नागढुङ्गा सुरुङमार्ग बनाउँन नेपालीसहित ४२ वटा कम्पनी इच्छुक, आवेदन बुझाउने समय अझै १५ दिन थपियो


आर्थिकन्यूज
नागढुङ्गा सुरुङमार्गको फाइल स्केच

काठमाडौं, असोज २४ । नेपालकै पहिलो सडक सुरुङमार्गको रूपमा निर्माण गर्न लागिएको नागढुङ्गा सुरुङमार्ग बनाउँन ४२ वटा कम्पनी इच्छुक देखिएका छन् । सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग बनाउँन दुई महिना अगाडि मागेको प्रस्तावको थियो ।

प्रस्ताव बुझाउने अन्तिम दिन हिजो मंगलबारसम्ममा ४२ वटा कम्पनीले टेण्डर डकुमेन्ट खरिद गरेको महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले आर्थिक न्युजलाई जानकारी दिए । श्रेष्ठले भने ‘सुरुङमार्ग बनाउन आवेदन दिन चाहने कम्पनीमा सबैभन्दा बढी चिनियाँ रहका छन् ।

चीनको दुई दर्जन भन्दा बढी कम्पनीले यो सुरुङमार्ग बनाउन टेण्डर डकुमेन्ट लगेका छन’ । प्रस्ताव पेस गर्न चाहने कम्पनीले महाशाखाकै कार्यालयबाट २० हजार रुपैयाँ तिरेर बिडिङ डकुमेन्ट खरिद गरेका हुन ।

यो सुरुङमार्ग बनाउन चाहनेमा एक दर्जन नेपाली कम्पनीसमेत रहेको महाशाखाले जानकारी दिएको छ । नेपाली कम्पनीले पनि यो आयोजना बनाउन इच्छा देखाउँदै टेण्डर डकुमेन्ट खरिद गरेका छन् ।

टेण्डर बुझाउन धेरै डकुमेन्ट अध्ययन गर्नुपर्ने र प्रक्रिया पुराउन समय अपुग भएकोले महाशाखाले बुधबारबाट १५ दिनको समय थप गरेको श्रेष्ठले बताए । महाशाखाले गत साउन २५ मा ६० दिने समय तोकेर बोलपत्र आह्वान गरेको थियो ।  थपिएको १५ दिन भित्र डकुमेन्ट लगेका र अझै इच्छुक कम्पनी भए तिनल पनि आवेदन दिइसक्नुपर्ने हुन्छ ।

महाशाखाका अनुसार सबै भन्दा बढी चासो देखाउनेमा चीन पहिलो नम्बरमा छ । त्यसपछि नेपाली कम्पनी छन् । जापानीज, भारतीय, कोरियाली र टर्कीससहितका कम्पनीले पनि बिडिङ डकुमेन्ट खरिद गरेर लगेका छन् । महाशाखाले थप गरेको समयमा अझै केही कम्पनी थप हुन सक्ने जानकारी पनि दिएको छ ।

काठमाडौंबाट थानकोट हुँदै बाहिरिने र भित्रने सवारीसाधानको सहजताका निम्ति नागढुंगामा सुरुङमार्ग बनाउन करिब १६ अर्ब रुपैयाँसम्मको ठेक्काका लागि प्रस्ताव माग भएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ऋण सहयोगमा यो सुरुङमार्ग बनाउन लागिएको हो । थानकोटबाट धादिङको सिस्नेखोलासम्मको २.६८ किलोमिटरको सुरुङमार्ग बनाउन सरकारले यस अघि नै जाइकासँगको ऋण स्वीकार गरिसकेको छ । सोही ऋणअनुसार सरकारले साइट क्लियर गर्ने र ऋणरकमबाट सुरुङमार्ग बनाइने छ ।

महाशाखाले मागेको प्रस्ताव अनुसार एउटै कम्पनीले सुरुङमार्ग र सुरुङमार्ग प्रवेश गर्ने दुबै दुवैतर्फको सडक बनाउनुपर्छ । सुरुङमार्ग र सडक तोकिएको मापददण्ड र समयभित्रै सम्पन्न गर्नुपर्ने शर्त पनि प्रस्तावनामा राखिएको छ ।

सरकारले सुरुङमार्ग बनाउँन जाइकासँग १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) ऋणसको सहमति गरेको छ सहमति अनुसार यो ऋण आगामी ४० वर्षका निम्ति बार्षिक ०.१ प्रतिशतका दरले ब्याजसहितको सावा तिर्दै जानुपर्नेछ ।

यो प्रस्तावको मूल्यांकन गर्ने, आवश्यक स्वीकृतिका निम्ति ऋणदाता जाइका पठाउने र ठेकेदार छनोट गर्ने प्रक्रिया सन् २०१९ को जनावरी (६ महिनासम्म)लाई तोकिएको छ । त्यसपछि ४२ महिनाको समय दिएर उपयुक्त ठहरिएको एक ठेकेदारलाई यो सुरुङमार्ग निर्माण गर्न दिइने छ ।

आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेतछापसम्मको २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५६५ मिटर पक्कि सडक बनाउनपर्छ । सुरुङमार्गले हालको सडकबाट जानुभन्दा सुरुङबाट जाँदा ४ किमि बाटो छोटो पर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया