दशैँका लागि १६ हजार भेडाच्याङ्ग्रा मुस्ताङबाट


रासस

मुस्ताङ, असाेज २३ । दर्शैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौंलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।

भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए।

दशैंका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट १ हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । ५५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकेको संस्थानको जोमसोमस्थित कार्यालयका प्रमुख गङ्गाप्रसाद शाहले बताए । थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ ।

मुस्ताङमा एउटा च्याङग्रा १७ हजारदेखि २२ हजार तथा भेडा १४ हजारदेखि १७ हजार रुपैयाँका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो ६५० का दरले बिक्री गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया