ललिपुरमा सवारी साधन र यात्रु हिँड्दामात्रै बल्ने स्मार्ट बत्ती जडान गरिँदै


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । ललिपुर महानगरपालिकाले मुख्य सडकमा स्मार्ट बत्ती जडान गर्ने भएको छ । लगनखेल, धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ’, उनले भने– ‘अब जडान गरिने बत्ती यात्रु वा सवारी चालक आएपछि मात्रै बल्छ त्यसपछि आफैं निभ्छ ।’ बत्ती बाल्न र निभाउनका लागि स्वीचको प्रयोग गर्नु पर्दैन । मंगलबजार, पाटनढोकालगायत पर्यटकको आगमन हुने ठाउँलाई महानगरपालिकाले स्मार्ट बत्ती जडानका लागि प्राथमिकतामा राखेको छ ।

‘भरसक महानगरपालिकाले दशैं अघिनै यी स्थानमा बत्ती जडान गर्ने गरी कार्यक्रम अघि बढाएको छ,’ उनले भने । पहिलो चरणमा पुल्चोकमा बत्ती जडान कार्य सकिएपछि अर्काे चरणमा लगनखेलसम्म बत्ती जडान हुने उनको भनाइ छ ।

सडकमा स्मार्ट बत्ती जडान गर्न आवश्यक देखिएको स्थानमा बोलपत्र आह्वान भइसकेको छ । सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता महर्जनले बताए ।

सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ ।

‘यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने सडकमा यात्रु र सवारी साधन नहुँदा बत्ती आफैं निभ्दै जान्छ ।’ चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने उनले बताए ।

यसले गर्दा सीसीटिभीबाट पनि सडकका दृश्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने उनले बताए । महानगरपालिकाले सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्ने योजना बनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताए ।

यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । भरसक यी क्षेत्रमा दशैं अघि नै बत्ती जडान कार्य सकिने छ । कुपण्डोलबाट लगनखेलसम्म जिल्लामा सबैभन्दा बढी सवारी चाप रहेको छ । बत्ती जडानपछि स्थानीयबासी, पैदल यात्रु, चालक र पर्यटक सबैलाई ‘स्मार्ट’ बत्तीले सहज बनाउने उनले बताए ।

महानगरले स्थानीयवासीको मागकै आधारमा विद्युत् प्राधिकणसँगको सहकार्यमा बत्ती जडान कार्य अघि बढाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया