चुलिँदो अमेरिकी व्यापार घाटा, अफैंले खनेकाे खाल्टाेमा पर्दै अमेरिका


आर्थिकन्यूज

एजेन्सी, असाेज २२ । आयातमा गरेको वृद्धिले लगातार तीन महिना अमेरिकाको व्यापार घाटा चुलिएको छ । चीन र मेक्सिकोबाट आयात हुने सामानमा अहिलेसम्मकै बढी मूल्यवृद्धि भएको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयका अनुसार व्यापार अन्तर ९एक देशले आयात र निर्यात गर्ने मूल्य० अहिलेसम्मकै धेरै भएको जनाएको हो । व्यापार अन्तर जुलाईमा ५० अर्ब डलरबाट बढेर अगस्टमा ५३ अर्ब डलर नाघेको छ । यो अन्तर फेब्रुअरीयताकै सबैभन्दा बढी हो ।

मोबाइल र गाडी बढी भित्रिएका कारण शून्य दशमलव ६ प्रतिशतले आयात वृद्धि भएको छ भने निर्यात शून्य दशमलव ८ प्रतिशतले घटेको छ । अमेरिका आयात हुने सामग्रीको कुल मूल्य २ खर्ब ६२ अर्ब डलर छ । निर्यात हुने सामानको कुल मूल्य २ खर्ब ९ अर्ब डलर रहेको छ ।

अमेरिकालाई मेसिनरी र कारलगायतका सामानको आयातका कारण मात्रै ७६ अर्ब डलर घाटा छ । यो व्यापार घाटालाई कम गर्न बैंकिङ, पर्यटनलगायतका सेवा क्षेत्रमा भएको साढे २३ अर्ब नाफाले सहयोग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार घाटालाई कम गर्ने भन्दै अमेरिका आयात हुने स्टिल, आल्मुनियम र धेरै चिनियाँ सामानमा भन्सार लगाएका छन् । अमेरिकी यो कदमलाई व्यापार साझेदार चीनले पनि जस्तालाई त्यस्तै गरी जवाफ दिएको छ ।

राष्ट्रपति ट्रम्पको नीतिको असर अहिलेसम्म अर्थतन्त्रमा नदेखिएको विश्लेषकहरू बताउँछन् । अमेरिकाले मुख्यतस् चीन र मेक्सिकोसँग आयात र निर्यात अन्तरका कारण व्यापार घाटा बेहोर्दै आएको छ ।

अगस्टमा चीनसँगको घाटमा करिब ५ प्रतिशतले बढेको छ । मेक्सिकोसँगको घाटा भने ५६ प्रतिशतभन्दा बढी छ । अमेरिकाले चीनसँग करिब ३९ अर्ब डलर बराबर घाटा बेहोर्दै आएको छ । मेक्सिकोसँग भने यो करिब ९ अर्ब डलर छ । ट्रम्पले चीनसँगको व्यापार अभ्यास गलत भएको आरोप लगाउँदै आएका छन् । यस्तै, ओबामा प्रशासनले गरेको एसिया प्रशान्त व्यापार सम्झौता खारेज गर्दै उनले क्यानाडा र मेक्सिकोसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता गरिसकेका छन् ।

अर्थशास्त्रीहरू भने अमेरिकाको व्यापार घाटा नीतिका कारण नभई अर्थशास्त्रीय वास्तविकताका आधारमा हेर्नुपर्ने धारणा राख्छन् । अमेरिकीहरूले आफूले उत्पादन गर्नेभन्दा बढी उपभोग गर्ने भएकाले व्यापार घाटा भएको उनीहरूको तर्क छ । महँगिँदो अमेरिकी डलरका कारण पनि अमेरिकी निर्यातकर्ताहरू समस्यामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया