पशुपतिमा बार्षिक १३ करोड रुपैयाँ, हिसाबै नहुने भेटि सात वर्षमै ६८ करोड पुग्यो


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपियाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिनुभयो । २०६८ अघि पशुपतिनाथको भेटी गणना गर्ने परम्परा थिएन ।
यो वर्षमा साउन महिनाको सोमवार, बोलबम यात्रा, हरितालिका तीजपर्व र जनैपूर्णमामा प्राप्त भेटी भने गणना भइरहेको छ ।

पशुपति विकास कोषका अनुसार भेटी गणनामा १२ जनाभन्दा बढी कर्मचारी खटिएका छन् । तीनवर्ष अघि २०७२ सालको भूकम्प र यसपछिको एकवर्ष पशुपतिनाथलाई कम भेटी प्राप्त भएको थियो ।

वार्षिक १३ करोड रुपियाँको हाराहारीमा प्राप्त भेटी भूकम्पका बेला नौ करोड ७६ लाख रुपियाँमा सीमित हुन पुगेको थियो । २०६८ चैत २६ गते पशुपतिनाथ भेटीघाटी व्यवस्थापन नियमावली लागू भएपछि विगतमा यहाँको भेटी पशुपतिनाथका पुजारी तथा भण्डारीले बाँडीचुँडी भाग लगाई लैजाने परम्परा अन्त्य भएको थियो ।

नियमावलीपछि पशुपति क्षेत्र विकास कोषले भेटीलाई बैङ्कमा राख्ने प्रवन्ध गरको छ । मूलपुजारीसहित भण्डारीको तलव भत्ता, मन्दिर भित्रका निर्माण कार्य तथा व्यवस्थापनमा हुने खर्च भेटीमा प्राप्त रकमबाट गरेको छ ।

खर्च कटाएपछि हालसम्म २० करोड रुपियाँ भेटी बचत भएको छ भने झण्डै गणना भइरहेको साउने सोमवार तीज र जनै पूर्णिमा र दैनिक प्राप्त भेटी गरी यत्तिकै हाराहारीमा रकम वचत हुने अवस्था छ ।

उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार नयाँ गुरुयोजना तयार भएपछि मात्र नयाँ निर्माण कार्य अगाडि बढ्ने भएकोले अहिलेलाई भूकम्पले भत्काएको बिगारेको निर्माण कार्य मात्र कोषले गरिरहेको छ ।

गुह्येश्वरीको तीनवटा सत्तल, विश्वरुप रक्षेश्वर सत्तल, गोरखनाथका केही सत्तल कोषले पुनः निर्माण गरेको छ । पशुपति क्षेत्रमा पुनः निर्माण प्राधिकरण, आफ्नै स्रोत र सरकारका अन्य निकायले पनि निर्माण कार्य गर्दै आएका छन् ।

भूउपयोग सहितको गुरुयोजनाको सिलसिलामा नापी विभागले यस क्षेत्रको हालै सिमाङ्कन तथा रेखाङ्कन कार्य सम्पन्न गरेको छ ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार वृद्धाश्रम, योगकेन्द्र, ध्यानकेन्द्र, शास्त्रीय सङ्गितकलाशाला, गौशाला लगायतका निर्माण कार्य नयाँ गुरुयोजनामा प्रस्तावित छन् । समस्त हिन्दुको गन्तव्य स्थलको रुपमा यसलाइ विकास गरिँदैछ । गोरखापत्र दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया