हिमालय ऊर्जाकोको आईपीओ निष्काशन कात्तिक ६ देखि, न्युनतम ५० देखि अधिकतम ४९ सय कित्तासम्म आवेदन दिन पाइने


आर्थिकन्यूज

काठमाडौं, असोज २४ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाबासीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका निम्ति प्रतिकित्ता १ सय रुपैयाँका दरले ९ लाख ९० हजार कित्ता शेयरको कात्तिक ६ गतेबाट आईपीओ निष्काशन गर्दै छ ।

छिटोमा २० गतेसम्म र ढिलोमा मंसिर ५ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्ने यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।

यो आयोजानाको शेयरको लागि न्यनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने उल्लेख छ ।

आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नंम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दालाई ३ लख ९६ हजार कित्ता शेयर दिने भएको छ । प्रभावित क्षेत्रलाई छुट्याएको शेयरमध्यबाट यी दुई क्षेत्रको तीन वटा वडाको लागि उक्त शेयर ४० प्रतिशत छुट्याएको उल्लेख छ ।

बाँकी ६० प्रतिशत अर्थात ५ लाख ९४ हजार कित्ता शेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको १ देखि ५ सम्म र जिरी नगरपालिकाको वडा नं ३ लाई भएको उल्लेख छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री वितरण गरेको शेयर सर्वसाधारणका निम्ति निष्काशन गरेर बाँडफाँडसमेत भएको तीन वर्ष पूरा नभएसम्म बिक्री गर्न नपाईने शर्त पनि हिमाल ऊर्जाले तोकेको छ ।

हिमाल ऊर्जाले रामेछाप र दोलखा जिल्लाको सिमानामा बग्ने खिम्ति खोलामा उपल्लो खिम्ति १२ मेगावाट र अपर खिम्ति ७ मेगावाटको गरी दुई वटा आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्तिको लागत १ अर्ब ९१ करोड र अपर खिम्तिको लागत १ अर्ब २३ करोड रुपैयाँ रहेको उल्लेख छ ।

यो आयोजनाले २०७४ चैत्र ३० सम्म ५५ प्रतिशत निर्माण गरिसकेको छ । यसले आगामी बैशाखबाट व्यवसायीक उत्पादन सुरु गर्ने लक्ष्य अगाडि सारेको छ ।

९९ करोड अधिकृत पूँजी रहेको यो कम्पनीको चुक्ता पूँजी ७४ करोड २५ लाख छ । यसले २४ करोड ७५ लाख को पूँजी भने शेयर निष्कासनबाटै बढाउने भएको छ ।

आयोजना प्रभावितलाई शेयर दिएपनि कम्पनीको पूँजी ८४ करोड १५ लाख रुपैंयाँ पुग्ने छ । बाँकी १४ करोड ८५ लाख रुपैयाँ सर्वसाधारणलाई शेयर निष्कासन गरेर जम्मा गर्ने जानकारी पनि हिमाल ऊर्जाले दिएको छ ।

यो कम्पनीमा संस्थापकको ७५ प्रतिशत, आयोजना प्रभावित सर्वसाधारणको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत शेयर स्वामित्व हुने छ ।

गत आव २०७४/७५ मा ८३ लाख १० हजार घाटा गएको यो कम्पनीले चालू आवमै ३३ लाख ३ करोड ३० लाख फाइदा गर्ने अनुमान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया