२५ करोड रुपैयाँ छुट्याईसकिएको काभ्रेको नागीडाँडा विमानस्थल विवादमा, विमानस्थल काभ्रेमा चल्दैन बन्द गर्नुपर्छ


आर्थिकन्यूज

काठमाडौ, असोज २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप घटाउन भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले काभ्रेको नागीडाँडामा बनाउन लागेको विमानस्थल विवादमा पर्न थालेको छ । अधिकारीले पोखरा विमानस्थल सञ्चालन गर्न र निजगढलाई पछाडि धकेल्नै गरी काभ्रेमा विमानस्थल निर्माणको अयोजना अगाडि सारेको आरोप लागेको छ ।

कास्कीका जनप्रतिनिधि मन्त्री अधिकारीले पोखरा विमानस्थल जसरी पनि बनाउनुपर्ने र यो विमानस्थल निर्माण पछि सञ्चालन गर्न आर्थिक लाभ नगर्ने अवस्थामा छ । यो विमानस्थल संञ्चालन गर्न र निजगढ विमानस्थल बनाउँदै ढिलो गर्नुपर्ने सोचाईमा मन्त्री अधिकारी लागेका छन् ।

अधिकारीले पोखरा विमानस्थल सञ्चालनमा नआएसम्म निजगढमा विमानस्थल बनाउन सुरु नै नगर्ने उद्देश्यका साथ काभ्रेमा आन्तरिक विमानस्थल बनाउन आवश्यक गृहकार्य अगाडि बढाएको उल्लेख छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलमा हवाई चाप बढेको छ । यसलाई कम गर्न आन्तरिकलाई भने काभ्रेमा सार्ने भनेर उनले नै योजना बनाउन लगाएका हुन । जसका कारण काभ्रे क्षेत्रलाई पनि आफ्नो स्थानमा विमानस्थल पाएजस्तो, यस क्षेत्रका ठूला व्यापारिसँग चलखेल गर्न सकिन्छ । काभ्रेमा विमानस्थल बनिसक्दा पोखरा पनि बनेर सञ्चालनमा आइसक्ने रणनीनिमा मन्त्री लागेका उल्लेख छ ।

काभ्रेमा बनाइने विमानस्थल निजी स्वार्थ र कमिशनको चक्करमा आएकोले संसदको अन्तर्राष्ट्रिय सम्बन्धसमितले विमानस्थल रोक्नुपर्ने बताएको छ । समितिका सदस्य तथा निजगढ विमानस्थल अध्ययन उपसमितिका संयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागीडाँडामा विमानस्थल बनाउनै नहुने तर्क दिएका छन् ।

नेपालका अनुसार संसारमा सबै विमानस्थलमा अन्तर्राष्ट्रियसँगै आन्तरिक विमानस्थल हुने गर्छ । विदेशी तथा स्वदेशी यात्रु आउँदा आन्तरिक विमानस्थलकै प्रयोग गरेर अर्को गन्तव्यमा जाने गर्छ । त्रिभुवन विमानस्थल पनि विदेशी यात्रुले काठमाडौं बाहिर जान प्रयोग गर्ने आन्तरिक विमानस्थल यही भित्रैहुनुपर्छ ।

काभ्रेमा सार्नु हुँदैन नेपालले भने । यो विमानस्थल कसैले कमिसनको चक्करमा बनाउन लागेको हो यसलाई तुरुन्त बन्द गर्न पनि नेकप वरिष्ठ नेता नेपालले बताए ।

नेपालले भने ‘कुनै पनि देशबाट आएको यात्रु अन्तर्राट्रिय विमानस्थल काठमाडौंमा ओर्लिएर पोखरा, विराटनगर, धनगढी अन्य कुनै शहर जानु पर्दा सवारी साधन प्रयोग गरेर घन्टो खर्चेर पुन नागीडाँडा जानुपर्ने योजना नै गलत हो ।

यो विमानस्थल विकासका योजना नै कमिसनको चक्कर बाहेक अरु केही होइन’, नेपालले भने । नेपालले भने ‘संसारमा कुनै पनि देशमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै आन्तरिक विमानस्थल हुन्छ, नेपालमा किन अलग गर्न खोजिदैछ ?’

नेता नेपालको भनाइसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन गराइरहेको र निर्माणको लागि यो वर्षनै २५ करोड रुपैयाँ विनियोजन भएको विमानस्थल विवादमा तानिएको छ ।

विकासवादी भर्सेज वातावारणविद्
वारामा बनाउन लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विकासवादी भर्सेज वातावरणविद् बनेको छ । बिहीबार संसदको अन्तर्राष्ट्रिय समितिमा वन र वन्यजन्तु जोगाउने कि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्नेमा विज्ञबीच निकै चर्काचर्की परेको थियो ।

वातावरण विद् विमानस्थल बनाउनै नहुने, वन र वन्यजन्तु जोगाउनुपर्ने तर्क दिइरहँदा विकास वादीले भने जसरी पनि विमानस्थल बनाउनुपर्ने तर्क दिए । विकास निर्माण गर्दा वन मासिन्छ, वन काटिएपनि अन्तर्राष्ट्रिय अनुदान सहयोग नआउने चिन्ता वातावरणवादीको थियो ।

यो विमानस्थल कुनै पनि हालतमा बन्ने भएकोले कम क्षति गर्ने र विमानस्थल विरोधी तर्क नदिइ विमानस्थल निर्माण गराउने गरी अगाडि बढ्न नेपालले आग्रह गरेका छन् ।

उपसमितिका संयोजक पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विमानस्थल कुनै हालतमा रोकिँदैन, वातावरणीय क्षति कम गर्न के गर्न सकिन्छ, आफैं गएर हेर्छौं ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को विमानस्थल बनाउनुपर्ने आवश्यकता भएरै २७ वर्षअगाडि यसबारे अध्ययन थालिएको स्मरण गर्दै नेता नेपालले थपे, ‘हामी अझै अध्ययन नै गरिरहेका छौं । यो कस्तो देश हो, जहाँ अध्ययन मात्रै हुन्छ । काम अगाडि बढ्दैन ।’

विभिन्न बहाना झिकेर नेपालमा ठूला विकास परियोजना सफल हुन नदिन एकथरी मानिस सक्रिय रहेको भन्दै नेपालले बैठकको सुरुमै निजगढ विमानस्थल विरोधी तर्क र सुझाव नदिन विज्ञलाई आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया