५५ अर्बको वैदेशिक लगानी भित्रियो, सबैभन्दा बढी लगानी गर्ने चीन


आर्थिकन्यूज

काठमाडौं, साउन २५ । गत आर्थिक वर्षमा नेपालको औद्योगिक क्षेत्रमा ५५ अर्ब रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । उद्योग विभागको तथ्यांकअनुसार सबैभन्दा बढी लगानी गर्ने मुलुक चीन रहेको छ ।

चिनियाँ लगानीमा १६० वटा उद्योग दर्ता भएको छन् । जसको कुल लगानी ४६ अर्ब ५० करोड ६ लाख रुपैयाँ रहेको छ । चीनले गत वर्ष अघिल्लो आर्थिक वर्षमा भन्दा ४० अर्बभन्दा बढी रकम नेपालमा लगानी गरेको तथ्यांक छ । चीनले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ३२ करोड ६ लाख लगानी गरेको थियो ।

यस्तै नेपालमा दोस्रो ठूलो लगानी भारतबाट भित्रिएको छ । भारतबाट ५३ वटा उद्योगमार्फत ५ अर्ब ९८ करोड लगानी भएको छ । लगानीको तेस्रो स्थानमा अमेरिका छ, अमेरिकाबाट ३५ वटा उद्योगमार्फत १ अर्ब ८८ करोड रुपैयाँ लगानी भएको तथ्यांक छ ।

उद्योग विभागका निर्देशक प्रशान्त बोहराका अनुसार राजनीतिक स्थिरिता, ऊर्जा, सडक्लगायतका पूर्वाधार विकास हुँदै गएकाले नेपालमा औद्योगिक वातावरण बन्दै गएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म नेपालमा जापान, दक्षिण कोरिया, फ्रान्स लगायत ४५ देशका लगानीकर्ताले उद्योग सञ्चालनको लागि स्वीकृति लिएको विभागले जनाएको छ । हाल वैदेशिक लगानीकर्ताको आकर्षक उर्जा क्षेत्र रहेको छ भने सेवा क्षेत्रमा खुम्चिएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा ऊर्जा क्षेत्रमा वैदेशिक लगानीका माध्यमबाट ३६ अर्ब २५ करोड लगानीका निम्ति प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा अघिल्लो वर्ष ४ अर्ब ९९ करोड ८ लाख रुपियाँ लगानीको उद्योग दर्ता भएकोमा गत वर्ष खुम्चिएर २ अर्ब १७ करोड ३ लाख रुपियाँमात्रैका उद्योग दर्ता भएका छन् । दर्ता भएका वैदेशिक लगानीका उद्योगमा १३ हजार ८ सय ९९ जनाले रोजगारी पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया