बार्षिक २५ करोड कमाएको हायातले मजदुर र हानकै करोडौ झ्वाम, होटल नाफामा सरकारी लगानी चाहिँ घाटामा ?


आर्थिकन्यूज

काठमाडौं, भदौ २९ । नेपालको उत्कृष्ट मध्येको एक पाँचतारे होटल वर्षेनी नाफामा गइरेहेको यसले सार्वजनिक गरेको वित्तीय विवरणले देखाइरहेको छ । तारागाँउ रिजेन्सी होटल (हायात)ले बर्षेनी २५ करोडभन्दा बढी नाफा गरिरहेको छ तर होटलले आफ्ना मजदुरलाई तिर्नुपर्ने पैसा, होटल संघ नेपाल (हान) लाई तिर्नुपर्ने बार्षिक शुल्क तथा सेवा शुल्क बापत संकलनबाट तोकिएको शुल्क बर्षोसम्म नतिरेको पाइएको छ ।

यो होटलले बर्षेनी २५ करोड भन्दा बढी नाफा गरिरहेको भएपनि होटलमा सरकारले गरेको लगानीको प्रतिफल सधै शून्य नै छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीमा लगानी १७ करोड रुपैयाँ २ दशक अगाडि नै लगानी गरेको यो होटलले कुनै प्रतिफल दिएको छैन ।

भएकै ३९ प्रतिशत शेयर पनि घटेर ९ प्रतिशतमा झरेको छ । होटलमा भारतीय लगानीकर्ता राधेश्याम सराफसहित चार तहको सेयर संरचना रहेको छ । होटेलका सराफ र रामलाल श्रेष्ठसहितका सञ्चालक, तारागाँउ विकास समिति, सर्वसाधारण र विभिन्न वित्तीय संस्थाको ऋणलाई सेयरमा रहेको छ ।

यो होटलले वर्षेनी गर्ने नाफाबाट न सर्वसाधारणलाई प्रतिफल दिन सकेको छ न सकारलाई लाभ दिएको छ । होटल व्यवस्थापनले आपसी मिलेमतोमै होटल चलाएको र भएकै नाफा आफैंले मात्रै खाइरहेको पाइएको छ ।

यो होटलले तीन चार वर्षदेखि आफैं सदस्य रहेको संस्था हानलाई बुझाउनुपर्ने करोडौं रकम बुझाएको छैन भने मजदुरले पाउनुपर्ने वर्षोदेखिको सामाजिक सुरक्षा, उपदान, संचयकोष तथा मजदुरलाई दिएको सुविधावापतको सेवा शुल्क अझै नतिरेको उल्लेख छ । मजदुरलाई तिर्नुपर्ने यस्तो रकम पनि करोडौ रहेको छ ।

होटलले गत आर्थिक वर्ष ०७४/०७५ मा २५ करोड ७० लाख ६१ हजार ८९९ रुपैयाँ मात्र खुद मुनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा होटलले २८ करोड ७ लाख ७२ हजार ४०६ रुपैयाँ खुँद नाफा कमाएको थियो । होटलको यो नाफा अघिल्लो वर्षको तुलनामा ३ करोड घटेको उल्लेख छ ।

होटलले २०७३/७४ मा कुल बिक्री १ अर्ब ४२ करोड रहेको र त्यसबाट २८ करोड खुँद नाफा भएको उल्लेख छ । गत आवमा यस्तो बिक्री ५ करोड रुपैयाँले बढेर १ अर्ब ४७ करोड रुपैयाा पुग्दा होटलको नफा भने घटेर २५ करोड भएको उल्लेख गरिएको छ ।

होटलले गत वर्ष ३ करोड नाफा घट्नुमा होटलको रिनोभेसनका लागि होटलको ब्याङ्क्वेट हल र मिटिङ रुम बन्द गरेको, यसबाट प्रशासनिक तथा साधारणसहतिको सञ्चालन खर्च बढेको कारण गत वर्षको तुलनामा नाफा घटेको दाबी गरेको छ । यो होटलको होटल्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा छ । प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ रहेको छ ।

नेपालमा पर्यटन आगमन सन् २०११ पनि निरन्तर बढिरहेकाले होटल तथा पर्यटन क्षेत्रबाट हुने लाभ पनि बढिरहेको छ । नेपालमा सञ्चालिन पाँचतारे होटल निरन्तर नाफामा गइरहेका छन् । तर, सरकार तथा सर्वसाधारणको ७४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत यो पाँचतारे होटल ह्यायत रिजेन्सीले भने आन्तरिक प्रतिवेदन मिलाएर सरकार तथा सर्वसाधारण लगानीकर्ता ठगिरहेको पाइन्छ ।

यो होटलमा लगानी गरेका ७४ लाख कित्ता शेयरका धनी सर्वसाधारणसहितका छन । होटल स्थापना भएको २० वर्षसम्म पनि होटलले लाभ दिन नसकेको होटल निरन्तर घाटामा गएको र सञ्चालक तथा भारतीय लगानीकर्ताले मात्रै अधिक मुनाफा र लाभ लिइरहेका छन् ।

यो होटलमा भएको सरकारी लगानी ४० प्रतिशतबाट ९ प्रतिशतमा झर्नु र सर्वसाधारणले पनि होटलमा गरेको लगानीबाट प्रतिफल नपाउनुले यो होटल पछिल्लो समय पटक पटक विवादमा आएको छ ।

२०४९ सालमा होटल स्थापना अघि भएको सम्झौताअनुसार यो होटलमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड र निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी रहेको उल्लेख छ ।

कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत लगानी थियो । अहिले होटलको सेयर संरचना पटकपटक परिवर्तन भइसको छ । होटलले पछिल्लो विवरणमा बैंक तथा वित्तीय संस्थाको सेयर ५४.७३ प्रतिशत देखाएको भए पनि यो सेयर सबै सराफसहितको टोलीले खरिद गरिसकेको उल्लेख छ ।

तारागाँउ होटलले गत भदौ ३ गते सार्वजनिक सूचना जारी गरेरै पछिल्लो समय होटलमा सरकारी समितिको ९.१, संयुक्त लगानी साझेदार (राधेश्याम सराफ र श्रेष्ठसमूह)को २६.८, सर्वसाधारणको १०.१८ र बैंक तथा वित्तीय संस्थाको ५४.७३ प्रतिशतको शेयर संरचना देखाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया