आफ्नो भाग खोसेर जुनियर साथी प्रधानन्यायधिश, जोशी आफैंले गरे सर्वोच्चका २८ औ न्यायधिश मिश्रको स्वागत


आर्थिकन्यूज

काठमाडौं, भदौ २६ । संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् । उनले नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए ।

‘मिश्र श्रीमान् मेरो समकक्षी हो । सिनियर र जुनियरको कुरै उठदैन,’ जोशीले वरिष्ठतम न्यायाधीशका रूपमा स्वागत गर्दै भने, ‘न्यायालयमा कोही जुनियर र सिनियर हुन्न । अब म मंगलबार नै अदालतमा गएर दैनिक कामकाज गर्न थाल्छु ।’

स्रोतका अनुसार उनले आफ्नो नाम अस्वीकृत भएपछि अदालतमा को कामु प्रधानन्यायाधीश भन्ने अन्योल नहोस् भनी बिदामा बसेको र नयाँ नेतृत्व आएपछि काम सुरु गर्ने बताएका थिए । संसदीय सुनुवाइ समितिले आफ्नो नाम अस्वीकृत गरेपछि जोशी बिदामा बस्दै आएका थिए ।

उनीभन्दा पछिल्लो रोलक्रमका मिश्रको नाम प्रधानन्यायाधीशका लागि समितिले सोमबार अनुमोदन गरेको थियो । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गरेकी हुन् । संघीय संसदको सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिले साँझमा मिश्रलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । मिश्रले सोमबार साँझ नै सर्वोच्चमा पुगेर पदबहाली गरे ।

मिश्र सर्वोच्चको २८ औं प्रधानन्यायाधीश भएका छन् । न्यायालयले ६ महिनापछि नेतृत्व पाएको हो । जन्ममिति विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गत चैत १ मा ६५ वर्ष पूरा भई अनिवार्य अवकाश पाएपछि सर्वोच्च कामु प्रधानन्यायाधीशको नेतृत्वमा चल्दै आएको थियो । जोशीले नै कामु चलाएका थिए । तर, समितिले अस्वीकार गरेपछि भने संवैधानिक परिषद्ले भदौ ७ मा मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । मिश्र सर्वोच्चको वरिष्ठतम न्यायाधीश नभए पनि प्रधानन्यायाधीश हुन पाउने पहिलो भाग्यमानी व्यक्ति हुन् । कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया