दलीय भर्ती केन्द्र बने विश्वविद्यालय, शिक्षाको गुणस्तर सुधार्न जिम्मेवारी पाएका व्यक्ति नै पदीय झगडामा


आर्थिकन्यूज

काठमाडौं, भदौ १८ । कांग्रेस कोटामा त्रिविको उपकुलपति बने खनियाँ उपकुलपति रहँदै चितवनबाट पार्टीको उम्मेदवार सिफारिस ।  रेक्टर त्रिपाठी तत्कालीन माओवादी र रजिस्ट्रार उप्रेती एमालेको कोटाबाट नियुक्त ।

तत्कालीन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले उपकुलपतिमा कांग्रेसकै कार्यकर्ता प्रा.डा. तीर्थ खनियाँलाई नियुक्त गरे । सरकारको यो कदममा तत्कालीन माओवादी र एमालेले पनि समर्थन गरे । किनकि, उनीहरूले पनि रजिस्ट्रार र रेक्टर पाए ।

स्पष्ट भागबन्डा गरेर माओवादीले रेक्टरमा प्रा।डा। सुधा त्रिपाठी र एमालेले रजिस्ट्रारमा डिल्लीप्रसाद उप्रेतीलाई पठायो । थेसिस लेख्दा अरूको बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेका खनियाँको विरोध भए पनि उनको पदलाई कसैले दख्खल पुराउन सकेन ।

०७० को निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका कोइरालाको प्रचारमा खनियाँ हिँडेका थिए । गत संसदीय निर्वाचनमा त उनी उम्मेदवार बन्ने सम्भावना पनि थियो । चितवन–१ बाट उम्मेदवार बन्ने सम्भावित राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलियासँगै तीर्थ खनियाँको नाम पनि सिफारिस भएको थियो । यसरी पार्टीको च्यानलबाट उम्मेदवारको नाम सिफारिस आउँदा पनि उनी त्रिभुवन विश्वविद्यालयजस्तो देशकै सबैभन्दा ठूलो प्राज्ञिक निकायको उपकुलपति नै थिए ।

तीन दलको भागबन्डामा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारीमा पुगेका तीनजनाले अन्य धेरै विषयमा विवाद गरे पनि घट्टेकुलोमा सञ्चालन गर्ने भनिएको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन भने एकमत भएका थिए ।

कक्षाकोठा, उपकरण, प्राध्यापक, अस्पताल, डाक्टर, नर्स, फार्मेसी केही पनि नभएको भवनलाई मेडिकल कलेजको सम्बन्धन दिने उनीहरूलाई पदबाट तत्काल बर्खास्त गर्न र भविष्यमा सार्वजनिक पदमा नियुक्त नदिन गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले सिफारिस गरेको छ ।

पछिल्लोपटक २७ दिन अनशन बसेका डा। गोविन्द केसीसँगको सम्झौतामा उनीहरूलाई कारबाही गर्ने विषय उल्लेख छ । तर, एक महिनाभन्दा बढी हुँदा पनि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छैन ।

डिन, डाइरेक्टर र क्याम्पस प्रमुखमा समेत भागबन्डा
– अनुसन्धान केन्द्र– कांग्रेस, एमाले,
– माओवादी र मधेसीलाई एक–एक
– विभागीय प्रमुख– कांग्रेस चार, एमाले
– दुई र माओवादी दुई
– क्याम्पस प्रमुख– ६० क्याम्पसमध्ये कांग्रेस २३, एमाले २१ र माओवादी १६
नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया