स्वास्थ्य बिमामा बजेट बढ्दै आकर्षण घट्दै, २५ प्रतिशत बिमितले स्वास्थ्य बिमा नवीकरण नै गरेनन्


आर्थिकन्यूज

काठमाडौं, असोज १७ । नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटिरहेका वेला कार्यक्रमको बजेट भने सरकारले बढाएको छ ।

चालू आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले ६ अर्ब रुपैयाँ यो कार्यक्रममा विनियोजन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ४ गुणाले बढी हो ।

सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रत्येक वर्ष बजेट बढाउँदै लगेको छ । तर, योजनाअनुसार कार्यक्रम सञ्चालन हुन नसक्दा बोर्डले विनियोजन गरेको रकम खर्च हुन सकेको छैन ।

आव ०७१/७२ मा सरकारले ५० करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष ७१ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको बोर्डको तथ्यांकमा छ ।

आव ०७२/७३ मा सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेकोमा ३ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । आव ०७३/७४ मा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेकोमा बोर्डले करिब ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको थियो ।

फलस्वरूप आव ०७४/७५ मा सरकारले बजेट घटाएर २ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको थियो । उक्त आवमा पनि करिब १ अर्ब १७ करोड खर्च भएको तथ्यांकले देखाएको छ ।

चालू आवका लागि बोर्डले ८ अर्ब रुपैयाँको माग गरेकोमा सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको बोर्डले जानकारी दिएको छ । त्यसमध्ये ५ अर्ब ५० करोड सेवाप्रदायकलाई जाने बोर्डको भनाइ छ ।

सरकारले सञ्चालन गरेको बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटेको तथ्यांकले देखाएको छ । बोर्डको तथ्यांकअनुसार गत महिनासम्ममा नवीकरण नगर्ने बिमिति २५ प्रतिशत पुगेका छन् ।

तथ्यांकअनुसार गत महिनासम्ममा १२ लाख ३६ हजार ४ सय ५८ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । जसमध्ये महिलाको संख्या ६ लाख ५३ हजार ४ सय ८६ छ भने पुरुषको संख्या ५ लाख ८२ हजार ९ सय ७२ छ । नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया