भारतीय ओभरलोड बोकेका गाडीलाई संरक्षण गर्दै भलाई कोष


आर्थिकन्यूज/पुनहरि बेलबासे

भैरहवा, असोज २५ । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ट्रक व्यवसायीहरुलाई धरासायी बनाउन खोजको आरोप ट्रक व्यवसायीहरुले लगाएका छन् । नेपाली ट्रक व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा धरासायी बनाउने उद्देश्यले भारतीय ट्रकलाई संरक्षण गरेको व्यवसायीको गुनासो छ ।

भारतीय गाडीले ओभरलोड बोक्दा सडकको आयु कम हुदै जानु का साथै सडक भत्कने हुँदा सम्म पनि सरोकार वालाहरुले बेवास्ता गरेको ट्रक व्यवसायीहरुको गुनासो रहेको छ । यस अघि पनि नेपालका ट्रक व्यवसायी धरापमा पर्ने भएकोले नेपालमा प्रवेश गर्ने भारतीय गाडीलाई ओभरलोड बोक्न नदिन विभिन्न आन्दोलन पनि भएका थिए ।

आन्दोलन पश्चात भन्सारबाट नै भारमिलान गर्ने र भन्सारबाट लुम्बिनी औद्योगिक करिडोर नजिकै भएकोले करिडोर सम्म मात्र ओभरलोड गाडिहरु जान पाउने र अन्यत्र जान नपाउने सहमति भएको ट्रक व्यवसायीहरु बताउँछन् ।

गत भदौ ७ गते यातायात मजदूर तथा व्यवसायी भलाई कोषले भारतीय नम्बर प्लेटका सवारी साधनहरुको ट्रिप शुल्क तोकेर भारतीय ओभरलोड बोकेका गाडीलाई सहज रुपमा नेपालमा हिड्ने व्यवस्था मिलाएको छ ।

भलाई कोषले प्रवेश शुल्क भारु १ हजार देखि १ हजार ६ सय रुपैँया, मासिक प्रति सवारी साधन भारु २ हजार देखि ३ हजार २ सय, हेटौडा, मुग्लिन, काठमाडौँ, पोखरा तथा अन्य क्षेत्रमा भारु ८ सय देखि १ हजार २ सय ८० ट्रिप शुल्क तोकेको छ । नारायणगढ सम्म भारु ५ सय देखि ८ सय, रुपन्देही, कपिलवस्तु र नवलपरासी सम्मको लागि प्रति ट्रिप भारु २ सय ५० देखि ४ सय रुपैँया लिने गरेको छ ।

नेपाली ट्रक यातायात व्यवसायीमा सिन्डिकेट नरहेको बताउँदै ओभरलोड बोकेर नेपाल भित्रने भारतीय गाडीलाई चल्न नदिने आफूहरुको उद्देश्य रहेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताउनुभयो । उहाँले हामी ट्रक व्यवसायी ओभरलोड बोक्ने गाडी निरुत्साहित पार्छौ भन्ने अभियानमा लागि रहेको बेला भलाई कोषले भारतीय ओभरलोड बोक्ने गाडीलाई मलजल गर्ने गरेको बताउनुभयो ।

भारतीय ओभरलोडका गाडिहरुलाई यसरी संरक्षण गर्दा नेपाली व्यवसायीहरु मारमा पर्ने बताउनुहुन्छ पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी संघका अध्यक्ष टीकाराम गौतम ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोषले यसरी भारतीय गाडी सँग रकम लिने ऐनमा उल्लेख नभएको लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलको दाबी छ । राज्यको नियम कुनै पनि सवारी साधनको कर कट्टि गर्दा भ्याट बिल काट्नु पर्नेमा भ्याट बिनानै ओभरलोडका गाडीलाई संरक्षण गर्ने हेतुले भलाई कोष लागेको उनको गुनासो छ ।

उता बाणगंगा ट्रक यातायात व्यवसायी समिति कपिलबस्तुका अध्यक्ष विष्णु न्यौपानेले पनि यातायात मजदूर तथा व्यवसायी भलाई कोषले गरिरहेको यो कार्य नियम विपरित रहेको दावी गर्छन ।

यता यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले भने ट्रिप शुल्क काटेर नेपाल प्रवेश गरेपछि ती गाडीहरु दुर्घटना भएमा सहयोग गर्ने बताउदै नेपाल प्रवेश गरेका भारतीय गाडीको दुर्घटना भएमा हामीले हेर्छौँ, ओभरलोडका गाडी होस् अथवा भारमिलान गरेको गाडी होस् हामीले त्यस विषयमा कुनै चाँसो दिएका छैनाँै, किनकी ओभरलोड हेर्ने निकाय अन्य छन् उनले भने ।

तर भारतीय नम्बर प्लेटका सावारी साधनलाई ट्रिप शुल्क काटेको आधारमा दुर्घटना भएमा क्षतिपूर्ति दिने क्षेत्राधिकार यातायात मजदूर तथा व्यवसायी भलाई कोषसँग नरहेको स्रोतको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया