तर औसतमा १ करोडको कारोबार होला ।

विदेशमा पढ्न नेपाली विद्यार्थी अमेरिकामा टेक्नोलोजी र अष्ट्रेलियामा नर्स, एकाउन्ट, आईटी, म्यानेजमेन्ट जस्ता विषयमा बढी देखिन्छ ।

अहिले विद्यार्थीको मुख्य आकर्षण अष्ट्रेलिया रहेको छ । हाल अष्ट्रेलियाको भिसा पोलिसी, कलेज, त्यहाँ पढ्न लाग्ने खर्चको कारण अष्ट्रेलियाप्रति आकर्षण बढेको हो ।

विद्यार्थीले विदेश पढ्न जाँदा यहाँ कन्सल्टेन्सी मात्र होइन आफू पढ्न जाने देश, विषय, कलेज, ठाउँ, खर्च र त्यसका साथ साथै आफ्नो योग्यता सम्पूर्ण कुरा बुझेर मात्र जानुपर्छ । नबुझी हल्लाका भरमा आँखा चिम्लिएर एप्लाई नगरौं ।
कुनै पनि पेसा व्यवसायमा सबै जना राम्रा हुँदैन । सबै आफ्नो जिम्मेवारीप्रति सचेत र जवाफदेही हुनुपर्छ । संसारमा जन्मेका हरेक व्यक्ति सफल हुन्छन् भन्ने छैन । सफलताको बाटो कोर्न तपाईको सोचले र तपाईको जीवन दर्शनले दिन्छ । पहिले सफलता भनेको के हो बुझ्नुपर्छ ।

यहाँ परामर्श भन्ने बित्तिकै नराम्रो रुपले बुझ्छन् । तर, कतिपय मुलुकमा परामर्शलाई सम्मान पनि गरिन्छ, सरकारले नै पैसा दिन्छ । राज्यले आफ्नो लगानीमा परामर्श केन्द्र खोलेका हुन्छन् । नेपाल टुरिजममा व्यापक सम्भाव्यता बोकेकोे राष्ट्र हो । जस्तो माउन्टेनिङमा अफ्रिकन, इन्डियनलगायतका देशबाट विद्यार्थी ल्याउन सकिन्छ । तर, राज्यले शैक्षिक सेन्डिकेट तोड्नुपर्छ , राज्यभित्र शिक्षाको सम्भाव्यता खोज्यौ भने विदेशबाट विद्यार्थी ल्याएर नेपालमा दरिलो आयस्रोतको माध्यम बनाउन सक्छांै ।

‘विद्यार्थीसँगै अभिभावक पनि सचेत हुन जरुरी छ’


परामर्शदाताहरू पहिलेको तुलनामा अहिले धेरै राम्रा छन् । अहिलेको व्यावसायिक छन् । किनकी अन्तर्राष्ट्रिय शिक्षासँग सरोकार राख्ने जो कोहीले पनि त्यहाँको शिक्षा प्रणाली, रहनसहन तमाम पक्षलाई बुझ्नुपर्ने हुन्छ । अघिल्ला वर्षको तुलनामा अहिले विदेश पढ्न जाने विद्यार्थी झन्डै दोब्बरको संंख्यामा बढिरहेका छन् ।

कहिलेकाहिँ एजुकेसन कन्सल्टेन्सीले ठग्ने गरेको कुरा सुन्नमा आउँछ । इक्यानका सदस्य संस्थाभित्र कम छ । चार सय वटा कन्सल्टेन्सीमा सबै राम्रा छन् भने कुरा त होइन तर यस संगठनभित्र राम्रा धेरै छन् ।

कन्सल्टेन्सी भनेको एजुकेसनसंँग सम्बन्धित छ यो कुरालार्ई राज्यले पनि प्रमाणित गरेको छ । त्यसकारण अहिले मेनपावर र एजुकेसन कन्सल्टेन्सीले गर्ने काम एकदम फरक छ । किनकी एजुकेसन कन्सल्टेन्सीले पैसा कमाउनका लागि होइन विदेश पढेर उच्च शिक्षा हासिल गर्नका लागि विदेश पठाउने हो ।

यस वर्ष सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलिया गएका छन् । त्यसपछि जापानमा पनि गएका छन् । आफ्नो देशवाट नजिक अनि खर्च पनि कम पर्ने देश भारत तेस्रो नम्बरमा परेको छ । अमेरिका यस वर्ष चौथो नम्बरमा परेको छ । क्रमशः चीन, पोल्यान्ड, साउथ कोरिया, क्यानडा, न्यूजील्यान्ड, साइप्रस, बंगलादेश, जर्मनी, फ्रान्स र युएईमा पनि नेपाली विद्यार्थी गएका छन् ।

विदेश पढ्न जाने विद्यार्थीले पहिले त राम्रो एजुकेसन कन्सल्टेन्सी छनोट गर्नुपर्छ । त्यसपछि आफूले पढ्ने विषय, विश्वविद्यालय, खर्च, कानुन, हावापानी सबैखाले जानकारी लिनुपर्छ ।

कुनै पनि व्यवसायमा बिना शुल्क काम गरिँदैन फरक यति मात्र हुन्छ, कुनै शुल्क धेरै लाग्छ भने कुनै शुल्क काम भए पनि सक्छ । यसैले जुन काममा पनि थोरै सेवा शुल्क असुल्छन् । जस्तै स्कुल, कलेजमा शिक्षा लिन जाँदा पनि फि लाग्छ , हस्पिटल जाँदा डाक्टर चार्ज लिन्छ , यसरी नै नाम फरक हो तर सेवा शुल्क भने सबै ठाउँमा लाग्छ ।

कन्सल्टेन्सी सबै राम्रा वा सबै नराम्रा हुन् भन्ने हुँदैन । आफू सचेत हुनुपर्यो कसैले गलत सल्लाह दियो भन्ने शंका लागेमा उजुरी गर्नुपर्छ । गलत सुझाव सल्लाह दिने कन्सल्टेन्सीलाई कानुनी कारबाही गर्नुपर्छ । नेपालबाट अध्ययनका लागि विदेशिने विद्यार्थीसँग इक्यानले डिल गर्छ । इक्यानले डिल गर्दा विद्यार्थी ठगिएका, मर्कामाा परेका यस्ता केश आउँदा पनि त्यसलाई इक्यानले राम्रोका लागि सुनुवाही गर्छ ।

रेमिट्यान्सको लागि विद्यार्थी विदेश जाने होइन । संसारमा अहिले जति पनि विकास भएको छ, त्यो शिक्षाले गर्दा भएको हो । मान्छेको सोच व्यवहार भनेको शिक्षामा निर्भर पर्दछ । आज नेपालको शिक्षा प्रणाली जस्तो विश्वमा कुनै पनि ठाउँमा शिक्षा प्रणाली देखिँदैन ।

नेपाली विद्यार्थीलाई पढ्नका लागि विदेश पढाउने मात्र नभएर विदेशी विद्यार्थीलाई पनि नेपालमा तान्ने अभियान चलाई राखेका छन् । यो देशमा सकारात्मक वातावरण र राम्रो युनिभर्सिटी बन्ने हो भने बाहिरी देशमा रहेका नेपाली शिक्षा परामर्शदाताहरुको अफिसबाट पनि विद्यार्थी तान्न सकिन्छ । यसका लागि राज्यले पहल गर्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया