बामदेवको चुनाव लड्ने योजना फेल, सांसद बन्ने योजनाबाट पछि हटे गौतम


आर्थिकन्यूज

काठमाडौं, असोज २६ । सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् ।

पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।

उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।

‘अहिलेको परिस्थिति र प्रतिक्रिया सुन्दा निर्वाचनमा सहभागी हुनेजस्तो वातावरण देखिएन,’ गौतमको भनाइ उद्धृत गर्दै काठमाडौं ७ का ती नेताले भने ।

स्थानीय नेता र काठमाडौंबाट निर्वाचित प्रदेशसभाका सदस्यहरूले बिहीबार गौतमलाई भेटेर छलफल गर्न खोजेका थिए । तर भेट्नका लागि आग्रह गर्नेलाई उनले तत्काल आफू त्यहाँ चुनाव लड्न नआउने जानकारी गराएका थिए ।

तर गौतमकै विषयमा बिहीबार काठमाडौंका प्रदेशसभा सदस्यहरूको भेला भएको थियो । भेलामा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित सबै प्रदेशसभा सदस्य उपस्थित थिए ।

‘हामीले अहिले स्थानीय वस्तुस्थिति बुझा चुनाव गर्नेजस्तो देखिएको छैन,’ काठमाडौं ७ बाट प्रदेशमा निर्वाचित प्रकाश श्रेष्ठले भने, ‘यही अवस्थाबारे पार्टी केन्द्रलाई जानकारी गराउने छौं ।’ चुनावको एक वर्ष नहुँदै उपचुनाव गर्नु जनमतको पनि विपक्षमा हुने श्रेष्ठले बताए ।

पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो । राजीनामा दिने मनस्थिति बनाएका सांसद मानन्धरलाई आफ्नो निर्णय सच्याउन उनीहरूले सुझाव दिएका छन् ।

‘अहिलेको सन्दर्भमा मुलुकमा चुनाव गर्नुपर्ने कुनै आवश्यकता छैन,’ तत्कालीन एमालेका काठमाडौं अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद कृष्ण राईले भने, ‘रामवीर मानन्धरलाई पनि पार्टीमा दिएको राजीनामा फिर्ता गर्न हामीले अनुरोध गरेका छौं ।’ कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया