राष्ट्रिय गौरवका आयोजनाको प्रगति यस्तो देखियो


आर्थिकन्यूज

काठमाडौं, भदौ २८ । जनताले अनुभूति गर्न नपाए पनि गत आर्थिक वर्षमा २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये १४ वटाले प्रगति सकारात्मक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पुष्पलाल (मध्यपहाडी) लोकमार्गले गत आवमा विनियोजन शतप्रतिशत खर्च गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले ८०.८ प्रतिशत भौतिक प्रगति र विनियोजित १३ अर्ब ६१ करोड रुपैयाँ खर्च गरेर सबैभन्दा बढी प्रगति गर्ने आयोजना बनेको छ ।

आयोजनाको निर्माणको यो अवधिमा समष्टिगत ५० प्रतिशत भौतिक प्रगति र ६६.६ प्रतिशत वित्तीय प्रगति भएको छ । पुष्पलाल लोकमार्गले ९३ प्रतिशत भौतिक प्रगति गरेको छ । उक्त आयोजनाको समष्टिगत रुपमा ४५ प्रतिशत भौतिक र ३३.९ प्रतिशत वित्तीय प्रगति गरेको छ । आयोजनाको लागि गएको आवमा सात अर्ब ९३ करोड रकम विनियोजन गरिएको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना १०५ प्रतिशत भौतिक र ९९.९ प्रतिशत वित्तीय रहेको छ । उक्त आयोजनाका लागि गत आवमा ४ अर्ब ५६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो । समष्टिगततर्फ उक्त आयोजना राम्रै अवस्थामा भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत) अघि बढेको प्रतिवेदनले देखाएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाले भौतिक प्रगति ९९.९ र वित्तीय प्रगति ९९.५ प्रतिशत रहेको तथ्यांक राष्ट्रिय योनजा आयोगले सार्वजनिक गरेको छ । आयोजनको समष्टिगत भौतिक प्रगति ९.९ र वित्तीय प्रगति १० प्रतिशत रहेको छ । आयोजना निर्माण कार्य अघि बढाउन सरकारले गएको आवमा २० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

उत्तर–दक्षिण लोकमार्ग (कर्णाली) ले गत आवमा ९९.२ प्रतिशत वित्तीय प्रगति र शतप्रतिशत भौतिक प्रगति गरेको छ । लुम्बिनी विकास कोषले ९९ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति गरेको छ ।
त्यस्तै रानीजमरा कुलेरिया सिँचाइ आयोजना, माथिल्लो तामाकोशी, रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षित (कालीगण्डकी कोरिडोर),काठमाडौं तराई–मधेश दु्रतमार्गको वित्तीय तथा भौतिक प्रगति ९० प्रतिशतभन्दा माथि रहेको छ ।

बबईं सिँचाइ आयोजनाले गएको आवमा ९९.४ प्रतिशत वित्तीय प्रगति गरेको छ भने ९८.६ प्रतिशत भौतिक प्रगति गरेको छ । आयोजनाको समष्टिगत भौतिक प्रगति ५९.५ र ४७.२ प्रतिशत वित्तीय प्रगति गरेको छ । सो आयोजनाको लागि गत आवमा ८२ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वित्तीय प्रगति भने सात दशमलव ३१ प्रतिशत रहेको छ । उक्त आयोजनको भौतिक प्रगति ३९.९ प्रतिशत भएको छ । यस वाहेक दुई वटा आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको छ । पश्चिम सेती आयोजनका लागि सरकारले बजेट विनियोजनै गरको छैन । अन्य आयोजनाले ३० प्रतिशतभन्दा बढी प्रगति गरेका छन् ।

नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि मात्रै ९६ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको थियो । कुल २० परियोजनाका लागि उक्त रकम विनियोजन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया