टेलिकमको एडीएसएल लगानी खनाएको खन्याई, न प्रगति छ न गुणस्तरीय सेवा


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । पाँच वर्षअघि २०७० को तथ्यांकमा एडीएसएल प्रयोगकर्ताको संख्या एक लाख १६ हजार हाराहारीमा थियो। त्यसयता एडीएसएलले पाएको नयाँ प्रयोगकर्ता ९० हजार मात्रै हो। प्राधिकरणले भर्खरै सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा एडीएसल प्रयोगकर्ताको संख्या जम्मा दुई लाख पाँच हजार छ।

पछिल्लो समय उदायको प्रविधि फाइबर टू दी होम (एफटीटीएच) आधारित रहेर इन्टरनेट प्रयोगकर्ता उल्लेख्य बढेका छन्। २०७० सालमा ६० हजार पाँच सय ग्राहक संख्या रहेका फाइबर प्रयोगकर्ता चार लाख १७ हजार आठ सयभन्दा बढी पुगेका छन्। फाइबर ग्राहक पाँच वर्षमा झन्डै ६ गुणाले बढेका छन्।

तर, सोही अवधिमा एडीएसएल ग्राहक संख्या भने ७० प्रतिशतले वृद्धि भएको देखिन्छ। एडीएसएलको यो विकासक्रममा पनि धेरै उतारचढाब आएका छन्।

२०७० मा एक लाख १६ हजार ग्राहक रहेको एडीएसलको २०७१ सालमा एक प्रतिशतभन्दा बढीले घटेको छ। त्यसपछिका वर्षमा विस्तारै उकालो लागे पनि विकास भने सुस्त भएको देखिन्छ।

अर्थिक वर्ष ०७१/७२ मा ३१ प्रतिशतले वृद्धि भएको एडीएसएल ग्राहक संख्या आव ०७२/७३ मा भने १९ प्रतिशतले मात्र वृद्धि भएका छन्। त्यसपछिका वर्षमा ३.१४ र ११.१५ प्रतिशतले वार्षिक ग्राहक संख्या वृद्धि भएको तथ्यांकले देखाएको छ।

विकास क्रम सुस्त भए पनि नेपाल टेलिकमले भने यसलाई अझै मुख्य प्रोडक्ट भएको बताउँदै आएको छ। ‘एडीएसएल सेवा नेपाल टेलिकमको मुख्य प्रोडक्ट हो’, टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले भने, ‘टेलिफोन, मोबाइल इन्टरनरेट झैं एडीएसएल पनि कम्पनीको महत्वपूर्ण पाटो हो। यसलाई प्राथामिकताका साथ विस्तार गर्ने काम भइरहेको छ।’ उनले थपे, ‘यसको विकासका लागि टेलिकमले पछिल्ला वर्षमा धेरै काम गरिरहेको छ। नयाँ प्रविधिसमेत भित्र्याएको छ।’

एडीएसएल विकसित भई एडीएसएल २ प्लस आएको छ। यो २४ एमबीपीएस क्षमताको हुन्छ। यसबाट इन्टरनेटको गुणस्तर बढ्छ। उनले भने, ‘वितरणको पोइन्ट दूरी पनि विस्तारै कम गर्दै आएका छौं, यसले गुणस्तरमा वृद्धि गरेको छ।’

अधिकारीले सुरुमा एक सय २८ केभीपीएस गति प्रदान गर्दै आएको एडीएसएल प्रयोगकर्तालाई अहिले पाँच एमबीपीएस स्पिड क्षमता प्रदान गरिरहेको बताए।

सरकारको ब्रोडब्यान्ड नीतिको पहिलो लक्ष्य सहरी क्षेत्रमा १० एमबीपीएस गतिको ब्रोडब्यान्ड सेवा उपलब्ध गराउनेछ। तर, नेपाल टेलिकम फिक्स ब्रोडब्यान्ड एडीएसएलमार्फत बल्ल पाँच एमबीपीएसमा उक्लिएको छ। अन्नपूर्ण पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया