आर्थिक विवरण नबुझाएका स्थानीय तहको बजेट रोक्का, कोलेनिकाले गर्यो कडाई


आर्थिकन्यूज

काठमाडौं, भदौ २८ । खर्च विवरण (फाँटबारी) नबुझाएपछि बाँकेका चार स्थानीय निकायको बजेट निकासा रोक्का भएको छ । गत आर्थिक वर्ष सकिएको दुई महिना बित्न लाग्दासमेत चार निकायले खर्च विवरण नपठाएपछि कोहलपुर नगरपालिका, राप्तीसोनारी, जानकी र डुडुवा गाउँपालिकाको बजेट रोक्का गरिएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका कोष नियन्त्रक शम्भुराज आचार्यले आर्थिक वर्ष ०७४–७५ सकिएको एक साताभित्र खर्चको फाँटबारी पठाउनुपर्ने प्रावधान रहेको, तर केही स्थानीय तहले खर्च विवरण नपठाएकाले खाता रोक्का भएको बताए । ‘पटक–पटक ताकेता गर्दासमेत खर्चको फाँटबारी पठाउन विलम्ब गरेपछि नीति, नियममा टेकेर रकम निकासा रोकेका छौँ,’ कोष नियन्त्रक आचार्यले भने ।

खर्चको फाँटबारी नबुझाउने स्थानीय निकायलाई १० देखि १२ पटक परिपत्र गरिएको उनको भनाइ छ । उनले स्थानीय निकायलाई पूर्वसूचना दिएर बजेट रोक्का गरेको स्पष्ट पारे । ‘यति दिन भित्र फाँटबारी नपठाए बजेट निकासा गर्न नसकिने जानकारी पहिले नै गराएका छौँ,’ उनले भने । आर्थिक वर्ष ०७५र७६ को बजेट चारवटा स्थानीय निकायलाई निकासा गरिसकिएको छ ।

ससर्त अनुदानको रकम फ्रिज, समानीकरणतर्फ पनि खर्च भएन
बाँकेका स्थानीय निकायले सरकारले दिएको बजेट खर्च गर्न नसकेपछि फ्रिज भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सरकारबाट प्राप्त बजेटअनुसारको योजना तथा कार्यक्रम बनाए पनि प्राप्त रकम खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले कुल बजेटमध्ये २१ करोड २४ लाख ९६ हजार चार सय ९९ रुपैयाँ खर्च गर्न नसकेको कोष नियन्त्रक आचार्यले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले समानीकरण अनुदानतर्फको १७ करोड ८७ लाख ४६ हजार र ससर्त अनुदानतर्फको तीन करोड ३७ लाख ५० हजार रुपैयाँ खर्च गर्न सकेको छैन । ‘समानीकरणतर्फको रकम संघीय सरकारको कोषमा फिर्ता नभए पनि ससर्त अनुदानतर्फको तीन करोड ३७ लाख ५० हजार रुपैयाँ फिर्ता (फ्रिज) भएको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया