साफ च्याम्पियनसिपः बंगलादेशमाथि नेपालको शानदार जित, बंगलादेश २-० ले पराजित


आर्थिकन्यूज

काठमाडौं, भदाै २३ । साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २—० गोल अन्तरले पराजित गरेको हो ।

अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राखेकाे थियाे ।

खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति अग्रता दिलाए । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् ।

दोस्रो हाफमा पनि नेपालले दबाव बनाइराक्यो । ५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।

६० मिनेटको खेल सकिएपछि नेपालले खेलाडी परिर्वतन गर्‍यो । ६२औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदानमा प्रवेश गरे भने कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ ।

घरेलु टोलीको पोष्टमा एकपछि अर्को आक्रमण गरेको नेपाल निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा सफल भयो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

यो जितसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने पाकिस्तान उपविजेता भएको छ । नेपाल र पाकिस्तानको समान ६—६ अंक भएपछि गोल डिफरेन्सका आधारमा नेपाल विजेता बन्दै सेमिफाइनल पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया