कर्मचारीको सुविधा बढ्यो, अब १० हजार पोशाक भत्ता, २ लाखको बीमा


आर्थिकन्यूज
फाइल फोटो

काठमाडौं, साउन २४ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरी कर्मचारीको महँगी भत्ता, पोशाक र सावधिक जीवन बीमाको बिमाङ्क रकम बढाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले निजामति कर्मचारीका लागि एक हजार महँगी भत्तालाई बढाएर दुई हजार रुपैयाँ पुर्याएको हो ।

त्यस्तै पोशाक सुविधा प्राप्त गरिरहेका पदाधिकारी तथा कर्मचारीका लागि साढे सात हजार रहेको पोशाक भत्तालाई बढाएर १० हजार पु¥याएको छ । त्यस्तै सरकारले निजामति कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षकलगायतका कर्मचारीलाई हाल उपलब्ध गराउँदै आएको एक लाख बिमाङ रकमलाई वृद्धि गरी दुई लाख पुर्याएको अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन ।

सो बीमाको लागि प्रत्येक कर्मचारीका लागि सरकारले चार सय रुपैयाँ र कर्मचारीले पनि सोही बमोजिमको रकम योगदान गर्नुपर्नेछ ।  सरकारले चालू आवमा महँगी भत्ताको लागि ९ अर्ब १२ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ ।

कर्मचारीको पोशाकका लागि ४ अर्ब १३ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ । बीमाको लागि ४४ करोड २० लाख रुपैयाँ छुट्याएको छ ।

गएको आवमा सरकारले महँगी भत्ता शीर्षकमा ३ अर्ब ११ करोड, पोशाक भत्ताको लागि २ अर्ब १६ करोड, बीमाको लागि २७ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया