९ लाख पर्यटकबाट ५८ अर्ब आम्दानी, पर्यटकीय गतिविधिसँगै फस्टाउँदै पर्यटन उद्योग


आर्थिकन्यूज

काठमाडौं, साउन २६ । नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३–७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ ।

आर्थिक वर्ष  ०७४–७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । ०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ । ५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँबराबरको आर्थिक गतिविधि भएको विश्लेषण छ ।

२०१८ लागेपछि ५ लाख २० हजार १४ विदेशी पर्यटक नेपाल भ्रमणमा आइसकेका छ । जनवरीदेखि मार्चसम्म २ लाख ८७ हजार ३ सय ८० पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । जबकि २०१७ को यही अवधिमा २ लाख ५२ हजार ९ सय ८४ जना नेपाल घुम्न आएका थिए । त्यसैगरी, अप्रिल २०१७ मा ८८ हजार ५ सय ९१ जना विदेशी पर्यटक नेपाल आएकोमा अप्रिल २०१८ मा ९८ हजार ६ सय ५० जना भित्रिएका थिए ।

मेमा पनि अघिल्लो वर्षभन्दा बढी भित्रिएका छन् । मे २०१७ मा ६२ हजार ७ सय ७३ पर्यटक आएकामा मे २०१८ मा बढेर ६८ हजार ८ सय २५ जना पुगेका छन् । र जुन महिनाको तथ्यांकमा पनि २०१७ मा ५५ हजार ९ सय ५६ जना आएकोमा २०१८ मा ६५ हजार १ सय ५९ आएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष हरेक महिना नेपाल आउने विदेशी पर्यटकको संख्या बढी छ ।

आन्तरिक पर्यटनको माहोल पनि निकै बढेको छ । नेपालीलाई घुम्न प्रेरित गर्न ०७३ लाई नेपाल पर्यटन बोर्डले घुमफिर वर्षका रूपमा मनाएको थियो । नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीका अनुसार विभिन्न सेवाप्रदायक तथा सञ्चारमाध्यमा आएको तथ्यांक विश्लेषण गर्दा ०७३ मा करिब ४० लाख नेपाली घुम्न निस्केका थिए ।

‘नेपाली घुम्न निस्कँदा रेकर्ड राख्ने व्यवस्था नभएका कारण यकिन तथ्यांक भन्न सकिन्न, तर सेवाप्रदायकहरूको छलफलअनुसार ४० लाख नेपाली घुम्न निस्केका थिए,’ सिइओ जोशीले भने, ‘गत वर्षभन्दा ०७४ मा घुम्नेको संख्या बढेकाले आन्तरिक पर्यटक करिब ५० लाख पुगेको अनुमान छ ।

’कर्णाली प्रदेश सरकारले आयोजना गरेको एक कार्यक्रममा क्षेत्रीय विकासविज्ञ योगेन्द्र शाहीले प्रस्तुत गरेको तथ्यांकअनुसार दुई वर्षपहिला करिब २० हजार नेपाली रारा घुम्न पुगेका थिए । गत वर्ष यो संख्या बढेर ६० हजार पुगेको थियो ।

नेपालीले मात्रै करिब २५ अर्ब खर्चिन्छन्
नेपालीले खानपिनमा बढी खर्च गर्ने गरेको देखिएको छ । सेवाप्रदायक होटेल व्यवसायीका अनुसार विदेशी पर्यटक घुमफिर गर्ने, सूचना लिने गतिविधिमा बढी खर्चिन्छन् भने नेपालीहरू खानपिनमा खर्चिन्छन् ।

त्यसरी हेर्दा ५० लाख नेपाली घुम्न निस्कँदा औसतमा एकजनाले पाँच हजार रुपैयाँ खर्चिंदा पनि वर्षमा करिब २५ अर्ब रुपैयाँ खर्च हुन्छ । अहिले नेपालीहरू सर्ट हाइकिङका पनि सोखिन बनेका छन् । लामो दूरीको पदयात्राभन्दा पनि होमस्टेमा जाने, चितवन, पोखरा, लुम्बिनी, काठमाडौं उपत्यकाआसपासका हाइकिङ क्षेत्रमा बढी घुम्न निस्कन्छन् । नयाँ पत्रिका दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया