चिनियाँ अभिनेत्रीलाई १२ करोड डलर जरिवाना


आर्थिकन्यूज

काठमाडौं, असोज १८ । चीनकी एक चर्चित अभिनेत्री फान बिङबिङलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवानाको आदेश दिइएको छ । गत जुलाईदेखि बेपत्ता भएकी ती अभिनेत्रीले सामाजिक सञ्जालमार्फत लामो क्षमायाचना समेत गरेकी छन् ।

चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्ये पर्ने फानले समयमै जरिवाना तिरे फौजदारी अभियोग नलगाइने सिन्ह्वाले जनाएको छ । कलाकारहरूको पारिश्रमिकबारेको एउटा सरकारी छानबिनमा उनी तानिएकी हुन् ।

चलचित्रका केही कलाकारमाथि ‘यिन–याङ सम्झौता’ अन्तर्गत पारिश्रमिक लिने गरेको आरोप छ । सो सम्झौता अनुसार कलाकारहरूले लिने वास्तविक सम्झौता एउटा भएपनि कम पारिश्रमिक देखिने अर्को सम्झौता हुन्छ ।

एक्स– मेन र आइरन म्यान फिल्म फ्र्यान्चाइजमा देखा परेकी ३७ वर्षीया यी अभिनेत्री जुलाई १ देखि सार्वजनिक रूपमा देखा परेकी छ्रैनन् ।

बुधवार सामाजिक सञ्जाल वेइबोमा आफ्ना दशौं लाख प्रशंसकसँग क्षमायाचना गर्दै उनले लेखेकी छन्, ‘यसअघि नभोगेको पीडाबाट म अहिले गुज्रिरहेकी छु । मैले जे गरेकी छु त्यसका लागि म लज्जित छु । म सबैसँग क्षमायाचना गर्छु ।

कर अधिकारीहरूले छानबिनपछि गरेको दण्ड जरिवानालाई म पूर्ण रूपमा स्वीकार गर्दछु । म कानुनको पालना गर्नेछु, कठिनाइबाट पार पाउने सक्दो प्रयास गर्नेछु, रकम संकलन गर्नेछु, कर र जरिवाना तिर्नेछु ।’

आफ्नो वक्तव्यमा फानले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको पनि प्रशंसा गरेकी छन् । फानको प्रतिनिधिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ । भ्रष्टाचार अथवा करछलीको आरोपमा बेपत्ता हुने फान चिनियाँ राजनीति बाहिरकै ठूलो व्यक्तित्व हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया