भूकम्पपीडित दिने सहुलियत कर्जाको पुनर्विचार गर्दै राष्ट्र बैंक, कर्जाको माग गर्ने ४ सय फाइल बैंकमै थन्कियो


आर्थिकन्यूज

काठमाडौं, असोज २१ । भूकम्पपीडितको सहुलियत ब्याज कर्जासम्बन्धी फाइल नबुझ्ने निर्णय गरेको राष्ट्र बैंक निर्णय पुनर्विचार गर्ने भएको छ। भूकम्पपीडित सहुलियत ब्याजकर्जामा राष्ट्र बैंकमा पुनःछलफल भएको छ। राष्ट्र बैंकमा भएको पछिल्लो छलफलअनुसार पीडितले राहत पाउने संकेत देखिएको छ।

छलफलको भए पनि यस विषयमा निर्णय भने भएको छैन। भोलि (आइतबार) गभर्नर डा.चिरञ्जीवी नेपालसँग छलफल गर्ने तयारी बैंक प्रशासनले गरेको छ। ‘गभर्नरसँगको छलफल पश्चातमात्र केही भन्न सकिन्छ’, राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘राष्ट्र बैंकमा दर्ता भएका तर, इन्ट्री हुन बाँकी केही फाइल छन्।’

यस अघि राष्ट्र बैंकले बैंकमा दर्ता गर्न बाँकी रहेका फाइल इन्ट्री गर्न समय लाग्ने भन्दै राष्ट्र बैंक पुगेका फाइल समेत फर्काएको थियो। ‘फाइल इन्ट्री गर्न समय लाग्ने भएकाले बैंकहरूबाट फाइल नलिएका हौं’, प्रवक्ता पौडेलले भने।

राष्ट्र बैंकले सरकारले ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि ल्याउँदै छ, अनिमात्र फाइल मगाउँछौ भनेर भदौ सुरुदेखि नै वाणिज्य बैंकबाट गएको भूकम्पपीडितको फाइल बुझेको थिएन। त्यतिबेलादेखि विभिन्न वाणिज्य बैंकमा करिब चार सयको हाराहारीमा फाइल थन्किएका छन्।

राष्ट्र बैंकले आफैले निर्धारण गरेको समय सीमाभित्र पीडितको निजी आवास निर्माणको फाइल नबुझ्दा धेरै ऋणी मर्कामा परेका छन्। राष्ट्र बैंकको यस्तो निर्णयले पीडितलाई अझ पीडा थपेको छ।

टाठाबाठाले पहिलानै सहुलियतकर्जा लिएर घर निर्माण गरिसकेका छन्। अहिले बैंकमा अड्किएका फाइल भने जग्गा मिलाउनुपर्ने कारणले कर्जा उपयोग गर्न ढिला भएको हो।

कतिपय भूकम्पपीडित अहिले पनि सहुलियत कर्जा पाउने आसमा घरको नक्सा पास गर्न र जग्गा आफ्नो नाममा ल्याउन सरकारी अड्डा धाइरहेका छन। अन्नपूर्ण पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया