‘बैंकिङ क्षेत्रलाई पुँजी वृद्धिसँगै लगानी विस्तार गर्ने दबाब छ’


आर्थिकन्यूज

वाणिज्य बैंकहरूको इतिहासमै पहिलोपटक महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउने बैंक मेगा बैंक नेपाल हो । निजी क्षेत्रको वाणिज्य बैंकले महिलालाई प्रमुख कार्यकारी पदको जिम्मवोरी दिएसँगै बैंकिङ क्षेत्रमा काम गरिरहेका महिलाले सम्मान पाएका छन् । टेलरबाट बैंकिङ करियर शुरु गरेकी अनुपमा खुञ्जेली बैंकको नेतृत्वमा पुग्न २७ वर्ष लागेको छ ।

तत्कालीन ग्रिनलेज (हालको स्टान्र्डर्ड चार्टर्ड) बैंकबाट शुरू भएको उनको बैंकिङ करियर नबिल बैंकमा गएपछि निखार आयो । नबिलमा ६ वर्ष काम गरेपछि मेगा बैंक नेपालमा प्रवेश गरेकी हुन् । मेगामा प्रवेश गरेको आठ वर्षपछि उनी सीईओ बन्न सफल भएकी छिन् ।

सेन्टमेरिज र भारतको नयाँदिल्लीस्थित सीएसकेएम पब्लिक स्कुल हुँदै शंकरदेवबाट स्नातक सकेपछि जागिरे जीवन शुरू गरेकी उनी सम्भवत सबैभन्दा धेरै संस्थापक शेयरधनी रहेको मेगा बैंक नेपालको प्रमुख पदमा नियुक्त भएपछि समग्र नेपालको बैंकिङ क्षेत्रलाई उनीले कसरी नियाली रहेकी छिन् ?, नेपालको बैंकिङ क्षेत्रमा महिला नेतृत्व, बैंकिङ क्षेत्रका चुनौती र सम्भवनालगायतका विषयमा आर्थिकन्युज डटकमले मेगा बैंक नेपालकी सीईओ अनुपमा खुञ्जेलीसँग गरेको कुराकानीः

फरक क्षेत्रमा लगानी गर्ने र फरक बैंकिङ सेवा शुरू गर्ने भनेर मेगा बैंक नेपालको स्थापना भएको थियो । यहाँले बैंकलाई कसरी बुझ्नु भएको छ ?
मेगा बैंक नेपालको स्थापनादेखि नै काम गर्ने मौका पाएको, बैकको सबै कुरा थाहा भएर पनि होला काम गर्न सजिलो नै भइरहेको छ । मेगा बैंकमा ठूला व्यापारिक पृष्ठभूमिको वर्गबाट लगानी नभएको छैन । विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिबाट थोरै–थोरै पुँजी संकलन गरी बैंक बनेको हो । यसमा ठूलो नाफा कमाउँला वा अन्य कुनै पनि भित्री मनसाय बोकेका लगानीकर्ता हुनुहुन्न भन्ने बझेकी छु ।

३ हजारभन्दा बढी संस्थापक र २ लाखभन्दा बढी साधारण शेयर सदस्य भएको बैंक भएकाले पनि यसको सञ्जाल विस्तार गर्न र व्यापार सहजीकरण गर्न हामीलाई सजिलो भएको छ ।

हलोदेखि हाइड्रोसम्म लगानी गर्ने उद्देश्यका साथमा बैंक खोलिएको हो, नाराअनुसार लगानीको अवस्था कस्तो छ ?
मेगा बैंक नामजस्तै धेरै नेपालीको सहभागिता रहेको बैंक हो । यसको संरचनागत बनावट नै नेपालीका लागि नेपालीद्वारा भन्ने हो । यसले गर्दा नेपालीको पेशा कृषि अनि नेपालको अथाह सम्भावना भएको क्षेत्र जलविद्युत् रहेको हुनाले मेगा बैंकले आम नेपालीको व्यावसायिक साझेदार बन्न सफल भएको छ ।

मेगा बैंकको उद्देश्य भनेको सम्पूर्ण अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने बैंकिङ सेवा दिन्छौं भन्ने हो । यही अनुरुप बैंकले लगानी पनि गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ५ प्रतिशत पिछडिएको क्षेत्रमा लगानी गर्नुपर्ने नीतिभन्दा केही माथि गएर हामीले ६ प्रतिशत लगानी गरेका छौं । आगामी ५ वर्षमा १० प्रतिशत पुर्याउने बैंकको योजना रहेको छ ।

हामीले बैंकिङ सेवालाई विस्तार गर्न र मेगाको सञ्जाल ठूलो बनाउन यसबीचमा दुईवटा विकास बैंकसँग मर्ज गरी एकीकृत कारोबारसमेत गरिसकेका छौं । यी दुई विकास बैंकसँगको मर्जपछि अहिले मेगा बैंकका १०१ वटा शाखा सञ्जाल पुगेको छ ।

बैंकिङ क्षेत्र भनेकै विश्वासमा चल्ने व्यवसाय हो, त्यसैले मेगा बैंकले पहिला आमग्राहकको विश्वास जित्ने प्रयास गर्दै छ । विश्वास जितेपछि व्यापार त भइहाल्छ नि व्यापार भएपछि नाफा पनि हुन्छ ।

धेरै बैंकमा सञ्चालकहरुबाट बैंकको दैनिक काममा धेरै अवरोध गरिरहेको समाचार आइरहेको छन्, मेगा बैंकको संस्थापकहरू पनि मेगा नै छन्, काम गर्न कतिको सजिलो छ ?
धेरै हुँदा पनि कतै बेफाइदा होला । तर, मेगालाई भने यसले धेरै स्थानमा सजिलो नै भएको छ । हाम्रा संस्थापकहरू देशका धेरै स्थानमा छरिएर रहनु भएको छ, यसले हामीलाई व्यापार गर्न सहज भएको छ । त्यस्तै व्यवस्थापनमा पनि धेरै जनाबाट छलफल भएर निचोडमा पुगेको योजना लागू गर्न सहज हुने अनुभव मैले पाएको छु ।

धेरै जना हुँदा निर्णय गर्न केही समय लाग्ला तर धेरै जनामा छलफल भएर धेरै जनाको बीचमा मन्थन भइसकेको विषय धेरै नै परिपक्क भएर आउने भएकाले व्यवस्थापनमा बस्नेलाई कार्यान्वयन गर्न सजिलो हुन्छ । यसले गर्दा मेगा बैंकका सञ्चालकले दबाब होइन सहजीकरणको भूमिका खेलेको मैले पाएको छु ।

हामी बैंकमा काम गर्नेलाई अन्य क्षेत्रमा काम गर्नेको भन्दा अलि रमाइलो र आनन्द पनि छ । तलब बढी आउने, बोनस आउने अनि शेयर पनि पाइने । त्यसैले बैंकलाई राम्रो बनाउन बैंकका शेयर सदस्य र संस्थापक लगानीकर्ताको लगानीलाई कसरी धेरैभन्दा धेरै नाफा कमाएर दिने भन्नेमा नै केन्द्रित हुन्छ । बैंकको राम्रोको लागि व्यवस्थापनमा बसेका टिमसँग समन्वय गरेर काम गर्दा नै सबैलाई सजिलो हुन्छ ।

तपाईंको २७ वर्षको बैंकिङ क्षेत्रको अनुभवमा नेपालको बैंकिङ क्षेत्रलाई कसरी हेर्नुहुन्छ?
अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको भन्दा धेरै मोटिभेटिङ फ्याक्टर धेरै भएर होला बैंकिङ क्षेत्रमा काम गर्ने व्यक्ति बढी सन्तुष्ट भएर काम गर्ने गरेका छन् । विगत २० वर्षमा नेपालमा राजनीतिक क्षेत्रमा निक्कै उथलपुथल हुँदा पनि बैंकिङ क्षेत्रले आफ्नो बाटो कहिल्यै बिराएन ।

आर्थिक रुपमा पिछडिएका एकल महिलाका छोरीलाई मेगा बैंक नेपालले १२ कक्षासम्म पढाउने योजना सार्वजनिक गर्दैर्छौ । शिक्षामा लगानी गर्यो भने त्यो व्यक्ति परिवार र राष्ट्रले त्यो व्यक्तिबाट केही पाउँछ भन्ने मेगा बैंकको थिममा हामी काम गरिरहेका छौं ।

बैंकिङ क्षेत्रको नियमकारी निकाय नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानी हरेक दिन भइरहेकाले पनि होला । नेपालको बैंकिङ क्षेत्र जतिको पारदर्शी अन्य क्षेत्रमा नहोला । धेरै पारदर्शी भएका कारणले पनि हो आममानिसको विश्वास पनि छ । बैंकिङ भनेको नै विश्वासमा चल्ने भएकाले विश्वास नगुमाउँदासम्म यो क्षेत्रमा कसैले पनि केही गर्न सक्दैन ।

अहिले बैंकिङ क्षेत्रमा काम गर्न आउने नयाँ पिँढीको आकर्षणका कारण त म झन् उत्साहित भएकी छु । अहिलेको नयाँ प्रविधिसँग जानकार र उच्चकोटीको अध्ययन भएकाले अबका दिनमा बैंकिङ क्षेत्रले विश्वस्तरीय सेवा नेपालीले नै दिन सक्छन् भन्ने विश्वास बढेको छ ।

यति धेरै बैंक सञ्चालन भए पनि नेपालको ‘इकनोमीमा भ्यालू एड’ गर्ने क्षेत्रमा बैंकले कम लगानी गरे भन्ने गुनासो छ नि ?
बैंकहरुले पनि आफ्नो लगानी कहाँ गर्दा सुरक्षित हुन्छ भन्ने पहिलो प्राथमिकतामा राख्नैपर्छ । बैंकले छोटो समयका लागि गरेका लगानी जुन नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्ने खालका थिए । जसका कारण अहिले व्यापारघाटा बढेर गएको छ ।

त्यसमा बैंकहरुको केही हात होला । तर, देश चलाउनेले देशमा उद्योग खोल्ने वातावरण बनाइदिन पर्यो । उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण हुन पर्यो । बैंकहरुले त आफ्नो लगानी जहाँ सुरक्षित देख्छन् त्यही लगानी गर्ने हो । यस वर्षको बजेटमा पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्सहन गर्ने भनिएको छ । सरकारले लगानीको सुरक्षा हुने वातावरण बनायो भने बैंकहरुले पनि लगानी त्यही नै गर्छन् ।

अहिले धेरै बैंकले मझौला र लघु व्यवसायमा लगानी बढाइरहेका छन्, यसको अन्तिम उद्देश्य भनेको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र आयात प्रतिस्थापन गर्ने नै हो । सरकारी क्षेत्रबाट भइरहेको पूर्वाधारमा लगानीअनुसार बैंकहरुले पनि लगानी बढाइनै रहेका छन् । कुनै बेला ट्रेडिङ बेसमा बैंकको लगानी ६० प्रतिशत हुँदै आएकोमा हाल आएर यो लगानी २०/२२ प्रतिशतमा सीमित भएको छ ।

वित्तीय क्षेत्रमा सधंै समस्याको रूपमा रहेको लगानीयोग्य पुँजी अभाव देखिन्छ, यसमा लगानीयोग्य पँुजीकै अभाव हो कि बैंकहरुको लगानीे बढी गरेका कारण सिर्जना हुने गरेको हो ?
मेरो करिब तीन दशकको बैंकिङ क्षेत्रको अनुभवमा हामी करिब २० वर्ष लगानीयोग्य पँुजी र निक्षेपको अभावमा नै रह्यौं । निक्षेप १ प्रतिशत मात्र हुँदा पनि बैंकमा ऋण लिन आउने ऋणी उत्ति नै थिए । अहिले बैंकहरुको पुँजी वृद्धि भएको छ साथै लगानीको क्षेत्र पनि बढेको छ । सबै बैंकलाई अब पुँजी वृद्धिसँगै लगानी गर्ने राम्रो क्षेत्रको आवश्यकता र लगानी गर्नुपर्ने दबाब पनि पर्दै गएको छ ।

छोटो सयममा बैंकहरुको पुँजी वृद्धि भएकाले सबै बैंकलाई आफ्नो व्यापारको आकार बढाउन दबाब पर्यो । यही अनुरुप बैंकमा ऋण लिन आउनेको पनि भीड बढ्यो । तर, बैंकमा निक्षेपकर्ताको संख्या भने धेरै बढेको छैन । त्यसैले बजारमा तरलताको अभाव भएको हो । यसमा सरकारी खर्च पनि समयमा नआउने जुन पुरानो परिपाटी छ, यसले पनि तरलता अभाव हुनुमा एउटा कारण हो जस्तो मलाई लाग्छ ।

अब हामी संघीयतामा गएका छौं, स्थानीय तहहरू छन् । अब सरकारको केन्द्रीय पद्दतीबाट खर्च गर्ने तरिका पनि विकेन्द्रिकृत भएको छ । सरकार ले त्रैमासिक रुपमा खर्च स्थानीय निकायलाई पठाउने गरेका कारण अबका दिनमा विगतको जस्तो तलताको अभाव नहोला भन्न हाम्रो अपेक्षा छ ।

बैंकको पुँजी बढ्दा लगानीयोग्य रकम अभाव हुनुमा राष्ट्र बैंकका केही नियम पनि बाधक बने भन्ने पनि छ के त्यस्तै हो ?
नेपाल राष्ट्र बैंकको नियमलाई म दुई तरिकाबाट हेर्छु । बैंकहरुको पुँजी वृद्धि भएको छ, साथमा व्यापार पनि बढाइरहेका छन् । बैंकको लगानीलाई सुरक्षित गर्नका लागि राष्ट्र बैंकले लिएको यो नियम ठिकै हो जस्तो लाग्छ मलाई ।

छोटो सयममा बैंकहरुको पुँजी वृद्धि भएकाले सबै बैंकलाई आफ्नो व्यापारको आकार बढाउन दबाब पर्यो । यही अनुरुप बैंकमा ऋण लिन आउनेको पनि भीड बढ्यो । तर, बैंकमा निक्षेपकर्ताको संख्या भने धेरै बढेको छैन ।

बैंक भनेको जनताको निक्षेप सुरक्षाकर्ता पनि भएकाले राष्ट्र बैंकले जोखिम बहन गर्नलाई २० प्रतिशत (सीडी रेसियो) भनेर राख्ने गरेको छ । यसले हामी बैंकरलाई पनि सहज नै बनाउँछ । अब भखर्रै पुँजी बढाएर व्यापारको आकार पनि बढाउन लागेका बैंकहरुले भोलि व्यापारको आकार र पँुजी वृद्धिको आकारलाई सहज रुपमा लिन थालेपछि सीडी रेसियोको रुपमा राष्ट्र बैंकमा रहेको रकम विस्तार लगानी गर्न मिल्ने बनाइ दिएमा ठिक होला ।

पँुजी वृद्धि र लगानीको आकारमा जोखिम न्यूनीकरणमा बैंक सहज बन्दै गए भने राष्ट्र बैंकले पनि यो रकमका बारेमा पक्कै पनि ध्यान दिन्छ होला ।

तपाईं बाणिज्य बैंकको सीईओ हुँदै गर्दा महिला तथा उनीहरुको आश्रित परिवारलको जीवनस्तर माथि उठाउने विषयमा मेगा बैंकले केही गर्दैछ ?

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै वटा प्रदेशबाट हामी महिलाको जीवनस्तर माथि उकास्ने योजना ल्याउँदैछांै । आर्थिक रुपमा पिछडिएका एकल महिलाका छोरीलाई मेगा बैंक नेपालले १२ कक्षासम्म पढाउने योजना सार्वजनिक गर्दैर्छौ । शिक्षामा लगानी गर्यो भने त्यो व्यक्ति परिवार र राष्ट्रले त्यो व्यक्तिबाट केही पाउँछ भन्ने मेगा बैंकको थिममा हामी काम गरिरहेका छौं ।

शिक्षामा लगानी गर्ने हो भने कोही पनि पछि पर्नपर्दैन, त्यसैले हामीले सातैवटा प्रदेशमा ५० वा १ सय जना एकल महिलाका छोरीलाई केजीदेखि १२ कक्षासम्म पढाउने योजनामा मेगा बैंक रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया