जनता बैंकद्वारा इन्टरनेसनल रेमिट्यान्स सेवा सञ्चालन


आर्थिकन्यूज

काठमाडौं, साउन २४ । जनता बैंक नेपालले इन्टरनेसनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘जनता रेमिट’मार्फत स्वदेशमा रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अबदेखि विदेशमा रहेका ग्राहकले समेत जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

बेक्स मनि बहराइन एक्स्प्रेस एक्स्चेन्ज र जनता बैंक नेपालबीच भएको सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीले जनता रेमिटमार्फत जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । खाताबाट कारोबार गर्नको लागि बेक्स मनि बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटीएम कार्ड प्राप्त गरी कारोबार गर्न सक्नेछन् ।

बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम बैंकको १२१ शाखा तथा करिब १६ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बुम रेमिट, जीएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन् । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएईबाट समेत शुरु गरिने बैंकले जनाएको छ ।
जनता बैंकले १२१ शाखा, ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ इकाई, २ एक्सटेन्सन काउन्टर र ७० एटीएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको हाल ५९ अर्ब ३१ करोड निक्षेप र ५४ अर्ब ४४ करोड कर्जा लगानी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया