बजेट निकासा नहुँदा स्थानीय तहमा समस्या


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । आर्थिक वर्ष २०७५/७६ का लागि संघीय सरकारले पठाएको अनुदान निकासा नहुँदा सर्लाहीका स्थानीय तहहरूमा समस्या भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाबाट बजेट निकासा नहुँदा समस्या भएको स्थानीय तहका अधिकारीहरुको भनाइ छ । कर्मचारीलाई तलब खुवाउने एवं विभिन्न कार्यक्रमको बजेट भुक्तानीका लागि समस्या भएको हाे ।

जिल्लास्थित ११ वटा नगरपालिका एवं ९ वटा गाउँपालिका गरी २० स्थानीय तहमध्ये हालसम्म १४ वटाको बजेट निकासा भएको छैन ।

अघिल्लो आर्थिक वर्षको फाँटवारी पेश नगर्ने स्थानीय तहको बजेट निकासा रोकिएको प्रमुख कोष तथा लेखा नियन्त्रक जगतप्रसाद थपलियाले जानकारी दिए ।

उनले हालसम्म मलंगवा, बरहथवा, बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाको मात्र बजेट निकासा गरिएको बताए ।

बजेट निकासा नहुँदा दसैंको मुखमा कर्मचारीले तलब नपाउने अवस्था आएको छ । चालू आर्थिक वर्षका लागि सर्लाहीका स्थानीय तहहरुलाई संघीय सरकारबाट वित्तीय समानीकरण र सःशर्त अनुदान शीर्षकमा ४ अर्ब ६९ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया