बीमा क्षेत्रको समाचार सम्प्रेषण गर्दा गम्भीर हुनुपर्नेमा जोड


आर्थिकन्यूज

काठमाडौं, भदौ २५ । जीवन बीमा कम्पनीको वित्तीय सूचकको अध्ययन जटिल विषय भएको सम्बद्ध पक्षले बताएका छन् । आर्थिक पत्रकारलाई जीवन बीमा सम्बन्धी समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने विषयलाई लक्षित गरी आयोजित अन्तक्रियात्मक तालिमको उनीहरुले सो कुरा बताएका हुन् ।

विशेष गरी पुँजी बजारमा सूचीकृत सबै कम्पनीको वित्तीय विवरणबाट खुद नाफालाई आधार बनाएर अध्ययन गर्ने तथा समाचार प्रकाशित हुँदा जीवन बीमा कम्पनीको वास्तविक अवस्था ओझेलमा पर्ने गरेको उनीहरुको भनाइ छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल र नेसनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजद्वारा संयुक्त रुपमा तालिम आयोजना गरिएको थियो ।
आर्थिक विषयमा केन्द्रित भई सञ्चालन हुँदै आएका ‘आर्थिक मिडिया’ हरुको साझा हितका विषयमा काम गर्ने लक्ष्यसहित ‘इकोनोमिक मिडिया सोसाइटी नेपाल’(इम्सन)ले काम गर्दै आएको छ ।

त्यस्तै बैंक, बीमा, पुँजी बजार, सहकारी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेसनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज (नाफ्स) ले सक्रियता बढाउँदै आएको छ ।

कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका नाफ्सका अध्यक्ष रमेशकुमार भट्टराईले जीवन बीमा सम्बन्धी समाचार सम्प्रेशन गर्दा पत्रकारिताको भूमिकाबारे प्रशिक्षण दिएका थिए । भट्टराईले आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुले बीमा क्षेत्रबारे समाचार लेख्दा विशेष ध्यान दिनुपर्ने बताए।

बीमा क्षेत्रबारे लेख्नुपर्ने समाचार सही रुपमा सम्प्रेषण नभएको गुनासो गर्दै अध्यक्ष भट्टराईले यस क्षेत्रमा काम गर्ने पत्रकारलाई बीमासँग जोडिएका बिषयमा अध्ययन गर्न सुझाव दिए । ‘बैंक भन्दा बीमासंँग जोडिएका समाचार लेख्न कठिन हुन्छ, प्राविधिक विषय बुझेर मात्र कलम चलाउनुपर्छ, अन्यथा आम पाठक, लगानीकर्ता, तथा सम्बद्ध पक्षमा गलत संदेश जान्छ ।’ उनले भने।

त्यस्तै कार्यक्रममा नाफ्सका सञ्चालक कमल पन्थीले जीवन बीमा कारोबारको प्राविधिक विषयमा प्रकाश पारे। पन्थीले बीमा व्यवसायका बारेमा पत्रकारले जान्नुपर्ने प्राविधिक विषयबारे प्रस्तुति दिएका थिए ।

त्यस्तै कार्यक्रममा नाफ्सका सञ्चालक रामेश्वर श्रेष्ठले बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरण विश्लेषण गर्ने तरिकाबारे प्रस्तुति दिए।
कार्यक्रममा इम्सनका अध्यक्ष रामकृष्ण पौडेलले यस किसिमका तालिम तथा अन्तक्र्रिया कार्यक्रमले आर्थिक पत्रकार लाई बीमा व्यवसायको समाचार सम्प्रेषण गर्न सघाउने धारणा राखेका थिए ।
इम्सनका सदस्य परमेश्वर अधिकारीले उक्त अन्तरक्रिया संस्थाको पहिलो औपचारिक कार्यक्रम फलदायी भएको धारणा राखे ।
कार्यक्रममा इम्सनमा आबद्ध मेरोलगानी, बिजपाटी डटकम, बिजशाला, विकास न्युज, कर्पोरेट नेपाल, आर्थिकन्युज, बिजखबरलगायतका आर्थिक मिडियाहरुमा कार्यरत आर्थिक पत्रकारको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया