यस साता लगानीकर्ताहरुले ३१ अर्ब कमाए


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साता पहिलो दिनको तुलनामा २५ दशमलव ८६ अंकले बढेर १ हजार २ सय ४४ दशमलव ८४ अंकमा पुगेको छ ।

यस साताको पहिलो दिन आइतबार १४ खर्ब ५१ अर्ब ७९ करोड ९४ लाख ७० हजार रुपैयाँ पुँजीकरण भएको थियो भने साताको अन्तिम दिन पुँजीकरण १४ खर्ब ८२ अर्ब ७१ करोड ३ लाख ४० हजार रुपैयाँ रहेको छ । एक सातामा पुँजीकरण ३० अर्ब ९१ करोड ८ लाख ७० हजार रुपैयाँ बढेको छ ।

कुल १८६ कम्पनीको २३ हजार ६ सय ११ कारोबारबाट २ अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा २७ दशमलव १७ प्रतिशतले कम हो । गत साता २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता शेयर किनबेच भएको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ११ अंकले बढेर २ सय ६४ दशमलव २७ अंकमा पुगेको छ । कारोबारमा भएका १८६ कम्पनीमध्ये सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोबार भएको छ । जसको १७ करोड ४५ लाख ६० हजार रुपैयाँको शेयर किनबेच भएको हो ।
यसैगरी एनएमबी बैंकको १३ करोड ६५ लाख ५० हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ९ करोड २७ लाख १० हजार रुपैयाँ, कुमारी बैंकको ९ करोड १५ लाख ८० लाख रुपैयाँ र प्रभु बैंकको ८ करोड १५ लाख ९० हजार रुपैयाँ शेयर कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याको आधारमा पनि एनआइसी एसिया बैंकको शेयर नै अगाडि रहेको छ । जसको ४ लाख ३९ हजार कित्ता शेयर किनबेच भएको हो । कारोबार संख्यामा पनि एनआइसी एसिया बैंकको अग्रस्थानमा रहेको छ, जसको संख्या १ हजार १ सय १४ वटा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार पाँच दिन नै खुल्ला रहयो ।
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ वटा कम्पनीहरुको २१ लाख २३ हजार २१ दशमलव ९३ कित्ता शेयर सूचिकृत भएका छन् ।

जसमा बोनस शेयर कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७५ हजार कित्ता, राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार ४० कित्ता र कामना सेवा विकास बैंक लिमिटेडको १३ लाख ४ हजार ७०१ दशमलव ९३ कित्ता शेयर गरी कुल १८ लाख ८९ हजार ७४१ दशमलव ९३ कित्ता बोनस शेयर सूचिकृत भएका छन् । भने बोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकको हकप्रद शेयर २ लाख ३३ हजार २८० कित्ता सूचिकृत भएको छ ।

बोनस शेयर र हकप्रद शेयर गरी यस साताभर नेप्सेमा २१ लाख २३ हजार २१ दशमलव ९३ कित्ता शेयर सूचिकृत भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया