साताभर नेप्सेमा ९ अंकको गिरावट, कारोबार रकममा प्रोग्रेसिभ फाइनान्स अग्रस्थानमा


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) यस साता पहिलो दिनको तुलनामा ९ दशमलव २५ अंकले घटेर १ हजार १ सय ८० दशमलव ६३ अंकमा झरेको छ ।

कुल १८१ कम्पनीको १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार ८ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताभन्दा १४ दशमलव ६८ प्रतिशतले कम हो । गत साता १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको ४० लाख ८४ हजार ५ सय २० कित्ता शेयर किनबेच भएको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ८४ अंकले घटेर २ सय ४९ दशमलव १३ अंकमा पुगेको छ । कारोबारमा भएका १८१ कम्पनीमध्ये सबैभन्दा बढी प्रोगेसिभ फाइनान्स कम्पनीको संस्थापक शेयर कारोबार भएको छ । जसको ५ करोड ९० लाख ४० हजार रुपैयाँको शेयर किनबेच भएको हो ।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड १८ लाख ३० हजार रुपैयाँ, फस्ट माइक्रोफाइनान्स कम्पनीको ३ करोड ६ लाख रुपैयाँ, छिमेक लघुवित्त संस्थाको ३ करोड २ लाख १० लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको २ करोड ४६ लाख २० हजार रुपैयाँ शेयर कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याको आधारमा पनि प्रोगेसिभ फाइनान्स कम्पनीको संस्थापक शेयर नै अगाडि रहेको छ । जसको ५ लाख ८५ हजार कित्ता शेयर किनबेच भएको हो । कारोबार संख्यामा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ, जसको संख्या ८ सय ७७ वटा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार पाँच दिन नै खुल्ला रहयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया