यस्तो छ निर्जीवन बीमा कम्पनीहरुको स्थिति


शान्ति श्रेष्ठ

काठमाडौं, भदौ १६ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २२ वटा बीमा कम्पनी सूचीकृत भएका छन् । जसमा जीवन बीमा कम्पनी ७ वटा र निर्जीवन बीमा कम्पनी १५ वटा गरी २२ वटा कम्पनी रहेको छन् ।

बीमा समितिबाट स्वीकृत पाएका हाल २० वटा निर्जीवन कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये १५ वटा मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन् भने बाँकी सूचीकृत हुने क्रममा रहेको छ । जसमा १७ वटा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

चुक्ता पुँजी तथा खुद नाफा    
गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन हेर्दा १७ वटा निर्जीवन बीमा कम्पनीमध्ये १ अर्बभन्दा माथि चुक्ता पुँजी ३ वटा कम्पनीको मात्रै देखिएको छ । तीमध्ये पनि सबैभन्दा बढी चुक्ता पुँजी नेको इन्स्योरेन्स कम्पनीको रहेको छ । जसको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

दोस्रो स्थानमा रहेको शिखर इन्योरेन्स कम्पनीको १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ र तेस्रो स्थानमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १ अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी भने एभरेष्ट इन्स्योरेन्सको १३ करोड ३६ लाख रुपैयाँ मात्रै रहेको छ ।

गत आर्थिक वर्षमा नाफा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको रहेको छ । यस कम्पनीले ५५ करोड ९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको तुलनामा पनि सोही कम्पनीले सबैभन्दा बढी १३२ दशमलव ५ प्रतिशत नाफा बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नाफा २३ करोड ७० लाख रुपैयाँ रहेको थियो । सबैभन्दा कम मुनाफा अजोड इन्स्योरेन्सको रहेको छ । जसले २ करोड रुपैयाँ मात्र कमाएको छ ।

गत वर्षको तुलनामा खुद मुनाफा सय प्रतिशतभन्दा बढीले बढाउने २ वटा कम्पनीमा राष्ट्रिय बीमा र आइएमई जनरल इन्स्योरेन्स रहेको छन् । जसले क्रमशः १३२ दशमलव ५ प्रतिशत र १०२ दशमलव ७ प्रतिशतले वृद्धि गरेका छन् । गत वर्षको तुलनामा १३ वटा कम्पनीले नाफा बढाएको छ भने २ वटा कम्पनीले नाफा घटाएको छ । बाँकी २ वटा कम्पनीले भने अघिल्लो वर्ष नाफा प्रकाशित गरेको थिएनन् ।

जगेडाकोष र बीमा कोष
निर्जीवन बीमा कम्पनीमा जगेडाकोष तथा बीमा कोषमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीकै रहेको छ । जसले जगेडा कोषमा २ अर्ब ७ करोड ६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ छुट्टाएको छ । त्यस्तै जगेडा कोष तथा बीमा कोषमा सबैभन्दा कम ९० लाख रुपैयाँ र १ करोड रुपैयाँ रहेको छ ।

आम्दानी, खुद प्रिमियम, कुल प्रिमियम
गत आर्थिक वर्षमा १७ वटा निर्जीवन बीमा कम्पनीले कुल ६ अर्ब ८ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेका छन् भने खुद प्रिमियम ९ अर्ब ६६ करोड २२ लाख रुपैयाँ र कुल प्रिमियम २० अर्ब ३५ करोड ९४ लाख रुपैयाँ संकलन गरेका छन् ।

१७ वटा कम्पनीमा सबैभन्दा बढी आम्दानी राष्ट्रिय बीमाले ८१ करोड २३ लाख रुपैयाँ गरेको छ । सबैभन्दा कम आम्दानी गर्ने अजोड ३ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।

खुद प्रिमियम र कुल प्रिमियममा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले संकलन गरेको छ । जसको खुद प्रिमियम १ अर्ब ७७ करोड ३५ लाख रुपैयाँ र कुल प्रिमियम ३ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै सबैभन्दा कम खुद प्रिमियम र कुल प्रिमियम अजोड इन्स्योरेन्स कम्पनीको रहेको छ । यस कम्पनीले खुद प्रिमियम १ लाख रुपैयाँ र कुल प्रिमियम २४ लाख रुपैयाँ संकलन गरेको छ ।

खर्च, खुद दाबी भुक्तानी र कुल दाबी भुक्तानी
निर्जीवन बीमा कम्पनीमा कुल खर्च २ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ, खुद दाबी भुक्तानी ४ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ र कुल दाबी भक्तानी १२ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ रहेको छ । १७ वटा कम्पनीमा सबैभन्दा बढी खर्च र कुल दाबी भुक्तानी शिखर इन्स्योरेन्सको रहेको छ । जसको खर्च २८ करोड ९१ लाख रुपैयाँ र खुद दाबी भुक्तानी ९६ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

कुल दाबी भुक्तानीमा सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै सबैभन्दा कम खर्च अजोड इन्स्योरेन्सको १ करोड १५ लाख रुपैयाँ रहेको छ भने खुद दाबी भुक्तानी र कुल दाबी भुक्तानीतर्फ जनरल इन्स्योरेन्सको ११ हजार रुपैयाँ रहेको छ ।

जारी बीमा लेख संख्या र कुल दाबी भुक्तानी संख्या
निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी जारी बीमालेख संख्या र कुल दाबी भुक्तानी संख्या भएको कम्पनी शिखर इन्स्योरेन्सको रहेको छ । जसको जारी बीमालेख संख्या २ लाख ९३ हजार ८ सय ७५ वटा र कुल दाबी भुक्तानी संख्या ९ हजार १ सय ५२ वटा रहेको छ ।

त्यस्तै सबैभन्दा कम जारी बीमालेख संख्या अजोड इन्स्योरेन्सको ३३ हजार वटा र कुल दाबी भुक्तानी संख्यामा जनरल इन्स्योरेन्सको १ हजार वटा रहेको छ ।

प्रतिशेयर आम्दानी तथा बजार मूल्य
कुनै कम्पनीले निश्चित समय अवधिमा प्रतिकित्ता कति कमाउन सफल भयो भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउँंछ । सबैभन्दा बढी प्रतिशेयर आम्दानी राष्ट्रिय बीमा कम्पनीको सय ६ दशमलव ६४ दशमलव ६४ रुपैयाँ रहेको छ, त्यस्तै सबैभन्दा कम अजोड इन्स्योरेन्सको २ दशमलव ८७ रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएका निर्जीवन बीमा कम्पनीमा भदौ १४ गतेको दिन बजार मूल्य सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको नै रहेको छ । जसको शेयर मूल्य १० हजार ५ सय रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा कम हिमालयन जनरल इन्स्यारेन्सको ४ सय ११ रुपैयाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया