योजना आयोगले परियोजना बैंक बनाउँदै


आर्थिकन्यूज

काठमाडौं, असोज २४ । राष्ट्रिय योजना आयोगले परियोजना बैंक बनाउने भएको छ । १५औं योजनाको तयारी र १४औं योजनाको समीक्षामा जुटेको आयोगले जतिसक्दो छिटो प्रोजेक्ट बैंक बनाएर परियोजना प्राथमिकता निर्धारण गर्ने तयारीमा जुटेको हो ।

देशमा समृद्धि प्राप्त गर्न कस्ता र कुन प्रकृतिका परियोजना निर्माण गर्न सकिन्छ, कुन स्थानमा कस्तो सम्भावना छ । परियोजना लागत कति लाग्छ । कसले परियोजना निर्माणमा सहयोग गर्न सक्छन् । सरकारले कुन–कुन र कस्ता परियोजना निर्माण कति अवधिमा सक्ने विषय समेटिने आयोगले जनाएको छ । कस्ता परियोजनामा निजी क्षेत्रले निर्माण गर्ने, कस्तामा विदेशी सहयोग लिनेलगायका विषय समेटेर परियोजना बैंक बनाउन लागिएको आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले बताए ।

‘हामी परियोजना बैंक बनाउने तयारीमा जुटेका छौं’, उनले भने–‘जतिसक्दो छिटो यसको खाका तयार पारेर सरकारलाई बुझाउँछौं ।’ साथै पाँच वर्षे १५ वर्षे र २५ वर्षे दीर्घकालीन योजना निर्माणमा समेत निर्माण उनले बताए ।

‘मुलुकमा राजनीतिक संक्रमणकाल अन्त्य भएको छ,’ उनले भने–‘अब बन्ने योजना पञ्चवर्षीय हुनेछ ।’ राजनीतिक संकटका कारण अन्तरिम समयमा १०औं पञ्चवर्षीय योजनापछि त्रिवर्षीय योजना बने । हाल आवधिक योजना पनि त्रिवर्षीय नै हो । अब दीर्घकालीनका साथै मध्यकालीन योजनाअनुसार कार्य सम्पादन हुनेछ ।

अन्तरिम समयमा तीनवटा त्रिवर्षीय योजना सम्पन्न भएको छ । राजनीतिक स्थायित्वसँगै सरकारले पञ्चवर्षीय योजना लागू गर्ने तयारी गरेको हो । ‘१५औं योजनाको खाका स्वीकृत भइसकेको छ, हामी यसमा तीव्रताका साथ काम गरिरहेका छौं’, उनले भन्छन्–‘१५औं योजना निर्माणसहित १४औं योजनाको समीक्षाको तयारी भइरहेको छ ।’

आयोगले दीर्घकालीन योजना तयार पार्न विभिन्न क्षेत्रको तथ्यांकसमेत संकलन गर्ने भएको छ । क्षेत्रगत तथ्यांक संकलन गरी तथ्यगत विवरण तयार पार्न ‘नेसनल डाटा प्रोफाइल’ तयार पार्न आयोग लागेको हो ।

यस्तै आयोगले स्थानीय तह र प्रदेश सरकारको समन्वयका लागि योजना कार्यविधि पनि बनाउने भएको छ । प्रदेश र स्थानीय तहलाई विकासमा समन्वय गर्न क्षमता अभिवृद्धिसम्बन्धी विशेष कार्यक्रमको व्यवस्था गर्न लागेको हो ।
त्यस्तै आयोगले अनुगमन तथा मूल्यांकन कार्यविधि बनाउने तयारी समेत गरेको छ ।

‘देशमा आवश्यक जनशक्ति तयार पार्न शिक्षा मन्त्रालयसँग समन्वय गरेर आयोगले क्षेत्रगत जनशक्ति तयार पार्ने तयारी गर्न लागेको हो । देश विकास कतिपय क्षेत्रमा पर्याप्त जनशक्ति भएको र कतिमा आवश्यकभन्दा अत्यन्त न्यून भएकोले क्षेत्रगत रुपमा जनशक्ति तयार पार्ने लक्ष्यका काम अघि बढाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया