सिद्धार्थ इन्स्योरेन्सको लिलामी भर्ने आजै अन्तिम दिन


आर्थिकन्यूज
सिद्धार्थ इन्स्योरेन्स

काठमाडौं, असोज २६ । सिद्धार्थ इन्स्योरेन्सको ३७ हजार २१६.५० कित्ता शेयर लिलामी भर्ने आज शुक्रबार असोज २६ गते अन्तिम दिन हो । सिद्धार्थले असोज १९ गते देखि संंस्थापक समूहको ७९९.६० कित्ता र सर्वसाधारण समूहको ३६ हजार ४१६.९० कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

कम्पनीले यसअघि असार १७ देखि साउन २० गतेसम्म १० बराबर ३.५ को अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता शेयर बिक्री खुला गरेको थियो । जसमा २२ लाख ७ हजार ७५७ कित्ताका लागि मात्र आवेदन परेको हो । बिक्री हुन नसकेको ३७ हजार २१६.५० कित्ता हकप्रद अहिले लिलामीमा ल्याइएको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिने छ । यसैगरी, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । हाल सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ ।

लिलामीपछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया