थाइल्याण्डविरुद्ध नेपालको सानदार जित


आर्थिकन्यूज

काठमाडौं, असोज २१ । मलेसियामा जारी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्र ‘बी’को तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १४० रनले पराजित गरेको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८.५ ओभरमा १८ रन जोड्दा ९ विकेट गुमाएको थियो । जितबाट नेपाल १ विकेट टाढा हुँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल सम्भव नहुँदा नेपाल डिएल मेथडमा विजयी भयो ।

थाइल्यान्डको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । उनले आठौं ओभरमा ३ विकेट लिएका थिए । सन्दीपले ३ ओभरमा १ मेडनसहित ८ रनमात्र खर्चिए । यसअघि शनिबार पनि सन्दीपले मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा ५ विकेट लिएका थिए ।

करण केसीले ३ र ललित राजवंशीले १ विकेट हातपारे । थाइल्यान्डका ५ ब्याट्सम्यान शून्य रनमा आउट भए ।

त्यसअघि वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७२ रन जोडेको थियो । नेपालका लागि करण केसीले नटआउट ४० रन जोडे । ओपनर अनिलकुमार साहले २५ रन जोडे । मध्यक्रमकका ब्याट्सम्यान शरद भेषवाकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे ।

आरिफ शेख ८ र कप्तान पारस खड्का ५ रनमै आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रनमै आउट भएका थिए ।

ब्याटिङ र बलिङमा योगदान दिएका करण केसी म्यान अफ दि म्याच भए ।

यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा आयोजक मलेसियालाई समान ८-८ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया