प्रविधिमा आधारित सेवा प्रवाहमा जोड दिएका छौं


आर्थिकन्यूज

कुमारबहादुर खत्रीले नेपाल कमर्स क्याम्पसबाट एमबीए अध्ययन पूरा गरेपछि इन्स्योरेन्स क्षेत्र आफ्नो करियर शुरु गरेका हुन् । बीचमा केही समय आफू जागिरविहीन भएर बसेको उल्लेख गर्दै बीमा क्षेत्रमा आउनु अघि खेलकुद क्षेत्रमा करिब ७ वर्ष काम गरेको आफूसँग अनुभव रहेको बताउँछन् । सरकारले उनी संलग्न भएको खेलकुद परियाजना नै खारेज गरिदिँदा त्यहाँ कार्यरत उनीसँगै झन्डै चार सय कर्मचारीलाई अवकास दिइएको थियो ।

‘बेरोजगार भएर बसिरहेका बेलामा २०५१ सालमा नेपाल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गर्यो ।’ उनी भन्छन्–‘मैले २०५१ फागुन ८ गते इन्स्योरेन्स क्षेत्रमा जागिर शुरु गरेको हुँ । त्यति बेला मार्केटिङबाटै बीमा क्षेत्रमा काम गर्न शुरू गरेको थिँए, त्यस बेला एक/दुई वर्षको जागिर होला भन्ने सोचाइ थियो । तर, गर्दै जाँदा मैले नेपाल इन्स्योरेन्समा नै ९ वर्ष काम गरेँ।’

२०६२ साउनदेखि लुम्बिनी जनरल इन्स्योरेन्सको स्थापनासँगै निजी क्षेत्रको बीमा कम्पनीमा काम गरेका खत्रीको निर्जीवन बीमा कम्पनीको यात्रा अझै सकिएको छैन । हाल उनी अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत रहेका छन् । उनै खत्रीसँग आर्थिकन्युज डटकमले गरे कुराकानी :

लामो समयको पखाईपछि अजोडलगायतको इन्स्योरेन्स कम्पनीले अनुमति पाएका छन्, बीमा कम्पनी स्थापना गर्न कतिको कठिन भयो ?
अजोड निर्जीवन बीमा कम्पनीमा अनुमति पाउने २०आंै कम्पनी हो । साथै अहिले सबैभन्दा कान्छो कम्पनी पनि हो । सरकारले लाइसेन्स दिने भन्ने कुरालाई आधार मानेर २०६३ सालदेखि नै कम्पनीमा दर्ता गरेर थापाथलीमा कार्यालय खोलिएको थियो, दुर्भाग्यबस लाइसेन्स पाउन सकिएन । त्यतिबेला लाइसेन्स पाउन नसकेपछि त्यहाँ कार्यरत कर्मचारीलाई अवकाश दिएर कम्पनी बन्द गरिएको थियो ।

उक्त समयमा लाइसेन्स प्राप्त गर्न नसकेका १० वटा जीवन बीमा कम्पनीले अहिले लाइसेन्स प्राप्त गरेका छन् । साथै ५ वटा निर्जीवन बीमा कम्पनीमध्ये २ वटाको दर्ता खारेज भयो भने ३ वटाले लाइसेन्स प्राप्त गरेका छन् । तीमध्येको अजोड इन्स्योरेन्सले पनि हो ।

बजारमा बीमा कम्पनीका संख्या बढेको छ, कसरी व्यापार विस्तार गर्ने योजना बनाउनु भएको छ ?
गत वर्षको तुलनामा १७/१८ प्रतिशतले यस वर्ष बीमा कम्पनीको आय वृद्धि भएको छ , त्योभन्दा अगाडि ३० प्रतिशत थियो । तर, सामान्य २० देखि २५ को वृद्धि हुनुपर्छ भन्ने मान्यता छ ।

बीमा क्षेत्रको व्यापार विस्तार कम्पनीले गरेर मात्र पनि पुग्दै यसकोे सम्बन्ध राजनीतिसँंग पनि जोडिएको छ । देशमा राजनीतिक स्थायित्व भएन भने आर्थिक गतिविधि हुँदैन आर्थिक गतिविधि नहुँदा बीमाको व्यापार पनि वृद्धि हुँदैन । राजनीति र व्यापार एक अर्काकाका परिपूरक भएकाले आर्थिक गतिविधि बढ्नलाई राजनीतिक स्थायित्व चाहियो स्थायित्व हुँदा मार्केट बढ्छ भन्ने विश्वास हामीले लिएका छौं ।

नेपालजस्तो देशमा बीमाको व्यापार धेरै छ भनिन्छ । तर, व्यापार भइरहेको छैन कारण के होला ?
देशको बीमा व्यापार परम्परा रुपमा चलेको त छँदैछ । अब हामीले त्यसलाई प्रविधिमा आधारित भएर व्यापार गर्नेतर्फ सबै लागेका छौं । तर, त्यसमा पनि प्रोडक्ट र क्वालिटी सर्भिसका लागि हामी काम गरिराखेका छांै । हाम्रो कम्पनीको सफ्टवेयर प्रविधिमैत्री बीमालाई आधार बनाएर निर्माण भइराखेको छ ।

पुरानो प्रोडक्टलाई पनि अहिले आधुनिकीकरण गर्दै परिवर्तन गरी कसरी छिटो छरितो सेवा दिन सकिन्छ भन्नेमा हामी लागिरहेका छौं । अझ कसरी ग्राहकलाई सुरक्षित गर्न सकिन्छ, त्यसरी जाँदैछौ । यसले गर्दा अहिलेको मार्केट पूर्वाधारको विकाससँगै बढ्ने भयो, दोस्रो सरकारले पनि स्वास्थ्य बीमालाई अलि बढी महत्व दिएको छ ।

जीवन बीमामा २० हजार कर छुट थियो यसलाई बढाएर २५ हजार र स्वास्थ्य बीमा गर्ने प्रत्येक कर्मचारीलाई कर छुट छ । त्यसले गर्दा इन्स्योरेन्सको व्यापार अलिकति बढ्ने स्थिति छ । हामीले नेपालभरीका अस्पतालहरुसँग सम्झौता गर्दै जान्छाैं । तेस्रो पक्ष बीमा भुक्तानीतिर जाने तयारीमा छौं ।

तेस्रो व्यक्तिको उपचारमा पनि ‘क्यासलेस’ प्रविधिको विकास गर्दै छौं । मोटर बीमामा सरकारले समितिहरु विघटन गरेको स्थिति भएकाले ‘लाइबेलिटिज’ बढाउने कुरा आएको छ । तर, लाइबेलिटिज बढेपछि त्यही रेसियोमा नबढ्ला तर प्रिमियम अलिकति भए पनि बढ्छ त्यसैले पनि मार्केट बढाउँछ भन्ने हाम्रो अनुमान छ । अर्को रह्यो कृषि तथा पशु बीमा यसको पनि मार्केट राम्रो हुनसक्छ ।

सरकारले प्रिमियममा अनुदान होइन ऋणमा अनुदान दियो भने बिमित र बिमक दुवैलाई राम्रो हुन्छ । हाम्रो त्यतातिर प्रयास रहन्छ । अहिले जस्तो मोटर बीमालाई बीमा गर्नैपर्ने नियम छ त्यसरी नै भोलि सम्बन्धित निकाय गाउँपालिका, नगरपालिकामा नक्सा दर्ता गर्दा नै बीमाको दायरामा ल्याइयो भने बीमाको बजार बढ्छ ।

माइक्रो इन्स्योरेन्सको पनि कन्सेप्ट आएको छ, यो योजनाले नेपालको बीमा क्षेत्रले कसरी फाइदा लिन सक्छ ?नेपालको बजारको मागअनुसार लघुबीमा योजना राम्रो छ । अहिले २÷२ वर्षमा निर्जीवन बीमा कम्पनीको रोटेसन हुन्छ, कम्पनीहरुले कुन कम्पनी पोलिसी इस्यु गर्ने भन्ने हुन्छ । अहिले शिखर इन्स्योरेन्सले गर्न लागेको छ । यो इन्स्योरेन्स पुलको अवधारणमा गएको छ ।

पुलमा जाँदा सजिलो हुन्छ भनेर एउटै कम्पनीले गर्छ । त्यसभित्र नै सम्पूर्ण कम्पनीलाई सेयरिङ हुन्छ, त्यसमा आम्दानी र खर्च पनि हुन्छ । जुन कम्पनीले पोलिसी इस्यु गर्छ र त्यसलाई ५ प्रतिशत अलगै दिइएको हुन्छ । माइक्रोमा इन्स्योरेन्सको खर्च अलि फरक हुन्छ । गाउँ–गाउँसम्म जानुपर्ने सानो प्रिमियमको लागि हिड्नुपर्ने भएकाले यो हाम्रो लागि महँगो छ । लघुबीमाको एजेन्ट बन्नको लागि बाहिरी व्यक्ति नपाउने संस्थागत नै बन्नपर्ने भन्ने प्रावधान पनि छ ।

बीमा कम्पनीको संख्या बढ्दै गर्दा प्रिमियमको साइज बढेको देखिँदैन । अहिले स्वास्थ्य बीमामा ग्राहक तानातान छैन आजीवनमा अलि बढी छ, किन ?
अहिले पनि जीवन बीमा र स्वास्थ्य बीमा दुवैमा तानातान नै छ । अहिलेको समयमा धेरै कम्पनीहरुको अस्पतालसंँग सम्झौता भएको भने समाचार आइराखेको छ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम दिगो होइन, उसले त बाटो मात्र देखाउने हो । सरकारले स्वास्थ्य बीमा गरेर सम्भव पनि छैन ।

अहिले भइरहेको प्रतिस्पर्धालाई स्वस्थ बनाउन तथा भाृलिका दिनमा समस्या उत्पन्न नहोस् भनेर कम्पनीहरुले आचारसंहिता बनाउन सकिन्छ कि सकिदैन ?
आचारसंहिता बनाउन सकिन्छ नसकिने होइन, बढी अनैतिक हुने भनेको स्वास्थ्य क्षेत्रमा हो । यसलाई पनि हामीले एउटा नियम कानुमको दायरामा ल्याउन खोजेका छौं । निर्देशिका तयार गरेर काम गर्ने कुरा उठिसकेको छ । अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा हामीलाई नै घाटा लाग्ने हुँदा त्यसतर्फ सबै सचेत हुनुपर्छ ।

नेपालमा पुनर्बीमा कम्पनी खुलेपछि पुनर्बीमाको समस्या कति समाधान भएको छ । अहिले नेपालका केही क्षेत्रको पुनर्बीमाले बढी प्रिमियम तिर्नुपर्ने बनाएको छ, यसले बीमा कम्पनीलाई कस्तो असर पर्छ ?
नेपाल र विदेशको पुनर्बीमा आ–आफ्नो दक्षता अनुसार लिने हो । त्यसकारण अहिले सरकारले २० प्रतिशतले लिनुपर्ने भनेको छ उक्त रकम पनि लिन सक्ने अवस्था सरकारको छैन । नेपालको पुनर्बीमा कम्पनीले नेपाली कम्पनीबाट पाउनुपर्ने सहयोग पाएको छ । तर, पहिले जति विदेशमा गएको थियो अहिले कम भएको छ ।

विदेशी पुनर्बीमा कम्पनीले प्रिमियम बढाए भने कुन–कुनमा बढाउछन् ?
प्रिमियम बढाउँदा उहाँहरुले बढाउने होइन, प्रिमियम हामीले लिने हो हामीले गर्ने हो । कुनै पनि व्यवसायमा धेरै घाटामा गयो भने उनीहरुले पुनर्बीमाको नियमअनुसार उनीहरुले दिने कमिसन घट्ने कुरा आउँछ तर प्रिमियम घट्दैन ।

इन्स्योरेन्स गर्नु राम्रो हो । गर्नैपर्छ भनेर सरकारले पनि भनेको छ । तर, बीमाको दायरा बढेको छैन बीमाको दायरा बढाउने योजना के छ ?
यो काम एउटा/दुईवटा कम्पनीले गरेर हँुदैन यसमा धेरै कम्पनीहरु मिलेर जानुपर्छ, सरकारी स्तरबाट नै त्यसको पहल हुनुपर्छ । जनतासमक्ष सामूहिक पहल गरी निरन्तर लागेको अवस्थामा सम्भव छ ।

अहिले बीमा क्षेत्रको संख्या बढ्दै जाँदा उनीहरुको प्रिमियमको आकार पनि बढिरहेको छ । ठूलो मात्रको बीमा क्षेत्रको रकम बैंकमा गएर निक्षेपको रुपमा बसेको छ । यसको सदुपयोग अब कसरी गर्दैछन् बीमा कम्पनीहरु ?
बीमा समितिको पनि चासो के हो भने कम्पनीको सम्पत्ति नडुबोस् नबिग्रियोस भनेर नै लगानी सम्बन्धी निर्देशिका ल्याएको छ । त्यसमा यति प्रतिशत सरकारी बन्डमा लगाउनुपर्ने, यति प्रतिशत वाणिज्य बैंकमा राख्नुपर्ने र यति प्रतिशत शेयरमा लगाउनुपर्ने भन्ने छ ।

त्यसले गर्दा यो एक किसिमले ठिकै छ । तर, अब जुन हिसाबको शेयर क्यापिटल भयो जुन हिसाबको कम्पनीहरुसँंग फन्ड हुन्छ त्यसलाई लामो समय लाग्ने उद्योगहरु जस्तै हाइड्रोपावर, पूर्वाधारमा पनि लगानी गर्ने केही बाटो खेल्दिनुपर्छ भन्ने मेरो धारणा छ ।

इन्स्योरेन्स क्षेत्रमा कर्मचारीको अभाव छ, यहाँहरुले कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
हामीले खोजेजस्तो जनशक्ति पाइँदैन, हामीले केही सिकेको, जानेको मान्छे खोज्छौं । जनशक्ति अभाव हसन नदिन बीमा समिति र कम्पनीहरु इन्स्टिच्युट खोलेका छन् । त्यहाँबाट अहिले तत्काल कर्मचारी र अभिकर्तालाई तालिम दिने काम हुँदै आएको छ । धेरै ठूलो समस्या त होइन तर दक्ष जनशक्ति भने माग छ ।

असारदेखि मात्रै शुरु भएको कम्पनीले करिब ३ करोड नाफा गरेको देखिन्छ, त्यो कसरी सम्भव भयो ?
नाफा त ब्याज आम्दानीबाट नै भएकोे हो । गत वर्ष हाम्रो कस्ट पनि अलिकति कमै तिरेका छौं र खर्च पनि कम नै भएको छ । धेरै खर्च नगरौ कम्पनी अलि अगाडि बढ्न दिउँ भनेर कर्मचारी पनि कम नै राख्यौ र अप्रेसनमा आएपछि मात्र खर्च बढायांै त्यसले गर्दा पनि हो ।

व्यवसायबाट आम्दानी भयो भन्न त मिलेन । अझै हामी पूर्णरुपमा अप्रेसनमा जान सकेका छैनौं । यद्यपि, कोसिस चाहीँ छ । कात्तिकसम्म २७ वटा शाखा सञ्चालनमा ल्याउने तयारीमा छौं ।

थप केही कुरा बाँकी छ कि ?
हामी प्रविधिमैत्रीमा जान्छौं, हामी प्रविधिमा बढी आधारित हुने भएकाले प्रविधिको प्रयोगबाट सेवा प्रवाह हुन्छ । हामीले प्रविधिमा नै जोड दिइरहेका छौं ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया