एउटा बोइङ बेचेर दुईवटा न्यारोबडी थप्दै वायुसेवा निगम, तीन महिनापछि बोइङ नउडाउने


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एउटा बोइङ जहाज पनि बेचिने भएको छ । यो जहाज बेच्न सिंगापुरको एक कम्पनीले जहाजको मूल्यांकन सकेको छ । जहाजको मूल्यांकन सकिएको भएपनि प्रतिवदेन भने आइनसकेको वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।

अमेरिकी कम्पनीले निर्माण गरेको यो जहाज वायुसेवा निगमले ३ दशक उडानमा प्रयोग गरिसकेको छ । अब यो जहाज तीन महिनापछि (डिसेम्बर)बाट नउडाउने तयारी भएको सिग्देलले विहीबार आर्थिक न्युजसँग भने । ‘निगमसँग भएको २ वटा बोइङमध्ये यस अघि नै एउटा बेचिसकिएको छ । अब बाँकी एउटा पनि बिक्री गर्ने र एयरबसको मात्रै जहाज उडाइने योजना बनेको छ ।’

बेच्नको लागि मूल्यांकन भएको यो बोइङ उडाउँदा जहाजको उडान आवर बढ्ने हुँदा जहाजलाई ग्राउन्डेड गरेरै बिक्रीमा राख्नुपर्ने हुन्छ । आगामी डिसेम्बरसम्म जहाज उडाउने र त्यसपछि नउडाउने गरी मूल्यांकन भएको पनि निगमले जानकारी दिएको छ । मूल्यांकन समितिको प्रतिवेदन पछि मात्रै यसलाई डिसेम्बरपछि के गर्ने भन्ने विषयमा जानकारी दिन सकिने पनि निगमको भनाइ छ ।

निगम तीन दशक लामो बोइङ युगलाई बिसाउने तयारीमा छ । निगमले अब एयरवसका जहाज मात्रै उडाउने छ भने बोइङ निगमका लागि एउटा इतिहास हुने निश्चित छ । बोइङ जहाज लामो समय उडान गरेको पुरानो भएका कारण मर्मत खर्च बढी र अपरेश खर्च बढेका कारण निगमले लागत नै बढी भएको भन्दै बोइङ विस्थापन गर्न थालेको हो ।

निगमसँग १९० सिट क्षमताको बी ७५७ जहाजको ९ एन एसीबी नामक एउटा मात्रै बोइङ जहाज छ । यो जहाजलाई बिक्री गर्ने र हाल उडानमा प्रयोग गरिरहेको एयरवसको १५८ सिट क्षमताको ए३२०–२०० सिरिजकै अर्को २ वटा थप गर्ने भएको छ ।

२ वटा एयरवसको न्यरोबडी जहाज थप्न निगम सञ्चालक समितिबाट स्वीकृत पाइसकेको पनि प्रवक्ता सिग्देलले जानकारी दिए । अब निगमले यो जहाज खरिद गर्न आवश्यक प्रक्रिया मिलाउने, स्रोतको व्यवस्थापन गर्ने, अर्थ मन्त्रालयको स्वीकृती लिने, सरकारको जमानीमा ऋणको खोेजेरै जहाज ल्याउने प्रक्रिया अगाडि बढाउने भएको छ ।

निगमका अनुसार ऋणमा खरिद गरेको हालकै २ वटा न्यारोबडी र २ वटा वाइडबडीले उडान गरिरहेका छन् । अब २ वटा थप गरेर निगमले आफ्नो बजार हिस्सा बढाउने र निगमको शाख पनि बचाउँने गरी तयारी गरिरहेको उल्लेख छ ।
निगमले एयरवस मात्रै जहाज उडाउने भन्दै एक वर्ष अगाडि निगमसँग भएको दुईमध्ये एउटा बी ७५७ को ९ एन एसीए नामक जहाज बिक्री गरिसकेको छ ।

यो कम्पनीसँग रहेको र हाल उडानमा रहेको १९० सिट क्षमताको अर्को जहाज पनि बिक्री गर्ने करिब अन्तिम तयारीमा निगम पुगेको छ । यो निगमले एयरवस ल्याएपछि जहाज पुरानो जहाज बिक्री गर्ने, उडान सुरक्षा तथा स्याण्डर्ड, प्राविधिक कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मान्यता अनुसार एकै प्रकारको मात्रै जहाज सञ्चालन गर्ने भएको छ ।

एउटा कम्पनीले दुई प्रकारको जहाज उडाउँदा सबै व्यवस्था छुट्टाछुट्टै गर्नुपर्ने र इन्जिनियर तथा पाइलट पनि एउटा प्रकारबाट अर्कोमा जान पाउँदैनन् । निगमको एयरवस रहेन पाइलट तथा इन्जिनियरले बोइङ उडाउन नपाउने र बोइङले एयरबस उडाउन पाउँदैनन् । यो संसारभकै लागि एउटै नियम हो । यही नियमलाई मान्न पनि निगमले ३ दशक लामो बोइङ युगलाई अन्त्य गर्दै अब एयरवस युगमा मात्रै दोडने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया