राष्ट्रिय कीर्तिमान बनाउने पौडी खेलाडीलाई १० हजार पुरस्कार


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । नेपाल पौडी संघले आसन्न एशियाली खेलकुदमा सहभागी आफ्ना खेलाडीले कुनैपनि स्पर्धामा राष्ट्रिय कीर्तिमान सुधार गरे १० हजार प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले प्रतियोगितामा सहभागी ४ खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएमा प्रोत्साहनस्वरुप नगद पुरस्कार दिइने जानकारी दिए ।

एशियाली खेलकुदमा दुई महिला र दुई पुरुष गरी चार नेपाली खेलाडीले १० स्पर्धामा सहभागिता जनाउँदैछन् ।
पुरुषतर्फ सुगम श्रेष्ठले ५० मिटर र १०० मिटर ब्रेष्टस्ट्रोक, शिरिस गुरुङले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ दक्षिण एशियाली खेलकुदकी पदक विजेता गौरिका सिंहले ५० मिटर, १०० मिटर र २०० मिटर फ्रिस्टाइल तथा टिशा शाक्यले ५० मिटर र १०० मिटर फ्रिस्टाइल तथा ५० मिटर ब्रेष्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् ।

नेपाली टोली अहिले थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ । पुरुष खेलाडी सुगम श्रेष्ठ २ सातादेखि र शिरिस गुरुङ एक सातादेखि थाइल्याण्डमा प्रशिक्षणरत छन् । त्यस्तै टिशा शाक्य पनि एक महिनाको प्रशिक्षणपछि दुई दिन नेपाल फर्केर पुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

बेलायतमा प्रशिक्षण गर्दै आएकी गौरिका र टिशालाई शुक्रबार नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले बिदाई गरे । उनीहरुसँगै प्रशिक्षक वाङदेन लामा पनि छन् । उनीहरु थाइल्याण्ड गएका हुन् । थाइल्याण्डमा पाँच दिनको प्रशिक्षणपछि नेपाली टोली इण्डोनेशिया प्रस्थान गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया