नेपालीको वाार्षिक सवा खर्ब रुपैयाँ मासुमा खर्च, मासिक ४ लाख ३० हजार खसीबोका खपत


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । नेपालीले मासुकै लागि वार्षिक १ खर्ब ११ अर्ब ५० करोडभन्दा बढी रकम खर्च गर्ने गरेका छन् । कृषि तथा पशुपंछी विकास मन्त्रालयले दिएका अनुसार देशभर मासिक ४ लाख ३० हजार खसीबोका खपत हुने गरेको छ । तीमध्ये झण्डै ३ लाख ८४ हजार २ सय गोटा स्वदेशमै उत्पादन भने बाँकी विदेशबाट आयात गरिन्छ ।

माथिल्लो तथ्यांकका आधारमा नेपालीले मासिक ९ अर्ब २८ करोड ८० लाख रुपैयाँको मासु खपत हुने देखिएको छ । स्वदेशमा उत्पादन नभएर अपुग हुने करिब ४५ हजार ७ सय गोटा खसीबोका भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात हुने गरेको छ । आयातमध्ये करिब ७० देखि ८० प्रतिशत हिस्सा भारतको छ ।

भन्सार विभागको तथ्यांकलाई आधार मान्दा चालू आर्थिक वर्षको पहिलो महिनामा यो मूल्यबराबरको खसीबोका आयात भएको छ । वार्षिक नेपालमा डेढ खर्बदेखि १ खर्ब ७५ करोड मूल्यबराबरको साढे ३ लाखदेखि ५ लाख गोटासम्म खसीबोका आयात हुने गरेको तथ्यांकले देखाउँछ ।

दशैंंमा सामान्य दिनभन्दा करिब १० दोब्बर खसीबोकाको मासु कारोबार हुन्छ । दशैंंमा हुने कारोबारलाई जोड्ने हो भने वार्षिक करिब डेढ खर्बभन्दा बढीको मासु नेपालीले खाँदै आएका छन् ।

दशैंका लागि सरकार र निजी क्षेत्रले खसीबोका र च्याङ्ग्रा गरी ५२ हजार खरिदबिक्री गर्ने भएका छन् । यो काठमाडौं उपत्यकाका लागि मात्र हो । यसमध्ये निजी क्षेत्रले ३५ हजार खसीबोका र १५ हजार च्याङग्रा खरिद गर्न लागेको छ । नेपाल खाद्य संस्थानले एक हजार गोटा खसीबोका र एक हजार गोटा च्याङ्ग्रा खरिदबिक्री गर्ने तयारी गरेको छ ।

दशैंमा राजधानीमा मात्रै भारतीय र स्वदेशी गरी करिब ५२ हजार गोटा खसीबोका ५७ करोड ६० लाख रुपैयाँमा कारोबार हुने अनुमान गरिएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । संस्थानले यो वर्ष मकवानपुर र दाङबाट मात्रै स्थानीय जातका खसीबोका खरिद गरेको छ ।

व्यवसायीका अनुसार आयातित खसीबोकामध्ये ९० प्रतिशत उपत्यकामा खपत हुन्छ । स्वदेशमा उत्पादन भए पनि ग्रामीण भेगसम्म बाटोघाटोको असुविधा र ढुवानी समस्याका कारण बाहिरी मुलुकबाट ठूलो परिमाणमा खसीबोका आयात गर्नुपरेको हो ।

निजी क्षेत्रको खसी बोकाभन्दा खाद्य संस्थानको महँगो
खाद्य संस्थानले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । त्यसै निजी क्षेत्रका व्यापारीले पनि दशैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । उनीहरूले बिक्री गर्ने खसीबोका खाद्य संस्थानले गर्नेभन्दा सस्तो देखिएको छ ।

निजी क्षेत्रले प्रतिकिलो पाँच सय २० रुपैयाँमा खसीबोका बिक्री गर्ने तयारी गरेको छ भने संंस्थानले जिउँदो खसीबोका प्रतिकिलो ७१० रुपैयाँ र च्याङ्ग्राको प्रतिकिलो १२७० रुपैयाँ तोकेको छ । खसीबोका र च्याङ्ग्रा संस्थानले थापाथली गोदामबाट बिक्री गर्ने प्रबन्ध मिलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया