चाडबाडमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, अधिक महँगीको मारमा आम उपभोक्ता


आर्थिकन्यूज

काठमाडौं, असोज २५ । चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ । व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन् । यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ ।

भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ । हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ । थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन् ।

चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन् । तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी गरे ।

ढुवानी खर्च वृद्धि भएको, आन्तरिक उत्पादनमा कमी आएको र उत्पादन हुने मौसम सकिएकाले तरकारीजन्य वस्तुको मूल्य बढेको अर्का थरी व्यापारीको तर्क छ । महँगीको पहिलो असर भान्सामा परेको छ ।

भान्सामा साँझ बिहान पाक्ने हरियो तरकारीमा औसतमा १५ देखि २० प्रतिशत मूल्य बढाइएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार यो वर्ष अत्यधिक वर्षाका कारण राजधानीछेउका जिल्लामा उत्पादन कम भएको जनाएको छ । त्यही कारण बजारभाउ बढेको उसको दाबी छ ।

राजधानीमा खपत हुने कूल तरकारीमध्ये झण्डै ६० प्रतिशत धादिङ, काभ्रे, मकवानपुर र ललितपुरबाट आउने गर्छ । यो वर्ष ती जिल्लाबाट त्योभन्दा कम आपूर्ति भएको बताइएको छ ।

‘माग बढी र आपूर्ति कम हुँदा स्वाभाविक रूपमा वस्तुको मूल्यवृद्धि हुन्छ,’ महासंघ अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘हरियो तरकारीमा त्यही भएको हो ।’ तरकारीमा प्रतिकिलो १० देखि १५ रूपैयाँ वृद्धि भएको छ ।

तरकारीमा आलु, परवल तथा लहरेबाली अन्तर्गत बोडी, सिमी, घिरौंला, करेला, लौंका, सिमी, भिण्डी, परवल तथा काउलीको मूल्य अकासिएको छ । आलु केही सिमित स्थानबाट मात्रै बजार भित्रिएको छ ।

पुराना आलु करिब सकिएको छ । आलु प्रतिकिलोमा १० रूपैयाँ मूल्य बढेको छ । ‘भारत, भुटान र बंगलादेशमै अहिले आलुको मूल्य अचाक्ली वृद्धि भएको छ,’ घिमिरेले भने, ‘आयात गर्दा डलरमा कारोबार गर्नुपर्छ । डलरको विनिमय दर पनि अकासिँदै गएकाले मूल्यवृद्धि भएको हो ।’

चालु आर्थिक वर्षदेखि सरकारले कृषिजन्य वस्तुको आयात गर्दा भन्सार शुल्क पाँच प्रतिशत बढाएर १० प्रतिशत पु¥याएको छ । सरकारले सार्वजनिक सवारी भाडामा १० प्रतिशत वृद्धि गरेका कारण पनि ढुवानी खर्च बढेको व्यापारीको दाबी छ । थोकमा प्रतिकिलो ३५ रूपैयाँमा पाइने आलुको मूल्य ४५ पुगेको छ ।

गोलभेंडाको मूल्य पनि नपत्याउने गरी अकासिएको छ । गोलभेंडा ‘अफ सिजन’ भएकाले मागअनुसार आपूर्ति नभएको हो । अघिल्लो साता ४५ रूपैयाँमा पाइने गोलभेंडा ७५ रूपैयाँमा पुगेको छ ।

६० रूपैयाँ प्रतिकिलोको बोडी ८० पुगेको छ । ७० रूपैयाँको सिमी ९० मा पुगेको छ । लौका ३० रूपैयाँ पाइन्थ्यो, दोब्बर बढेर ६० भएको छ । घिरौला र भिन्डी, परवलको मूल्य बढेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडपर्वको मुखमा आएर व्यापारीले मूल्य वृद्धि गरेको स्वीकार गरे । उनले केही व्यापारीले आफूखुशी मूल्य बढाएको र केहीले प्रक्रियागत कारणले बढाएको बताए ।

‘अस्वाभाविक मूल्यवृद्धि गर्न पाइँदैन,’ ढकालले भने, ‘निकै गुनासो आइरहेको छ । के कारणले वृद्धि भएको हो, विश्लेषण गरिरहेका छौं ।’

अचाक्ली मूल्यवृद्धिको अनुगमन गर्न मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागलाई परिचालन गरेको छ । मन्त्रालयले थोक र खुद्रा विक्रेताको मूल्य विवरण विश्लेषण गर्न थालेको उनको भनाइ छ । अन्नपूर्ण पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया